सरकारले गाडी आयातमा कडाइ गरेपछि अटो व्यवसायीले लिएको ऋण ‘वाचलिस्ट’मा



काठमाडौं । सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घटेको भन्दै विलासिताको वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले गत वैशाख १३ गतदेखि सवारी साधनसहित अन्य ९ वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध आगामी भदौ १४ गतेसम्म हुनेछ ।

सरकारले गाडी आयातमा प्रतिबन्ध गरेपछि अटामोबाइल कम्पनीले लिएको ऋण ‘वाचलिस्ट’मा परेको छ । अटामोबाइल कम्पनीले विभिन्न देशबाट सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएका छन् । कम्पनीहरूले सोही सवारी साधन आयातका लागि अर्बौं ऋण लिँदै आएका छन् ।

कम्पनीहरूले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएर अर्बौं ऋण लिने गरेको तथ्याङ्कले देखाउँदछ । कम्पनीहरूले गाडी आयात गरी नेपाली बजारमा बिक्री वितरण गरेको आम्दानीबाट ऋण असुल गर्नुपर्दछ ।

तर, सरकारले गत वैशाख १३ गतेबाट गाडी आयातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा अहिले बजारमा सवारी साधन बिक्री गर्ने कम्पनीहरूको आम्दानीमा निकै असर पुगेको छ ।

त्यस्तै, प्रतिबन्धका कारण आयात ठप्प भएको र सवारी साधनको व्यापारमा धक्का पुगेको अवस्थामा रेटिङ एजेन्सीले अटोमोबाइल कम्पनीले लिएको ऋण ‘वाचलिस्ट’मा परेको जनाएको छ ।

इक्रा नेपालले सवारी साधन आयातमा प्रतिबन्धले गर्दा अटोमोबाइल क्षेत्रमा असर परेको भन्दै ५ वटा अटोमोबाइल कम्पनीलाई ‘वाचलिस्ट’ मा राखेको छ । रेटिङ एजेन्सीले बजारमा ऋण लिएको कम्पनीको व्यापार कस्तो छ, कसरी व्यापार गरिरहेको छ र आगामी दिनमा कस्तो असर पर्छ भनेर कम्पनीहरूको अध्ययन गर्ने गर्दछ । सोहीअनुसार हाल अटोमोबाइल कम्पनीहरूको अध्ययन गर्दा आयात प्रतिबन्धले गर्दा बजारमा निकै असर पुगेको जनाएको छ ।

रेटिङ एजेन्सीले हालसम्ममा पायोनिर मोटो कर्प, बतास ब्रदर्श, कन्टिनेन्टल प्रालि र इस्ट लिङ्क र अटोवेज कम्पनीलाई प्रतिबन्धकले व्यापारमा पारेको असरबारे अध्ययन गरेर वाचलिस्टमा राखेको छ ।

नेपाल अटोमोबाइल एशोसिएसनका अध्यक्ष ध्रव थापाले आयात प्रतिबन्धले गर्दा अटामोबाइल कम्पनीको व्यापार चौपट भएको बताए । दर्जनौं कम्पनीले रेटिङ गराएर अर्बौ रुपैयाँ ऋण लिएका छन् । तर, व्यापार नहुँदा ऋण कसरी असुल गर्ने भन्नेमा व्यवसायीहरू चिन्तित बनेका छन् ।

‘अहिलेसम्म थोरै कम्पनीको मात्रै नेगेटिभ धक्का पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ । तर, आगामी दिनमा सबै अटोमोबाइल कम्पनी ऋण लिएको वाचलिस्टमा पर्नेछ,’ उनले भने ।

पायोनिकर मोटो कर्पः नेपालका लागि ड्याटसन र निसान ब्रान्डका गाडी बिक्री गर्ने आधिकारिक विक्रेता पायोनिर मोटो कर्प प्रालिले लिएको ऋण वाचलिस्टमा परेको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब १५ करोड ५० लाख रुपैयाँ रेटिङ गराएको थियो । तर, गाडी आयातमा प्रतिबन्ध गरेसँगै कम्पनीको प्रत्यक्ष असर व्यापारमा देखिएको छ ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ७४ करोड १० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । साथै, कम्पनीले सन् २०२० मा २ अर्ब ५९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले व्यापार गरेकोमा ८० प्रतिशत नाफा निसान र म्यानाइट ब्रान्डबाट हुने गरेको जनाएको छ । जसमा कम्पनीले सन् २०२१ मा ८.२ प्रतिशतले नाफा कमाएको थियो । तर, हाल सरकारले लगाएको प्रतिबन्धले कम्पनीको नाफा र बढ्दो ब्याजदरमा दबाब परेको इक्रा नेपालले जनाएको छ ।

निजी सवारी साधन आयातमा बैंकबाट पूर्ण ऋण लिने भएकाले तरलता अभावसँगै करमा वृद्धि र ढिलो ऋण वितरणले व्यापारमा असर परेको कम्पनीको भनाइ छ ।

शारडा ग्रुपद्वारा सञ्चालित मोटो कर्पका शेययधनी सन्दिपकुमार शारडा हुन् । कम्पनीको देशभर दुईवटा शोरुम र १० वटा डिलरशिप छन् ।

बतास ब्रदर्श प्रालिः नेपालका लागि मारुती, मन्द्रिाका निजी सवारी साधन, ट्रयक्टर र गण्डाी र धौलागिरीमा टीभीएसको दुई पाङ्ग्रे सवारी साधनको आधिकारिक क्षेत्रीय डिलरको रुपमा व्यापार गर्दै आएको बतास ब्रदर्श कम्पनीले लिएको ऋण पनि वाचलिस्टमा परेको छ ।

सन् २०२२ को ९ महिनाको अवधिमा ३ अर्ब ३० करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब ७९ करोड २० लाख रुपैयाँको रेटिङ गराएको थियो । जसमा कम्पीले दीर्घकालीन कर्जाका लागि ३६ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ४२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको थियो । सरकारले यात्रुवाहक सवारी साधन र १५० सीसीभन्दा माथिको दुई पाङ्ग्रे सवारी साधनको आयातमा प्रतिबन्धले व्यापारमा नकरात्मक असर पुगी वाचलिस्टमा परेको जनाएको छ ।

कम्पनीले बिक्री वितरण गर्दै आएको विभिन्न सेग्मेन्टको सवारी साधनको व्यापार विस्तारै कम भएकाले यसको प्रत्यक्ष असर नाफा, काम गर्ने क्षमतालगायतमा पर्ने देखिन्छ ।

बतास अर्गनाइजेशनद्वारा सञ्चालित बतास ब्रदर्शले गरेको आम्दानीमध्ये दुई पाङग्रे सवारीबाट ३४ प्रतिशत, व्यवसायिक प्रयोजनको गाडीबाट २९ प्रतिशत, यात्रुवाहक गाडीबाट २६ प्रतिशत र ट्र्याक्टरबाट ११ प्रतिशत आम्दानी हुने गरेको छ ।

सरकारले गाडी आयातमा गरेको प्रतिबन्धले मारुती सुजुजी, महिन्द्राको स्र्कोपियो र दुई पाङ्गे सवारी साधनको व्यापारमा असर हुने भएको छ । कम्पनीमा आनन्दराज बतास, शान्त राज बतास र विपेन्द्र राज बतासको बराबर शेयर छ ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिः नेपालका लागि किया र इसुजु ब्रान्डका गाडीको आधाकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सन् २०२२ को ६ महिनाको अवधिमा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । ६ अर्बको व्यापार गरेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको थियो । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ करोड र अल्पकालीन कर्जाका लागि ४ अर्ब ६६ करोड रुपैयाँको रेटिङ गराएको थियो ।

तर, सरकारले सवारी साधनमा आयातमा प्रतिबन्ध गरेसँगै कम्पनीले लिएको ऋण वाचलिस्टमा परेको छ । कम्पनी किया र इसुजु गाडी, कोमट्सु र ओकाडा ब्रान्डका निर्माण उपकरण र ओटिस ब्रान्डका एलेभेटरको आधिकारिक वितरक हो ।

आयात प्रतिबन्धले व्यापारमा ७५ देखि ८० प्रतिशत असर पुर्याएको कम्पनीको भनाइ छ । जसले गर्दा नाफा, कार्य क्षमता र अन्य सूचकमा पनि असर पुगेको छ । सन् २०२१ मा १२४ प्रतिशतले बढेको व्यापार बढेको कम्पनीको सन् २०२२ को ६ महिनाको अवधिमा ११ प्रतिशतले बढेको छ ।

विशेषगरी कम्पनीले कियाको एयुभी मोडलका सेल्टोस र द सोनेटबाट उच्च आम्दानी गरेको जनाएको छ । कम्पनीअनुसार सन् २०२२ मा व्यापार गरेकोमध्ये ७७ प्रतिशत आम्दानी सेल्टोस र सोनेटबाट मात्रै भएको छ । सो अवधिमा आम्दानी गरेकोमध्ये सेल्टोसबाट ५३ प्रतिशत र सोनेटबाट २० प्रतिशत गरी ७७ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीको देशभर काठमाडौंमा दुईवटा शोरुम र १२ वष क्षेत्रीय डिलर रहेको जनाएको छ ।

इष्टलिङ्क मोटर्स प्रालिः टोयटाको यात्रुवाहक बागमती प्रदेशमा टोयटा यात्रुवाहक सवारी साधनको आधिकारिक बिक्रेता इस्ट लिङ्क मोटर्स प्रालिले सन् २०२२ मा २ अर्ब २२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले अल्पकालीन कर्जाका लागि ७५ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको थियो । तर, आयात प्रतिबन्धले व्यापारमा निकै असर पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले गरेको आम्दानीमध्ये ७५ प्रतिशत यात्रुवाहक सवारी साधनबाट हुने गरेको छ । त्यस्तै, सन् २०२२ मा एयुभीको प्राडोको ४२ प्रतिशत र फर्च्यूनरको १६ प्रतिशत हिस्सा रहेको जनाएको छ । सरकारले वैशाख १३ गतेदेखि आयातमा प्रतिबन्ध गरेसँगै व्यापारमा असर परेको कम्पनीको भनाइ छ ।

अटोवेज प्रालिः टोयटा, आइचर र कोमट्सुको आधिकारिक क्षेत्रीय वितरक अटोवेजको कम्पनीमा पनि आयात प्रतिबन्धले नकारात्मक धक्का पुगेको छ । गण्डकी, नारायणी अञ्चल र बुटवलमा निर्माण उपकरण बिक्री गर्दै आएको कम्पनीले सन् २०२१ मा १ अर्ब ९१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

तर, सरकारले आयातमा प्रतिबन्ध गरेसँगै कम्पनीको आम्दानी विस्तारै खस्किँदै गएको जनाएको छ । कम्पनीले यात्रुवाहक सवारी साधनबाट ५० प्रतिशत र ५० प्रतिशत व्यवसायिक तथा निर्माण यात्रुवाहक सवारी साधनबाट आम्दानी हुने गरेको उल्लेख छ ।

नारायणप्रसाद पौडेलको पूर्णस्वामित्व रहेको कम्पनीको पोखरा, नारायणघाट र बुटवलमा पनि शोरुम छन् ।


अरिष्मा मोक्तान