अब हवाई यात्रा गर्न चाहिने छैन बोर्डिङ पास, एपले नै गर्नेछ यस्तो काम
एजेन्सी । तपाईंले हवाई यात्रा गर्दा अनिवार्य रुपमा बोर्डिङ पास लिनुपर्छ । त्यो यात्राको एउटा पहिचान हो । जहाजको टिकटसँगै बोर्डिङ पास पनि अनिवार्य हुन्छ । विमान कम्पनीले तपाईंलाई एउटा सिट पहिचान सहितको काम गर्ने गरी त्यस्तो पास उपलब्ध गराउँछ । हालसम्म विमानमा सवार हुनेले प्रिन्ट गरिएको बोर्डिङ पास पाउँने गरेका छन् ।
विज्ञान तथा प्रविधिमा आएको विकाससँगै त्यसमा समयअनुसार सुधार भएको छ र यसले थप सरल,सहज भएको छ ।
अब विमानस्थलमा यात्रुको अनुहार नै बोर्डिङ पास बन्ने प्रविधिको विकास भएको छ । प्रविधिको विकास मात्रै होइन, त्यसको सुरुवातसमेत भइसेकेको छ । यसका लागि ‘डिजियात्रा’ नाम दिइएको एप सार्वजनिक भएको छ ।
सो एपको मद्दतबाट यात्रुले बोर्डिङ पास पाउन सक्ने छन् । अनुहार पढेर नै एप मार्फत यात्रुको पहिचान हुने छ । त्यसका लागि फेसियल रिकग्निसन सिस्टमले काम गर्नेछ । हवाई सेवामा यस खालको प्रविधिको विकासले नयाँ युगको शुरुवात भएको चर्चा गरिएको छ । किनकी, एक पछि अर्को गर्दै सरल र सहज प्रबन्ध भएको छ ।
भारतको राजधानी नयाँ दिल्ली र बेंगलुरुमा यस खालको नयाँ प्रविधि कार्यान्वयनमा ल्याइएको छ ।
ती विमानस्थलमा पहिलो चरणमा आन्तरिक यात्रुहरूका लागि यस खालको सेवा उपलब्ध गराइएको छ । मानिसको अनुहार नै पहिचान गरेर बोर्डिङ पास उपलब्ध गराइनेछ । हवाई यात्राको सहजीकरणका लागि भनेर तयार पारिएको डिजियात्रा एपमार्फत् आवश्यक काम हुनेछ ।
प्रविधिको प्रयोगमा छिमेकी देश भारतले गरेको प्रगतिको एउटा हिस्साको रुपमा यसलाई लिइएको छ । यो एप सञ्चालनमा आएसँगै अब यात्रुले विमानस्थल प्रवेशका लागि हुने गरेको झन्झटबाट मुक्ति पाउनेछन् ।
एपको बिटाभर्सन केही समयअघि शुरु भएको छ र चाँडै पूर्ण रुपमा उपलब्ध हुनेछ । त्यसबाट हवाई यात्रा झनै सहज हुने विश्वास लिइएको छ ।
दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडका अनुसार यो एपको सहयोगमा फेसियल रिकग्निसनका आधारमा सबै चेकपोस्टमा यात्रुको प्रवेश हुनेछ । विमानस्थल प्रवेश, सुरक्षा जाँच र बोर्डिङ गेट तीनवटै स्थानमा एपबाटै काम हुनेछ । दिल्ली एयरपोर्टको टर्मिनल थ्रीमा आन्तरिक यात्रुहरूको लागि यस्तो सेवाको सुरुवात गरिएको छ ।
खासगरी एन्ड्रोइड प्रयोगकर्ताले यो सुविधा पाउनेछन् । सोही समयमा नै बेंगलुरु इन्टरनेशनल एयरपोर्टमा पनि यो सेवा शुरु गरिएको छ ।
सो विमानस्थले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि यस एपको बिटा संस्करण विस्तारा र एयर एशिया उडानहरूमा परीक्षण गरिएको छ ।
डिजियात्रा एपको बिटा संस्करण एन्ड्रोइड ओएसका लागि प्लेस्टोरमा उपलब्ध छ । यो एप आगामी केही हप्ताहरूमा एप्पलको आईओएस प्लेटफर्ममा पनि उपलब्ध हुनेछ । हाल डिजियात्रा एप प्रयोग गर्न अनिवार्य नबनाइएपनि प्रयोग गर्न चाहने यात्रुले डाउनलोड गर्न सक्नेछन् ।
तर एपको प्रयोग ऐच्छिक हुने छ । यात्रुहरूले आफ्नो सिट दर्ताका लागि आधार विवरणहरू प्रदान गर्नुपर्नेछ । यसबाहेक, उनीहरूले कोभिड–१९ खोपको बारेमा जानकारी सहितको सेल्फी अपलोड गर्नुपर्नेछ ।
अनुहार पहिचान प्रणाली के हो ?
यो एक बायोमेट्रिक प्रणाली हो जसले व्यक्तिलाई उसको अनुहार, आँखा, मुखको संयोजनबाट पहिचान गराउँछ । यसमा, अनुहारका सबै अंगहरू, विशेष गरी आँखा र अनुहारको पहिचान गर्ने गरिन्छ ।
त्यसपछि अनुहारको थ्रीडी छवि बनाइन्छ र पहिचानको लागि डेटाबेसमा बचत गरिन्छ । यो प्रविधि अमेरिकी वैज्ञानिकहरुको टोलीले आविष्कार गरेका हुन् । सो काममा वुडी ब्लेडसो, हेलेन चान वुल्फ र चार्ल्स बाइसन संलग्न थिए ।
यात्रुले कुनै पनि एयरलाइन्सबाट हवाई यात्राको लागि टिकट बुक गर्ने बित्तिकै उसको यात्रासँग सम्बन्धित जानकारी विमानस्थलमा रहेका एजेन्सीहरूमा पुग्नेछ ।
एयरपोर्टको टर्मिनल गेटमा पुग्ने बित्तिकै त्यहाँ जडान गरिएको अनुहार पहिचान गर्ने क्यामेराले यात्रुको अनुहार पहिचान गर्नेछ । एक पटक यात्रुको पहिचान पुष्टि भएपछि, क्यामेरामा जडान गरिएको स्क्रिनले फोटो,आईडी र यात्रा सम्बन्धी सबै जानकारीहरू प्रदर्शन गर्नेछ ।
यस अवधिमा गेटमा तैनाथ सुरक्षा अधिकृतलाई न त आफ्नो हवाई टिकट देखाउनु पर्नेछ न त परिचयपत्र देखाउनु पर्नेछ ।
टर्मिनल गेट जस्तै चेक इन काउन्टर, सेक्युरिटी चेक इन पोइन्ट र बोर्डिङ गेटमा अनुहार पहिचान गर्ने क्यामेरा रहने छन् । चेक–इन काउन्टरमा पुग्ने बित्तिकै, अनुहार पहिचान क्यामेराले एयरलाइन्सका कर्मचारीहरूलाई तपाइँसँग सम्बन्धित सबै जानकारी प्रदान गर्नेछ ।
एयरलाइन्सका कर्मचारीले यात्रुले चेक–इन गर्ने बित्तिकै अनलाइन बोर्डिङ पास तपाईंको मोबाइलमा पठाउने छन् ।
यात्रुको यात्रा विवरण र पहिचान सुरक्षा जाँच र बोर्डिङ गेटमा अनुहार पहिचान क्यामेराको साथ सुनिश्चित गरिनेछ । यसरी सहज रुपमा हवाई यात्रा गर्न सकिने छ ।
यस खालको नयाँ प्रविधि संसारका केही अन्य विमानस्थलमासमेत शुरु गरिएको छ । यसले समयको बचत गराउने छ भने प्रिन्ट गरेर बोर्डिङ पास दिनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।