अदुवा निर्यात भारतमै सीमित, सरकारी पहल नहुँदा तेस्रो मुलुकमा कठिन



काठमाडौं । सरकारले अलैंची, अदुवा, औषधीजन्य जडिबुटीलगायत ९ वस्तुको निर्यातलाई मुख्य प्राथमिकतामा राखेर व्यापार एकीकृत रणनीति अपनाउँदै आएको छ । सरकारले कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधीजन्य जडिबुटीलगायतका वस्तुलाई विशष प्राथमिकतामा राखेर निर्यात गर्दै आएको छ ।

नेपालबाट उत्पादितमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको अलैंची, अदुवा, चिनीलगायत अन्य कृषिजन्य वस्तुको उत्पादनलाई प्राथमिकतामा राखेर निर्यात गर्ने भनिएपनि विभिन्न समस्याले गर्दा अपेक्षाकृत निर्यात हुन सकेको छैन ।

सरकारले विभिन्न चरणमा निर्यातलक्षित कार्यक्रम तथा रणनीति अपनाउँदै आएको छ । तर, रणनीतिलगायत अन्य विभिन्न कार्यक्रम सञ्चालन गरी सम्भावित देशमा निर्यात गर्ने भनिएपनि सफल हुन नसकेको विभिन्न तथ्याङ्कले स्पष्ट पार्दछ ।

त्यस्तै, कृषिजन्य उत्पादनमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तु हो अदुवा । समग्रमा उत्पादनमा प्रचुर सम्भावना रहेको र आत्मनिर्भर भइसकेको अदुवा नेपालले करोडौं रुपैयाँको निर्यात गर्दै आएको छ ।

नेपालले वार्षिक करोडौं रुपैयाँ बराबरको अदुवा निर्यात गर्दै आएपनि तेस्रो मुलुकमा भने पर्याप्त मात्रामा निर्यात हुन सकेको छैन । नेपालबाट निर्यात हुँदै आएको अदुवाको मुख्य बजार भारतमात्रै रहेको सरकारी तथ्याङ्कले देखाउँछ ।

नेपालले वार्षिक ५० करोडभन्दा बढी मूल्य बराबरको अदुवा निर्यात गर्दै आएको छ । त्यसमा करिब ८० प्रतिशतभन्दा बढी भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

नेपालले गत वर्षमात्रै ६४ करोड १४ लाख ५६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ५८ हजार ८९३ केजी अदुवा निर्यात गरेको छ । नेपालबाट ६४ करोड रुपैयाँको अदुवा निर्यात हुँदा ४६ करोड ५३ लाख ६३ हजार रुपैयाँको १ करोड १५ लाख ७४ हजार ८५० केजी अदुवा भारततर्फ निर्यात गरेको छ ।

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघअनुसार नेपालबाट निर्यात हुने अदुवाको मुख्य बजार भारत हो । भारतबाहेक अन्य देशमा निर्यातको प्रचुर सम्भावना हुँदा पनि सरकारी पहल नहुँदा तेस्रो मुलुकमा निर्यात गर्न नसकेको व्यवसायीहरू बताउँछन् ।

त्यस्तै, भारतपछि जर्मनीमा १६ करोड ३५ लाख ११ हजार रुपैयाँको २ लाख ७३ हजरा ७७५ केजी, बंगलादेशमा २२ लाख ३६ हजार रुपैयाँको ७८ हजार केजी, इन्डोनेसियामा २९ लाख ९२ हजार रुपैयाँको १८ हजार ७ सय केजी र कतारमा ७३ लाख ५४ हजार रुपैयाँको १ करोड ३५ लाख ६८ हजार रुपैयाँको अदुवा निर्यात गरेको छ ।

भारतको मागअनुसार निर्यात हुने

नेपालबाट निर्यात हुने अदुवाको मुख्य बजार भारत रहेकाले त्यहाँको बजारअनुसार निर्यात हुने गरेको संघका कार्यसमिति सदस्य धर्मराज अधिकारी बताउँछन् । उनकाअनुसार पछिल्लो समय अदुवाको निर्यात बढ्दो क्रममा छ । तर, भारतबाहेक अन्य देशमा निर्यात गर्न भने सफल हुन सकेको छैन ।

वैदेशिक व्यापारमा नेपालसँग भारतको वैदेशिक व्यापारमा ठूलो हिस्सा छ । त्यसैले पनि भारतको बजार र मागअनुसार नेपालको आयात तथा निर्यात हुने गर्दछ । त्यस्तै, अदुवामा पनि भारतको बजारले निर्यातमा ठूलो प्रभाव पार्ने अधिकारीको भनाइ छ ।

विगतको दिनमा नेपालबाट उच्च अदुवा भारतमा निर्यात हुँदै आएको थियो । तर, पछिल्लो दिनहरूमा भारतको कर्नाटकमा नेपालभन्दा उच्च स्तरको अदुवा उत्पादन हुँदै गएकाले माग कम हुने गरेको संघले जनाएको छ । साथै, भारतमा माग भएमा उच्च निर्यात हुने र माग कम भए निर्यात पनि कम हुने गरेको अधिकारी बताउँछन् ।

नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन अदुवा उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । त्यसमध्ये ५० प्रतिशत निर्यात हुने गर्छ । साथै, ५० प्रतिशत आन्तरिक बजारमा खपत हुने गरेको व्यवसायीहरूको भनाइ छ ।

‘नेपालमा उत्पादन भएको सम्पूर्ण अदुवा नेपालमा खपत हुँदैन । त्यसैले, नेपालमा उत्पादन भएको ५० प्रतिशत निर्यात हुँदै आएको छ,’ उनले भने ।

प्रमाणीकरण नहुँदा तेस्रो मुलुकमा निर्यात कठिन

कुनै पनि वस्तु एक देशबाट अर्को देशमा निर्यात गर्ने हो भने प्रमाणीकरण आवश्यक पर्छ । प्रमाणीकरणकै आधारमा वस्तु निर्यात तथा आयात हुने गर्छ । त्यस्तै, नेपालले अदुवा पनि प्रमाणीकरण कै आधारमा भारततर्फ अदुवा निर्यात गर्दै आएको छ । तर, नेपाली व्यवासायीहरू भारतमा मात्रै नभएर अन्य तेस्रो मुलुकमा निर्यात गर्न सके अझै उत्पादन बढाउन सक्ने अवस्थामा छन् ।

तर, नेपालबाट तेस्रो मुलुकमा अदुवा निर्यात गर्न प्रमाणीकरणको अभाव हुँदा निर्यात गर्न नसकेको व्यवसायीहरूको भनाइ छ ।

‘नेपालकै अदुवा भारतका व्यवसायीहरूले भारतको हो भन्दै अन्य देशमा निर्यात हुँदै आएको छ,’ अधिकारीले क्लिकमाण्डूसँग भने, ‘नेपालबाट अन्य मुलुकमा निर्यात गर्न सक्ने अवस्था हुँदाहुँदै प्रमाणीकरणलगायत अन्य प्रक्रियाले गर्दा निर्यात हुन सकेको छैन ।’

नेपालले भारतले पठाउन सक्ने देशहरूहमा गुणस्तरीय र ग्रेडअनुसार तेस्रो मुलुकमा निर्यात गर्न सक्ने क्षमता छ । तर, प्रमाणीकरणलगायत अन्य प्रक्रियामा कमजोर हुँदा नेपालले भारत, बंगलादेशलगायत अन्य देशको स्टेकहोल्डरको आवश्यक पर्छ ।

‘भारतबाट तेस्रो मुलुकमा अदुवा निर्यात गर्न सिस्टममा छन्, हामीसँग छैन,’ अधिकारीले भने ।

साथै, सरकारले निर्यातमा पर्याप्त पहल नहुँदा पनि तेस्रो मुलुकमा निर्यात हुन कठिन भइरहेको व्यवसायीहरूको भनाइ छ । यदि सरकारले पहल गर्ने र प्रमाणीकरण गर्न सके जापन, कोरिया, खाडी मुलुक, युरोप र अमेरिकामा निर्यात गर्न सक्नेछन् ।

देशको ६५ भन्दा बढी जिल्लामा उत्पादन

नेपालमा देशभर वार्षिक साढे २ लाख मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रअनुसार देशको ६५ वटाभन्दा बढी जिल्लामा अदुवा उत्पादन हुने गरेको छ ।

नेपालमा मुख्यगरी डोटी, कैलाली, सुर्खेत, सल्यान, पाल्पा, स्याङ्जा, नवलपरसासी, इलाम, झापा र सिन्धुपाल्चोकलगायत अन्य विभिन्न जिल्लामा उच्च अदुवा उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

उक्त जिल्लाहरूका २ लाखभन्दा बढी किसानहरू अदुवा उत्पादनमा आबद्ध छन् । जसमा किसानहरूले प्रतिकेजी २५, ३० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।


क्लिकमान्डु