अख्तियारले रंगेहात पक्राउ गरेका उपसचिव नेपाल छोरो ल्याउनु छ भन्दै बैठक छोडेर हिँडेका थिए



काठमाडौं । मंगलबार दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गत जेठ १५ गते दुर्घटना भएको तारा एयरको विषयमा जाँचबुझ गर्न गठित समितिको बठैक बसिरहेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा बसेको बैठकमा समितिका सबै सदस्य उपस्थित थिए ।

समितिमा पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई अन द जब ट्रेनिङ इन्सट्रक्टरका रुपमा आमन्त्रण गरिएको थियो ।

समितिका सदस्य सचिव रहेको बुद्धिसागर लामिछाने मन्त्रालयको निमित्त सचिव भएकाले मंगलबार दिँउसो साढे दुई बजे प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी हुन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार लामिछाने मन्त्रालयका उपसचिव नेपाललाई पूरा समय बैठकमा बस्न निर्देशन दिँदै जाँचबुझ समितिको बैठक छोडेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गएका थिए ।

लामिछाने बाहिरिएको केही समयपछि मन्त्रालयका उपसचिव नेपाल पनि बैठक छोडेर बाहिरिए ।

‘छोरालाई विद्यालयबाट ल्याउनु छ भनेर प्रमोदजी बैठक छोडेर जानु भयो,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘तर, त्यसको केहीपछि पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुसलिँदै गर्दा प्रक्राउ भन्ने समाचार आयो ।’

मंगलबार दिँउसो ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव नेपाललाई होटल अरण्यमा एक सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो ।

यस्तै, अख्तियारले नेपालले प्रयोग गर्ने सरकारी गाडीबाट स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ समेत बरामत गरेको छ ।

अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिमा प्याराग्लाइडिङ्ग सञ्चालनको लागि अनुमति उपलब्ध गराईदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उल्लेख छ ।

तर, पर्यटन मन्त्रालयका उच्च अधिकारीहरु भने प्याराग्लाइडिङ्गको अनुमतिका लागि ६ लाख रुपैयाँ घुस लेनदेन हुन नसक्ने बताउँछन् ।

‘आज दिन भर मन्त्रालयमा प्रमोदजी कुन केसमा प्रक्राउ पर्नु भएको होला भन्ने विषयमा छलफल भयो,’ मन्त्रालयका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘हामीले केस यही होला भन्ने अनुमानसम्म गर्न सकेनौं । प्याराग्लाइडिङ्ग सञ्चालनका लागि सैद्दान्तिक स्विकृति लिन ६ लाख रुपैयाँ घुस दियो भन्ने पत्याउने आधार देखिदैन् ।’

प्याराग्लाइडिङ्गे सञ्चालनका लागि मन्त्रालयले सैद्दान्तिक स्वीकृति दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनको अनुमति दिने हुँदा कुनै पनि व्यवसायीले प्याराग्लाइडिङ्गको सैद्दान्तिक स्वीकृति लिन मन्त्रालयमा ६ लाख रुपैयाँ घुस नदिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘प्रमोदले मन्त्रालयमा काम लिएर आउने व्यवसायीलाई दुःख दिने गरेको गुनासो विगतमा पनि आउने गरेको थियो,’ मन्त्रालयमा काम गरेका एक पूर्वसचिव भन्छन्, ‘उहाँलाई धेरै लोभ नगर्नु भनेर सम्झाएका थियौं ।’
बुधबार मन्त्रालयमा उपसचिव नेपालको कार्यकक्षमा के कस्ता फाइल पेन्डिङ थिए भन्ने विषयमा कुनै सोधखोज नै भएन् ।

‘आजको दिन छलफल गर्दा नै गयो,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अब बिहीबार मन्त्रालयमा पेन्डिङ रहेका फाइलका विषयमा बृहत् रुपमा हेरेर कुन केसमा प्रमोदले लेनदेन गरेको होला भन्ने विषयमा केही थाहा होला ।’


क्लिकमान्डु