व्यवसायको होडबाजीले बीमामा विकृति मौलाउँदै, नाफा कमाउने र फाइदा लुट्ने बढे



काठमाडौं । बीमा फाइदा होइन, सुरक्षा हो । तर, पछिल्ला समय नेपाली बीमा क्षेत्रमा बढ्दै गएका घटनाले बीमालाई फाइदाका रूपमा लिने गरेको पुष्टि हुँदै गएको छ ।

बीमाको पहुँचमा आएको जनसंख्या बढ्दै छ । बीमा समितिकाअनुसार गत आर्थिक वर्षमा करीब ४० प्रतिशत जनतामा जीवन बीमाको पहुँच पुगेको छ । आगामी ६ वर्षमा ४० प्रतिशतबाट बढाएर ६० प्रतिशतसम्म पुर्याउने लक्ष्य समितिको छ ।

तर, बीमाको पहुँच बढेसँगै पछिल्लो समय बीमा रकम पाउनका लागि आफन्तको हत्या गर्ने घटना बढ्न थालेका छन् । अन्य मुलुकमा बीमामा ठगीका यस्ता घटना धेरै घट्ने विज्ञहरू बताउँछन् । तर, नेपालमा भने हालसम्म त्यस्ता घटना कति भए भनेर अध्ययन अनुसन्धान हुन भने सकेको छैन । शंकास्पद लागिएका घटनाहरू मात्रै बाहिर आउने उनीहरूको भनाइ छ ।

जीवन बीमा कम्पनीहरूमा प्रिमियम संकलनमा प्रतिष्पर्धा हुन्छ । जीवन बीमा व्यवसाय पूर्णरूपमा अभिकर्तामा आधारित हुन्छ । अभिकर्तामार्फत् नै कम्पनीहरूले बीमाशुल्क संकलन गरेका हुन्छन् ।
व्यवसायका ती मूख्य पात्रहरूलाई आकर्षित गर्न विभिन्न खाले स्किमहरू ल्याउँछन् । र, तोकिएको अवधिमा लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई सम्मान गर्छन् । तर, उनीहरूले कसरी व्यवसाय ल्याए भन्ने वास्ता कम्पनीहरूले नराख्ने विज्ञहरू बताउँछन् ।

बीमामा हुने ठगीमा प्रत्येक व्यक्तिलाई शंकाको रूपमा हेरिनु पर्ने एक विज्ञ बताउँछन् ।

‘कर्मचारी, कम्पनीका बोर्डका अध्यक्षदेखि लिएर बीमा अभिकर्ता, सर्भेयर जो पनि हुन सक्छन्,’ एक विज्ञले क्लिकमाडूसँग भने, ‘पोलिसी होल्डर पनि त्यसमा सोमल हुनसक्ने भयो ।’

एक पक्षले मात्रै घटना घट्न नसक्ने उनको भनाइ छ । धेरै पक्ष मिल्यो भने घटना घट्न ठुलो मद्दत पुग्ने उनले बताए ।

‘विदेशी मुलुकमा १० अर्ब रूपैयाँ क्लेम तिर्यो भने त्यसको १ देखि डेढ अर्ब रूपैयाँ चाँही ठगहरूले लाने अनुसन्धानले देखाउँछ,’ ती विज्ञले थपे, ‘तर, नेपालमा त्यस्ता घटनाका बारेमा कुनै अनुसन्धान भएका छैनन् । फाट्टफ्ट्ट रूपमा केही घटनामात्रै बाहिरिएका हुन् ।’

यस्ता घटनाले बीमा कम्पनीबाट विभिन्नरूपले नाफा कमाउन खोज्ने देखिएको उनको भनाइ छ ।

‘आसम्म बाहिरिएका घटनाले विभिन्न तरिकाले मान्छेहरूले नाफा कमाउन खोज्ने वा फाइदा लुट्न सक्ने तथा वित्तीय लाभ लिने खालका अवसर खोज्ने देखिन्छ,’ उनले भने ।

उनकाअनुसार जुन बीमा कम्पनीका अण्डरराइटिङ राम्रो हुन्छ ती कम्पनीमा यस्ता घटना नघट्ने उनको भनाइ छ । भने अण्डरराइटिङ कमजोर हुने कम्पनीहरूमा यस्ता घटटा बढी घट्छन् ।

पछिल्लो समय बजारमा आएका नयाँ कम्पनीहरूमा व्यवसायको होडबाँजीले गर्दा यस्ता घटना मौलाउन थालेको उनको भनाइ छ ।

‘जीवन बीमा कम्पनीको प्रिमियम कति हुनुपर्छ भन्ने केही थेउरीहरू छन् । तर, बीमा अभिकर्ताहरूलाई ती थेउरीहरू बारेमा जानकारी नगराई लाइसेन्स दिने चलन छ,’ उनले भने, ‘लाइसेन्स दिनुभन्दा अघि उनीहरूलाई ३० दिनको तालिम दिनुपर्ने भन्ने छ । तर, तालिम नै नदिई लाइसेन्स दिइन्छ ।’

अण्डरराइटिङ विभागमा बस्ने प्रमुखहरूले ठुलो बीमांकको बीमा आयो भन्दैमा खुसी भएर बीमा गर्ने भन्दा पनि प्रिमियम तिर्न सक्ने क्षमता छ कि छैन अर्थात त्यो पोलिसीलाई निरन्तरता दिन सक्छ सक्दैन भनेर बुझ्न आवश्यक रहेको उनको भनाइ छ ।

आर्थिक क्षमताभन्दा बढीका पोलिसी खरिद गर्दा आत्महत्यादेखि हत्या गर्नेसम्मका घटना घट्ने उनले बताए । यस्ता घटनालाई कम गर्नका लागि नियामक निकायले अण्डरराइटिङ विभागलाई तालिम दिनुपर्ने उनको सुझाव छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल यस्ता घटना घट्नुमा अभिकर्ताको मूख्य हात रहने बताउँछन् । कतिपय हत्याका केसमा अभिकर्ताको मिलेमत्तो रहने गरेको उनको भनाइ छ ।

‘अभिकर्ताकै भूमिका बढी देखियो । बीमा गर्नु अगाडि बीमा गर्नका लागि उक्त व्यक्ति कति सक्षम छ भन्ने थाहा हुनु पर्छ,’ अध्यक्ष सिलवालले क्लिकमाण्डूसँग भने, ‘पहिलो अण्डरराइटर अभिकर्ता हो । त्यसपछि कम्पनीको अण्डरराइटिङ विभागले हेर्नुपर्छ ।’

उनकाअनुसार यस्ता घटना घट्नुमा अभिकर्ता, अण्डरराइटिङ विभाग र कम्पनी कै कमीकमजोरी हो ।

बीमाको रकम पाउन छोरीको हत्या

२०७६ असार महिनामा रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामकी चार वर्षीया लक्ष्मी कुमारी यादवको हत्या आफ्नै बुवा रामकिशोर यादवले गरे । हत्याको कारण थियो बीमा रकम । प्रहरी अनुसन्धानले हत्याको पछि बीमा रकम रहेको ठहर्यो ।

हत्या भएको एक महिनाअघि अर्थात् जेठ महिनामा रामकिशोरले प्रभु लाइफ इन्स्योरेन्सबाट २५ लाख रूपैयाँको छोरीको जीवन बीमा गरेका थिए । छोरीको मृत्यु भएमा २५ लाख रूपैयाँ पाउने मनसायले असार १६ गते राति हत्या गरेको रामकिशोरले स्वीकारे ।

बीमा रकमको लोभमा श्रीमतिको हत्या

सोही वर्ष असार महिनामा पोखरा राम बजारका ३५ वर्षीय रमेश नेपालीले २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरे । हत्या भएको केही दिनअघि मात्रै उनले श्रीमतीको नामबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड रूपैयाँको बीमा गराएका थिए । अनुसन्धानमा संलग्न प्रहरीले लक्ष्मीको हत्याको कारण बीमा रकम रहेको पुष्टि गर्यो ।

बीमाको रकम लिन नक्कली विवाह, बीमा गरेको २ महिनापछि मृत्यू

२०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा सर्जन विकको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका विकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि विकको मृत्यु भएको थियो ।

सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई १ महिना कैद र २ हजार रूपैयाँ जरिवाना गरी छाडिएको थियो ।

मृतक विकले रिलायन्स लाइफ कोहलपुर शाखा कार्यालयबाट सावधिक जीवन बीमालेख र म्यादी जीवन बीमा गरेका थिए । विकले १ करोड २० लाख रूपैयाँको सावधिक जीवन बीमा र ३० लाख रूपैयाँको म्यादी जीवन बीमा योजना किनेका थिए ।

विकको मृत्यु योजनावद्धरूपमा भएको केन्द«ीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको छ । नक्कली विहे र मृत्युको पछाडि बीमा जोडिएको सीआईबीको भनाइ छ ।

सावधिक जीवन बीमा योजना अन्तर्गत ७० लाख रूपैयाँको आकस्मिक मृत्यु लाभ र पूर्ण अशक्तता प्रिमियम छुट लाभ पनि जोडिएको थियो । यस्तै, म्यादी जीवन बीमामा ३० लाख रूपैयाँको आकस्मिक मृत्यु लाभ र पूर्णअशक्तता प्रिमियम छुट लाभ करार रहेको थियो ।

विकले प्रथम बीमाशुल्कवापत ५ लाख ४० हजार रूपैयाँ भुक्तानी गरेका थिए ।

पुनर्बीमा कम्पनीको शंकाले अनुसन्धान

कम्पनीले मृतक बीमितले इच्छाएको व्यक्तिलाई सो रकम भुक्तानी गरेपछि नेपाल पुनर्बीमा कम्पनीले शंका गरेको थियो । मृतककी पत्नी भनिने सपना मल्लले रकम पाएपछि पुनर्बीमा कम्पनीले मृतक विकको सवारी दुर्घटनाबाट भएको मृत्यु शंकास्पद देखिएको बताउँदै सीआईबीलाई पत्र लेख्दै घटनाको सत्य तथ्य विवरणको अनुसन्धान गरी पाऊँ भनी अनुसन्धान गर्न पत्र लखेको थियो ।

र, सो दाबीवापत कम्पनीले २ करोड ४२ लाख रूपैयाँ दायित्व सिर्जना भएको थियो ।

पेशा र वार्षिक आयको रकमले बीमाशुल्क तिर्न नसक्ने

बीमा समितिले ५ लाख रूपैयाँभन्दा बढी वार्षिक वा एक बीमाशुल्क तिर्ने गरी बीमाशुल्क तिर्ने गरी बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य चाहिने व्यवस्था गरेको छ ।

नियामक निकाय बीमा समितिले जीवन बीमासम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै यस्तो प्रावधान ल्याएको थियो । समितिद्धारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ को दफा २० मा आम्दानीको स्रोत खुल्ने कागजात भन्ने व्यवस्था छ ।

‘बीमकले ५ लाख रुपैयाँभन्दा बढी वार्षिक वा एकल बीमाशुल्क तिर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य लिनुपर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।

तर, मृतक बीमित सर्जन विकको पेशा र वार्षिक आयको रकमले बीमाशुल्क तिर्न नसक्ने अवश्था थियो । केवाईसीमा वार्षिक आम्दानी २ लाख रूपैयाँ भनी उल्लेख गरिएको थियो । वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्मको मात्रै बीमा गर्न सक्ने प्रावधान अनुरूप थिएन ।

त्यतिमात्र होइन, सर्जनको बीमाको पहिलो किस्तासमेत अर्यालले नै तिरिदिएका थिए ।

मृतक बीमितको बीमा गरिदिएका बीमा अभिकर्ता हुन् सरदरार अहमद खाँ । दुर्घटना हुँदा उनै खाँको मोटरसाइकलमा सर्जन गएका थिए ।

मृतक बीमितले सावधिक र म्यादी जीवन बीमा गर्नुपर्ने अन्य कारण र आधार नदेखिएकाले अनुसन्धान गर्नु परेको सीआईबीको भनाइ छ ।

यसरी बुनिएको थियो योजना

मृतक बीमित सर्जन विकको नाममा २०७७ फागुन ५ गते कामना सेवा विकास बैंकमा खाता खोलियो । फाुगन ११ गते नै सर्जनकी श्रीमति सपना मल्लको पनि सोही बैंकमा खाता खोलियो । दुवै जनाको खाता संजिब अर्यालले खोलिदिएका थिए ।

आरती उपनाम गरेकी ललिता कुमारी सापकोटाले सपना मल्ल र सन्जीब अर्याललाई भेट गराइदिएकी थिइन् ।

सापकोटा र सन्जीव अर्यालबीच सपना मल्ललाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया पठाउने बिषयमा कुरा भएको थियो । विहे गरेर विदेश जाँदा फाईदा हुन्छ भनि मल्ललाई अर्यालसँग चिनजान तथा भेट गराएकी थिइन् ।

मृतकको दुर्घटना भइ मृत्यु भएको कुरा सपनालाई सन्जीब अर्यालले बताएका थिए । तर, मल्ल मृत्य संस्कारमा सहभागी नै भइनन् ।

दाबी भुक्तानीको चेक हस्तान्तरण समितिका अध्यक्ष सिलवालले गरेका थिए

गत साउन १३ गते रिलायन्स लाइफ इन्स्योरेन्सले होटल मेरियटमा दाबी भुक्तानीसम्बन्धी कार्यक्रम आयोजना गर्यो ।

१ वर्षअघि बीमालेख खरिद गरेका बीमितको दुर्घटनाबाट असामायिक निधन पछि निजको हकवालालाई दाबी भुक्तानी कम्पनीले दिने भएको थियो ।

मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गर्नका लागि कम्पनीले औपचारिक कार्यक्रम नै आयोजना गरेको थियो । नियामक निकाय बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसमेतको उपस्थित थियो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेल, कम्पनी सञ्चालक समितिका अध्यक्ष तारानाथ केडी, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कम्पनीले गरेको दाबी भुक्तानीले दाबी भुक्तानी गर्दैनन् भन्ने कुरा सत्य नभएको पुष्टि गर्ने बताएका थिए ।

‘हामीकहाँ बीमा बीमा कम्पनीहरूले भुक्तानी दिँदैनन् भन्ने न्यूजहरू धेरै पढेको छु,’ अध्यक्ष सिलवालले भनेका थिए, ‘तर, जीवन बीमा कम्पनीहरूले भुक्तानी दिदाँ रहेछन् ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मृतक बीमितको परिवारलाई उक्त रकमले सहयोग पुग्ने बताएका थिए ।

‘इन्स्योरेन्स लिनु मात्रै ठुलो कुरा होइन, लिएको पोलिसीलाई निरन्तरता दिनु ठुलो कुरा हो,’ सीईओ पराजुलीले भनेका थिए, ‘आफ्नो आम्दानीलाई हेरेर बीमा पोलिसी लिनुपर्छ र निरन्तरता दिनुपर्छ ।’

मूख्य योजनाकार अर्यालसहित ६ जना पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली विवाह दर्ता गरी बीमाबाट साढे २ करोड रूपैयाँ लिने कार्यमा संलग्न भएको अभियोगमा ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन् । सीआईबीले उनीहरूलाई शुक्रबार सार्वजनिक गरेको हो ।

सीआइबीकाअनुसार घटनाको मूख्य योजनाकार सन्जीव अर्याल हुन् । सपनाको बैंकमा खाता खोल्ने, खातामा मोबाइल नम्बर र सर्जनको मृत्यु भएको सम्पूर्ण जानकारी सपनालाई सञ्जीवले नै दिएको अनुसन्धानमा खुलेको छ ।

मल्लको बैंक खाता अर्यालले नै खोली दिई सम्पूर्ण चेक हस्ताक्षर गराई लिएका थिए । खाता खोल्दा उपलब्ध गराएको फोन नम्बरसमेत अर्यालले दिनु, मृतकको दुर्घटना भई मृत्यु भएको कुरा मल्ललाई अर्यालले नै खबर दिएका थिए । बीमाको भुक्तानीको सबै काम अर्यालले नै गरेका थिए ।


बिजया बास्कोटा