साउनका ३ सातामा बैंकिङ प्रणालीमा ११६ अर्ब निक्षेप घट्यो



काठमाडौं । साउन लागेपछि बैंकिङ प्रणालीमा अस्वाभाविकरुपमा निक्षेप घटेको देखिएको छ । साउनका तीन सातामा बैंकिङ प्रणालीबाट १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप घटेको हो ।

राष्ट्र बैंकका अनुसार गत असार ३२ गते बैंकिङ प्रणालीमा ५१ खर्ब ५३ अर्ब १० करोड रुपैयाँ निक्षेप रहेको थियो । साउन २३ गतेसम्म आइपुग्दा १ खर्ब १६ अर्ब रुपैयाँले घटेर ५० खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ ।

त्यस्तै, असार ३२ गते ४७ खर्ब ४० करोड रुपैयाँ रहेको कर्जा साउन २३ गतेसम्म आइपुग्दा करीब ८ अर्ब रुपैयाँले घटेर ४६ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ । कर्जाको तुलनामा निक्षेप करीब १० गुणाले घटेकाले बैंकहरु झन् ठूलो तरलता (लगानी योग्य पुँजी) को अभावमा पर्न थालेका छन् । अधिकांश बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमाको छेवैमा पुगेको छ ।

औषतमा बैंकिङ प्रणालीको सीडी रेसियो ८७.८६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको नियमअनुसार यस्तो रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्छ ।

गत असार मसान्तमा सीडी रेसियो ९० प्रतिशतभन्दा कम गर्न बैंक तथा वित्त कम्पनीहरुले कृत्रिम निक्षेप खडा गरेको आरोप लाग्दै आएको छ । साउनका तीन सातामा १ खर्ब १६ अर्ब रुपैयाँले निक्षेप घट्नुले उक्त आरोप सही भएको अनुमान गर्न सकिन्छ । यद्यपि यस विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको जनाएको छ । राष्ट्र बैंकको कारबाहीबाट जोगिन कुन कुन बैंकले कृत्रिम निक्षेप खडा गरी सीडी रेसियो मिलाए ? भनेर अनुसन्धान गरिरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

विगतका वर्षहरुलाई आधार मानेर विश्लेषण गर्ने हो भने सामान्यतया साउन महिनामा बैंकको निक्षेप घटेकै देखिन्छ । तर, यो साउनमा भने अस्वाभाविकरुपमा घटेको पूर्वबैंकर पर्शुराम कुँवर बताउँछन् ।

‘सामान्यतया साउनमा निक्षेप घटेककै इतिहास छ तर यो साउनमा जसरी घटिरहेको छ, त्यसलाई स्वाभाविक भने मान्न सकिँदैन,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने, ‘असार मसान्तमा बैंकहरुले कृत्रिम निक्षेप खडा गरेर सीडी रेसियो मिलान गरे भन्ने आरोप सही भएको अनुमान गर्न सकिन्छ ।’

गत आर्थिक वर्षको साउन महिनाभरीमा बैंकिङ प्रणालीबाट ७२ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । अघिल्लो वर्षको साउनमा भने कोरोना महामारीका कारण निक्षेप केही बढेको थियो ।

असार मसान्तसम्म वाणिज्य बैंकले ४५ खर्ब ३९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । साउन २३ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब १ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ ।

यो अवधिमा कर्जा भने ३ अर्ब रुपैयाँले मात्रै घटेको देखिन्छ । असार मसान्तमा वाणिज्य बैंकहरुे ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए भने साउन २३ गते ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा छ ।

त्यसैगरी, गत असार मसान्तमा विकास बैंक र वित्त कम्पनीको निक्षेप ६ खर्ब १३ अर्ब रुपैयाँ थियो । साउन २३ गतेसम्म आइपुग्दा १४ अर्ब रुपैयाँले घटेर ५ खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ ।

त्यस्तै, असार मसान्तमा ४ खर्ब ९० अर्ब ९५ करोड रुपैयाँ रहेको कर्जा साउन २३ गतेसम्म आइपुग्दा २१ अर्ब ७५ करोड रुपैयाँले घटेर ४ खर्ब ६९ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।


क्लिकमान्डु