हार्ट जर्नलको रिपोर्ट भन्छ- नुन कम खानुस् र जोगाउनुस् मुटु



एजेन्सी । तपाईंले खानामा नुनको प्रयोग के कति गर्नुहुन्छ ? कतिपयमा चर्को नुन खान मनपर्छ भने कोही भने अलिनो खान मन पराउँछन् ।

नुनको अर्थशास्त्र पनि उस्तै महत्वपूर्ण छ । संसारभर नै नुनको व्यापार गर्नेमा नेदरल्याण्ड शीर्ष स्थानमा छ । यस्तै, दोस्रो नम्बरमा जर्मनी छ ।

जर्मनीले २० करोड ५८ लाख २६ हजार डलर बराबरको नुन निर्यात गर्ने गरेको छ ।

त्यसपछि चिली, क्यानडा, मेक्सिको, अमेरिका, भारतलगायतका देशले पनि ठूलो मात्रामा नुन निर्यात गर्छ । नुन संसारको व्यापारको एउटा हिस्सा हो ।

नेपालमा भारतबाट नुनको आयात हुने गरेको छ । तर, नुन स्वास्थ्यका हिसाबले के कति उपयुक्त छ भन्ने विषयमा संसारभर नै खोज तथा अनुसन्धान भइरहेको छ ।

नेपाली पनि विश्वमा नै धेरै नुन खानेमा पर्छन् । विगतमा आयोडिन नभएका नुन सेवन गर्ने नेपालीले पछिल्ला वर्षमा भने त्यो सुविधा पाएका छन् । तर, यस सामग्रीमा नुन खानु र कम खानुको फाइदाका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने एक अध्ययनले देखाएको छ ।

एक अन्तर्राष्ट्रिय अध्ययनले नुन कम खानु नै स्वास्थ्यका लागि फाइदाजनक रहेको देखाएको छ । हालै एक अन्तराष्ट्रिय विज्ञान जर्नलमा प्रकाशित भएको विवरण अनुसार नुनको बढी सेवनले संसारभर नै मुटु रोगीको सख्यामा बृद्धि गराएको छ ।

अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको विवरण अनुसार नुन कम खानु नै फाइदाजनक छ ।

जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने र त्यसले हरेक वर्ष संसारभरि लाखौँको जीवन बचाउनसक्ने बताएका छन् ।

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरेका छन् ।

हालै सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ ।

चीनको हार्बिन मेडिकल युनिभर्सिटीका वैज्ञानिक सम्मिलित अनुसन्धान टोलीले गत वर्ष ग्रामीण चीनका करिब २० हजार सर्वसाधारणलाई समावेश गरेर प्रकाशित एउटा प्रमुख अध्ययनमा आधा मानिसले आफ्नो आहारमा नुनको विकल्प प्रयोग गरेका तथा बाँकीले आफ्नो खानामा नियमित नुन प्रयोग गरेका थिए । नुनको विकल्प रोज्नेमा हृदयघातको जोखिम कम देखिएको अध्ययनको निष्कर्ष छ ।

चीनमा गरिएको यो अध्ययन र त्यसको निष्कर्ष मानज स्वास्थ्यका निम्ति लाभदायक भए पनि त्यस्तै परिणाम विश्वका अन्य भागमा पनि लागू हुन्छन् भनेर किटान गर्न नसकिने अनुसन्धानकर्ता नीलको भनाइ छ ।

पोटासियम नुनले जुनसुकै उमेर, तौल, वर्ण, लिङ्ग वा जातिका मानिसको रक्तचाप कम गर्ने उनी उल्लेख गर्छन् । बीस वर्षदेखि अध्ययनअनुसन्धानमा व्यस्त उनले यो अनुसन्धानको निष्कर्षबाट आफू उत्साहित भएको बताएका छन् ।

पोटासियम नुन सोडियम नुनभन्दा केही महँगो भए पनि स्वास्थ्यका निम्ति त्यो उपयोगी भएकाले त्यसको उपयोगमा उनले जोड दिएका छन् । आयोडिनयुक्त नुन कण्ठरोग निवारण लागि ल्याइएको झै सोडियमयुक्त नुन हटाएर पोटासियमयुक्त नुनको प्रयोग बढाउन सकिने उनको तर्क छ ।

आयात/निर्यात प्रबन्धकहरूले नुनलाई चट्टान नुन, समुन्द्री नुन, समुद्री पानी, र शुद्ध सोडियम क्लोराइडसँग जोडेर हेरेका छन् ।

यस बजारको विश्वव्यापीकरण एवम् स्थानीय दृष्टिकोणसंग सन्तुष्ट नभएको पनि बताइएको छ । समष्टिगत रुपमा आर्थिक र व्यापार मोडेलमा नै नुनको कारोबार आधारित छ ।


क्लिकमान्डु