मुद्दति निक्षेपको बढ्दो ब्याज र रणनीतिक प्रयोग



हरेक कुराका दुईवटा फरक पाटाहरु हुन्छन् भनेर भनिन्छ । यस्तै वित्तीय बजारमा बढ्दो ब्याजका पनि दुई पाटा छन् । आम्दानी लिनेका लागि बढ्दो ब्याज बढ्दो आम्दानीको अवसर हो भने ऋण लिएर लगानी गर्नेका लागि लगानीको बढ्दो लागत हो ।

सामान्यत मुद्दति निक्षेपमा प्राप्त हुने ब्याजलाई साँवामा जोडेर सोही दरमा ब्याजको पनि ब्याज नदिने बैंकले यसपटक भने साँवामा जोडेर सोही दरले ब्याज प्राप्त हुने योजना ल्याएको पाइन्छ । त्यसमा पनि ब्याज मासिकरुपमा कम्पाउन्ड हुने योजनाले धेरैको ध्यान तानेको छ । तरलता अभावसँगै निक्षेप आकर्षण गर्नका लागि बैंकहरुले उच्च ब्याजदरमा ल्याएका मुद्दति निक्षेपका विविध योजनाका बारेमा धेरै जिज्ञासाहरु प्राप्त भएका छन् । यस्तै जिज्ञासा बढ्दो ब्याजदर र बैकहरुले ल्याएका साँवाको दुई गुणा, तीन गुणा हुँदै दशौं गुणासम्म रकम प्राप्त हुने योजनाको सही प्रयोग कसरी गर्न सकिन्छ भनी एक सुभेच्छुकले प्रश्न गर्नु भएको छ ।

लगानी अवधि

लगानी उदेश्यलाई हामी अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गरि तीन अवधिमा बाँड्ने गर्छौं । उत्तर अमेरिकिहरुले तीन बर्षसम्मको लगानीलाई अल्पकालिन लगानीमा राख्छन् । तीनभन्दा माथि दश बर्षसम्मलाई मध्यकालिन र दशभन्दा माथिको लगानीलाई दीर्घकालिन अवधि मान्छन् । लगानी अवधि भन्नाले तपाईंको वित्तीय लक्ष्य पुरा गर्न लगानी गरेको पैसा आवश्यक हुने अवधिलाई जनाउँछ । जस्तो एक बर्षपछि बाइक किन्दै हुनुहुन्छ भने तपाइको लगानी उदेश्य अल्पकालिन हो । किनकि, लगानी गरेको पैसा बाइक किन्नका लागि एक बर्षभित्र आवश्यक हुन्छ । जसका लागि तपाईं बचत गर्दै हुनुहुन्छ वा लगानी गर्दै हुनुहुन्छ । अल्पकालिन लगानीमा अधिक तरलता (चाहेकोबेला तत्काल बिनानोक्सान नगदमा परिणत गर्न सक्ने) र साँवाको उच्चतम निश्चितता हुनुपर्छ ।

पाँच बर्षपछि घर किन्दै हुनुहुन्छ भने लगानी उदेश्य मध्यकालिन र १५ बर्षपछि जागिरबाट रिटायर्ड हुँदै हुनुहुन्छ भने त्यसका लागि गरिने लगानी दीर्घकालिन प्रकृतिको हुन्छ । हामी किन र केका लागि लगानी गर्दैछौं र हाम्रो आवश्यकता के हो भन्ने कुराले बैंकले ल्याएका उच्च ब्याजदरका निक्षेपको छनौट गर्नु पर्ने हुन्छ । यो परिभाषाअनुसार बैंकहरुले पछिल्लो समयमा ल्याएका निक्षेप तीन वटै उदेश्य पुरा गर्ने प्रकृतिका देखिन्छन् । निक्षेपमा पैसा राख्नुअघि हाम्रा लगानी अवधि वा भविश्यमा पैसा आवश्यक हुने छोटो देखि लामो समयको योजनाको सूचि बनाउनु आवश्यक छ जस्तो बाइक किन्ने, जग्गा किन्ने, घर बनाउने, बच्चा स्कुल कलेज जाने, छोराछोरीको विवाह गर्ने, धर्मकर्म गर्ने, रिटायर्ड हुने, विदेशबाट घर फर्केर केही गर्ने, विदेश घुम्न जाने, विदेशबाट नेपाल घुम्न जाने आदि ।

रिटायर्डमेन्ट

सामान्यत रिटायर्डमेन्ट शब्दले काम गर्न छाड्नु भन्ने कुरालाई जनाउछ । यहाँ तपाईं रिटायर्ड भैसक्नु भएको छ र भएको पैसाको ब्याजलाई नियमित आम्दानीको रुपमा लिनु भएको छ भने कुनै निश्चित अवधि पछि दुइ गुणा, वा तीन गुणा वा दश गुणा प्राप्त हुने मुद्दति निक्षेपमा पैसा लगाउनु उपयुक्त हुदैन किनकि ती मुद्दति खातामा नियमित व्याज प्राप्त हुने भन्दा पनि निश्चित समयपछि एकमुष्ट रकम प्रदान गर्ने हुन्छ । यसका लागि महिनैपिच्छे उच्च ब्याज प्रदान गर्ने मुद्दति खातामा लगानी गर्नु सान्दर्भिक हुन सक्छ ।

तर, तपाईं २० बर्षपछि रिटायर्ड हुँदै हुनुहुन्छ र रिटायर्डमेन्टका लागि आवश्यक पर्ने रकमका लागि लगानी गर्दै हुनुहुन्छ भने विस वा एक्काइस वा उन्नाइस बर्षपछि दश गुणा रकम पाउने योजना सही हुनसक्छ । त्यस्तै पाँच बर्षमा रिटायर्ड हुँदै हुनुहुन्छ पाँच बर्षे मुद्दति सही हुनसक्छ ।

बच्चाको स्कुल, कलेज

यस्तै बच्चा भर्खर जन्मेको छ विश बर्षपछि क्याम्पस वा विश्वविद्यालयका लागि आवश्यक पैसाका लागि विश बर्ष वा एक्काइस बर्षमा दश गुणा प्राप्त हुने निक्षेप योजना सहि हुनसक्छन् । अझै पनि बच्चाको उमेर र पैसा आवश्यक हुने समयलाई मिलाएर सोही प्रकृतिका निक्षेपको छनौट गर्न सकिन्छ । जस्तो पाँच बर्षपछि बच्चा क्याम्पस जाँदै छ भने पाँच बर्षमा समयअवधिमा सकिने योजना छनौट गर्न सकिन्छ ।

नियमित आम्दानी

नियमित आम्दनी नै हाम्रो लगानीको प्रमुख उदेश्य हो र त्यसैका लागि लगानी गर्दैछौं भने भविष्यमा एकमुष्टरुपमा रकम प्राप्त हुने अल्पकालिन वा मध्यकालिन वा दीर्घकालिन मुद्दति निक्षेप उपयुक्त नहुन सक्छ । यसका लागि मासिकरुपमा उच्च ब्याज प्राप्त हुने मुद्दति निक्षेप उपयुक्त हुन्छ । बैंकहरुले उच्च ब्याज प्रदान गरिरहेको अवस्थामा यस्ता मुद्दति निक्षेपमा पैसा राख्नु फाइदाजनक हुनसक्छ किनकि मुद्दति निक्षेपको ब्याज तोकिएको अवधिसम्म परिवर्तन हुँदैन । तर, बैंकिग क्षेत्रमा तरलताको अवस्था हेरेर बचत खाताको व्याज जुनसुकै बेला पनि बैकले परिवर्तन गर्न सक्छन् ।

पोर्टफोलियो व्यवस्थापन

निश्चित आय हुने लगानीका विकल्प जस्तो मुद्दती निक्षेप, ऋणपत्र आदि भनेका सेयरमा मात्र लगानी गर्दा हुने जोखिमलाई कम गर्न प्रयोग गरिने महत्वपुर्ण औजारहरु हुन् । जोखिम लिने क्षमता, लगानी अवधि, उमेर, पैसा चाहिने समय आदिको विश्लेषण गरेर भएको पैसा सेयर बजार र मुद्दती निक्षेपमा बाँढेर लगाउन सकिन्छ । सेयर बजारको उतार चढावका कारण उत्पन्न जोखिम लिन नचाहनेहरुका लागि यो सही विकल्प हुनसक्छ । यस्तै तपाईंले सेयर बजारमा कारोबार गरिरहनु भएको छ भने एक पटक पछाडी फर्केर अहिले सम्म तपाईंले गरेको सेयर कारोबारको बार्षिक प्रतिफलको विश्लेषण गर्नुहोस् । बारम्बारको मेहनतका बाबजुत पनि बैंकहरुले मुद्दति निक्षेप, ऋणपत्र वा सरकारी ऋणपत्रमा दिएकोे ब्याज जति पनि कमाउनु सक्नु भएको छैन भने लगानीयोग्य रकमको बढी हिस्सा यी नै बिकल्पमा लगानी गरि कम मात्र सेयर कारोबारमा लगाउनु उपयुक्त हुन्छ ।

विदेशमा बस्नेका लागि

विदेशमा बस्ने नेपालीका लागि बैंकहरुले रेमिटेन्स खाता भनेर केही बढी व्याजदरका मुद्दति तथा बचत खाताका योजना ल्याएको पाइन्छ । रोजगारी वा विभिन्न उदेश्यले तपाईं विदेशमा बस्नुहुन्छ र निश्चित समयपछि नेपाल फर्कदै हुनुहुन्छ जस्तो तीन बर्षपछि भने उच्च ब्याज प्रदान गर्ने तीन बर्षे मुद्दति खातामा पैसा जम्मा गर्न सके तपाईं फकर्ने बेलामा मुद्दति खाताको समयावधि पनि सकिएको हुन्छ । र, फिर्ता आएको पैसाले उदेश्य अनुसारको काम गर्न सक्नुहुन्छ । यस्तै यदि तपाईं विदेशमा बस्नुहुन्छ र दुइ बर्ष वा तीन बर्षपछि नेपाल घुम्न जाँदै हुनुहुन्छ । तर, विदेशका बैकमा शून्य व्याजमा पैसा बसिरहेको भए उक्त पैसा नेपालका बैंकमा मुद्दति निक्षेपमा राख्न सकिन्छ । र, घुम्न जाँदा आवश्यक खर्चका रुपमा त्यही पैसालाई प्रयोग गर्न सकिन्छ । अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलियाजस्ता देश जहाँ बचत खातामा व्याजदर शुन्य बरावर हुने गर्छ र बैंकले खाता खोले बापत उल्टै बार्षिक शुल्क लिने गर्छन् । यस्ता देशबाट नेपाल घुम्न जानेहरुले समय तालिका अनुसार मुद्दति निक्षेप छानेर रेमिटेन्सका रुपमा पैसा पठाउन पनि सकिन्छ ।

सन्ततिलाई ठुलो रकम छोडेर जाने

यदि तपाईं रिटायर्ड भैसक्नु भएको छ र भएको सबै पैसा बाँचुन्जेल आवश्यक छैन । तर, मृत्युपछि परिवारका सदस्यलाई ठुलो रकम छाडेर चाहनुहुन्छ भने बाँच्न सक्ने सम्भावित उमेर र मुद्दति निक्षेपमा बैकले राखेका सर्तको विश्लेषण गरेर सोही अुनसारका योजनामा पैसा जम्मा गर्न सक्नु हुन्छ । यस्तै कसैलाई मृत्युपछि ठुलो रकम कुनै विश्वविद्यालय, अस्पताललाई दान दिने योजना भए यी दीर्धकालिन प्रकृतिका योजना सहि हुनसक्छन् ।

थप के हेर्ने ?

मुद्दति निक्षेपमा साँवाको चार गुणा, पाँच गुणा वा दश गुणा रकमलाई मात्र हेरेर लगानी गर्यौं भने भविष्यमा थप जोखिम पनि निम्तन सक्छ । जसका लािग लगानीको लक्ष, पैसा चाहिने समय र बैंकका शर्तहरु ख्याल गर्न आवश्यक छ । जस्तो विश बर्षका लागि पैसा जम्मा गरियो । तर, बीचमा पैसा आवश्यक भएर झिक्नु परेमा लाग्ने शुल्क, पाइने रकम, त्यस्तै यो समयाअवधि अगावै निक्षेपकर्र्ताको मृत्यु भएमा, सोहि मुद्दति निक्षेपलाई धितो राखेर ऋण लिनु परेमा लाग्ने ब्याज, सेवा शुल्क, मुद्दति निक्षेप सँगै खोल्न बाध्य पारिने बचत खाता र त्यसमा राख्नु पर्ने न्यूनतम मौज्दात र त्यसको व्याज आदि कुरालाई बृस्तृतरुपमा बैंकहरु बीचमा तुलनात्मकरुपमा अध्ययन गरिनु आवश्यक हुन्छ । किनकि, मुद्दति निक्षेप राख्ने बेलामा बैंकले तपाईंलाई यो पैसा कहिले चाहिने भनेर सोध्ने छैन । किन राख्दै हुनुहुन्छ भनेर पनि सोध्ने छैन । यस्तै मुद्दति निक्षेपमा यदि ब्याज कम्पाउन्डिङ हुदै जाने भए कुन समयाअवधि जस्तो मासिक, त्रैमासिक, अर्धवार्षिक कसरी कम्पाउन्डिङ हुन्छ त्यो पनि हेर्नुपर्छ । यदि बीचैमा कुनै कारणबस पैसा झिक्नु परेमा र बैकले बिनाशुल्क त्यस अवधिसम्मको ब्याजसहितको पैसा फिर्ता गर्ने भए छिटो जस्तो मासिक कम्पाउन्ड हुने निक्षेप छान्नु राम्रो हुन्छ ।

यी बाहेक निक्षेप राख्नुअघि बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थाको पनि विश्लेषण गर्न सकिन्छ । जसले निक्षेपको सुरक्षाको सम्भावनालाई बढाइ दिन्छ । जस्तो नाफा नोक्सानको अवस्था र विगतको ट्रेन्ड, यस्तै नेटवर्थ, व्यवस्थापन, संचालक, क्रेडिट रेटिंग गरेको भए कुन रेटिंग प्राप्त गरेको छ आदि ।

र अन्त्यमा, बैंक टाट पल्टेमा

हामीले पैसा राखेको बैंक कटाट पल्टेमा हाम्रो पैसा के हुन्छ ? भन्ने कुरा हामी धेरैले कमै सोचेका हुन्छौं । र, लाग्न सक्छ के बैंक पनि टाट पल्टन सक्छ ? विगतमा टाट पल्टेका उदाहरण पनि छन् । बैंकभन्दा पनि बढी सहकारीले जम्मा गरेका पैसा फिर्ता दिन नसकेर तिनका संचालक जेल गएका र पैसा जम्मा गर्नेले कडा मेहनत गरेर बनाएको पैसा गुमाउनु परेको छन् । जस्तो ओरिन्टल सहकारी, सिभिल सहकारी, अहिले गौतमश्री सहकारी आदि । घरजग्गाको कारोबार मन्दी आएसँगै यस्ता समस्याग्रस्त सहकारीको संख्या बढेको छ । सहकारी टाट पल्टेमा त्यहाँ जम्मा गरेको पैसाको सुरक्षा गर्ने कुनै निकाय छैन । तर, नेपाल राष्ट बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाटाट पल्टेमा त्यहाँ जम्मा गरेको रकमको बीमा गरिएको हुन्छ । जस्तो निक्षेप तथा कर्जा सुरक्षण निगमले बैंक तथा वित्तीय संस्थामा राखेको एक जना प्राकृतिक व्यक्तिको तीनलाख रुपैयाँसम्म निक्षेपको बीमा गरेको हुन्छ । यदि बैक टाट पल्टेमा तीनलाख सम्म रकम फिर्ता पाउने ग्यारेन्टि हुन्छ भने बाँकी पैसाको कुनै ग्यारेन्टि हुन्न । यदि तपाईं यस प्रकारको जोखिमलाई पनि कम गर्न चाहनु हुन्छ भने भएको निक्षेप विभिन्न बैकमा बाँडेर राख्न सक्नु हुन्छ ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्सर बीमाका बारेमा विमाकोर्ष समेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता किताबहरु लेखेका छन् ।)


रविन्द्र भट्टराई