वाणिज्य बैंकहरुबाट सेयर धितो राखेर ऋण लिने लगानीकर्ताको लागत ५०.४९% ले बढ्यो



काठमाडौं । वाणिज्य बैंकहरुबाट सेयर धितो राखेर ऋण लिने लगानीकर्ताको लागत ५०.४९ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुबाट समग्र ऋण लिनेको लागत एक वर्षमा ३७ प्रतिशतले बढेको थियो । तर, सेयरधितोमा जाने कर्जाको लागत एक वर्षमा ५०.४९ प्रतिशत छ ।

गत आर्थिक वर्षको साउनमा बैंकले सेयर धितोमा दिने कर्जाको ब्याजदर ८.१४ प्रतिशत थियो । त्यस्तो ब्याजदर हरेक महिना बढ्दा असार मसान्तमा १२.२५ प्रतिशत पुगेको छ ।

गत साउनमा सेयर धितो राखेर ऋण लिने लगानीकर्ताले ऋणमा औसत ८.१४ प्रतिशत ब्याज तिरे पुग्थ्यो । अहिले उक्त ब्याजदर बढेर औसतमा १२.२५ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्ष प्रत्येक महिना बढेको ब्याजदर र घटेको ऋणको सीमाका कारण बजार घट्न सहयोग गरेको लगानीकर्ताको भनाइ छ । सो आवमा सेयर बजार ८३७.९३ अंकले घटेको छ ।

गत आवमा बजारमा गिरावट आउनुमा कुनै न कुनै रुपमा ब्याजदर र बैंकबाट जाने ऋणको आकारले पनि असर पारेको सेयर बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको भनाइ छ ।

साउनमा ८.१४ प्रतिशतमा लगानीकर्ताले लिएको ऋणको ब्याजदर हरेक महिना बढ्दा लगानीकर्ताले धेरै ऋण लिन नसकेको र त्यसको असर बजारमा परेको अध्यक्ष पोखरेलको भनाइ छ ।

‘सेयर धितोमा जाने कर्जाको ब्याज घट्दा बैंकले फकाएर, घरमै पुगेर पनि ऋण दिन पछि पर्दैनन्’ अध्यक्ष पोखरेलले भनिन्, ‘ब्याज बढ्दा बैंकले ऋण दिन पनि आनाकानी गर्छन्, मार्जिन कल बारम्बार गर्ने गर्छन्, त्यसले पनि लगानीकर्ता हैरानीमा पर्ने गरेका छन् ।’

ऋणको लागत धमाधम बढेपछि लगानीकर्ता आफूसँग भएको कर्जा बिक्री गर्न बाध्य हुनु परेको उनको तर्क छ । नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमा गरेको ४,१२ को व्यवस्थाका कारण पनि बजारमा असर परेको लगानीकर्ताको भनाइ छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको उक्त व्यवस्थाले पनि कर्जाको सीमा घटेको पोखरेलको भनाइ छ ।

हरेक महिना ब्याज बढेपछि लगानीकर्ताले कर्जा भुक्तानी गर्न नसक्दा लगानीकर्ताको कमाइ पनि घटेको उनको तर्क छ । जसको असर बजारमा पर्दा एक वर्षमा बजार ८३७.९३ अंकले घटेको पोखरेलले बताइन् ।

बजार घट्दा राज्यले पाउने पुँजीगत लाभकर अघिल्लो आवको तुलनामा ४ अर्ब ४ करोडले घटेर १० अर्ब ३५ करोड मात्रै रहेको छ । अघिल्लो आवको सोही अवधिमा राज्यले पुँजीगत लाभकर १४ अर्ब ३९ करोड पाएको थियो ।

कुन महिना कति बढ्यो ब्याजदर ?

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउन महिनामा सेयर धितोमा जाने कर्जाको ब्याजदर ८.१४ प्रतिशत रहेको थियो । त्यस महिनामा २७ वटा वाणिज्य बैंकबाट ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए ।

यस्तै भदौ महिना ब्याजदर बढेर ८.२६ प्रतिशत पुगेको थियो । भदौमा बैंकले लगानीकर्तालाई ८८ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा दिएका छन् ।

असोजमा बैंकको ब्याज बढेर ८.३६ प्रतिशत पुग्यो । त्यस महिना बैंकबाट लगानीकर्ताले ८८ अर्ब २० करोड ६० लाख कर्जा लिएका थिए ।

कात्तिक महिनासम्म मात्रै सेयर धितोमा जाने कर्जाको ब्याजदर ९ प्रतिशत भन्दा तल नै रह्या । त्यसपछि ब्याजदर ९ प्रतिशत भन्दा बढी भयो । कात्तिकमा यस्तो ब्याजदर ८.८३ प्रतिशत रहेको थियो । ब्याजदर बढ्दा घट्दै गएको कर्जाको सीमा कात्तिकमा ८६ अर्ब १५ करोड ९४ लाख रह्यो ।

मंसिरमा सेयर धितोमा जाने कर्ताको ब्याजदर ९.१२ प्रतिशत पुग्यो । मंसिरमा भने बैंकबाट जाने सेयर धितोकर्जा ८४ अर्ब ६१ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

यस्तै पुसमा पनि बैंकहरुले सेयर धितोमा जाने कर्जामा ९.४१ प्रतिशत ब्याज लिए । त्यस महिना ८३ अर्ब ७० करोड ५३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

माघ, फागुन र चैतमा बैंकले सेयर धितोमा लिने कर्जाको ब्याजदर १० देखि ११ प्रतिशतको बीचमा रह्यो । माघमा १०.३३ प्रतिशत, फागुनमा १०.५९ प्रतिशत र चैतमा १०.९० प्रतिशत रहेको थियो । उक्त महिना बैंकले लगानीकर्तालाई क्रमशः ८२ अर्ब ४४ करोड ७४ लाख, फागुनमा ७९ अर्ब ७७ करोड ७६ लाख र चैतमा ७८ अर्ब ४० करोड ९९ लाख रुपैयाँ कर्जा दिएका छन् । कर्जाको सीमा हरेक महिना घट्दो क्रममा रहेको देखिन्छ ।

निरन्तर बढेको बैंकको ब्याजदर वैशाख महिनामा भने ११.९० प्रतिशत रह्यो । वैशाख महिनामा लगानीकर्ताले बैंकबाट सेयर धितोका लागि ७५ अर्ब १६ करोड ८८ लाख रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै जेठ र असारमा बैंकको ब्याजदर १२ प्रतिशत भन्दा बढी नै रह्यो । यी महिना बैंकको ब्याजदर क्रमशः १२.०६ र १२.२५ प्रतिशत रह्यो । जेठमा लगानीकर्ताले बैंकबाट सेयर धितो कर्जाको रुपमा ७१ अर्ब ७१ करोड ३७ लाख र असारमा ६४ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ लिएका थिए ।


क्लिकमान्डु