वित्तीय अपराध रोक्न सीआईबीले गर्यो बैंकका सीइओसँग छलफल, भन्यो- संवेदनशील हुनू



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय अपराध रोक्नका लागि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ)सँग छलफल गरेको छ ।

बुधबार सीआईबी प्रमुखसहितको टोलीले पछिल्लो समय बढ्दै गएको वित्तीय अपराध रोक्ने विषयमा बैंकरहरुसँग छलफल गरेको हो ।

‘पछिल्लो समय एटीएम फुटाएर पैसा लिने देखि प्रणालीलाई ह्याक गर्ने नयाँ शैलीका अपराध बढेको हुँदा सीआईबीले यसलाई न्यूनिकरण गर्नका लागि छलफल गरेको हो,’ बैठकमा सहभागी एक वाणिज्य बैंकका सीइओले भने, ‘चिठ्ठा परो फलानो बैंकको फलानो खातामा पैसा पठाउनु भन्दै ह्वाट्एप, भाइबर, म्यासेञ्जर लगायतमा ठगहरुले सन्देश पठाएर सर्वसाधारणलाई ठगिरहेका छन्, यस्ता विषयमा बैंकहरु बढी सचेत र संवेदनशील भइदिनु पर्यो ।’

बैंकहरु संबेदनशील नभइदिँदा यस्ता घटना बढेको सीआइबीका अधिकारीहरुले बताए । उनीहरुले बैंकहरुले राष्ट्र बैंक र सरकारका नीति निर्देशनहरुको हुबहू अनुपालना गर्ने हो भने यस्ता अपराध धेरै हदसम्म रोक्न सकिने भन्दै बैंकरहरुको ध्यानाकर्षणसमेत गराए ।

‘सीआइबीले हामीलाई कम्प्लाइन्सको बारेमा पढाएको छ, हाम्रा केही बैंकर साथीहरुले पूर्णरुपमा कम्प्लाइन्सको पालना नगरिदिँदा यस्तो अवस्था आएको हो,’ छलफलमा सहभागी अर्का एक बैंकरले भने ।

सीआईबीले वर्षमा कम्तीमा एकपटक वाणिज्य बैंकका सीइओसँग वित्तीय अपराध न्यूनिकरणका लागि छलफल गर्ने गरेको छ । बुधबारको छलफल पनि त्यसैको निरन्तरता हो । बुधबार बिहान ९ बजे बैंकर्स संघकै कार्यालयमा छलफलका लागि सीआइबीका अधिकारीहरु आएका थिए ।

पछिल्लो समय मोबाइल तथा डिजिटल बैंकिङको कारोबार बढेसँगै त्यो क्षेत्रको अपराधको संख्यामा समेत बृद्धि हुँदै गएको छ ।

प्रविधिको पहुँच बढ्दै गएको भए पनि डिजिटल बैंकिङ कारोबार तथा त्यसको गोपनियताका बारेमा सर्वसाधारण जानकार नभएको कारण अपराध बढेको छ । सर्वसाधारण डिजिटल प्रणालीबाट ठगिने क्रम समेत बढेको छ ।

प्रहरीका अनुसार हाल मासिकरुपमा औसतमा ७० वटाका दरले वित्तीय अपराधनसम्बन्धी आउने गरेका छन् ।

भाइबर तथा ह्वाट्सएपमा चिट्ठा परेको सूचना आएकै आधारमा सर्वसाधारणले ठगहरुको विश्वासमा पर्दा पैसा गुमाउने गरेका छन्।


क्लिकमान्डु