६२ म्यानपावरले एक जना पनि श्रमिक विदेश पठाउन सकेनन्, प्याराडाइज एक्लैले पठायो ६ हजार



काठमाडौं । देशभर सञ्चालनमा रहेका म्यानपावर कम्पनीमध्ये ६२ वटाले एक जना पनि श्रमिक विदेश पठाउन सकेका छैनन् ।

श्रम विभागका अनुसार यस अवधिमा एक सयभन्दा कम श्रमिक विदेश पठाउने म्यानपावरको संख्या १८४ छ । कुल ८७२ वटा म्यानपावर कम्पनीमध्ये सबैभन्दा बढी प्याराडाइजले भने ६ हजारभन्दा बढी कामदार विदेश पठाएको छ ।

वैदेशिक रोजगार संशोधित ऐन २०७६ मा वार्षिक एक सय जनाभन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनी नवीकरण नहुने व्यवस्था थियो । उक्त व्यवस्था लागू भएपछि म्यानपावर व्यवसायीले विरोधका साथै विभाग घेराउ समेत गरेका थिए ।

कोरोना महामारीका कारण देशभरको म्यानपावर कम्पनी प्रभावित भएका थिए । जसले गर्दा धेरै म्यानपावर कम्पनीले सय जना कामदार पनि विदेश पठाउन सकेका थिएनन् ।

कामदार पठाउन नसक्दा सयौं म्यानपावर नवीकरणबाट वञ्चित भएका थिए । तर, यो वर्ष सरकारले एक आर्थिक वर्षका १ सय जना नेपालीलाई विदेशमा पठाउन नसक्ने म्यानवापर कम्पनीको नवीकरण गर्न पाउने व्यवस्था गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलले राजपत्रमा सूचना प्रकाशित गर्दै एक आर्थिक वर्षमा १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेको इजाजतपत्र प्राप्त संस्थाको नवीकरण गरिदिने भएको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा (२) को खण्ड (घ२( अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ गरी दुई वर्षमा वार्षिक रुपमा न्यूनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजत प्राप्त संस्थाको इजाजत आर्थिक वर्ष २०७९/८० को नवीकरण गर्न आएमा नवीकरण गरिदिने व्यवस्था गरेको हो ।

सो व्यवस्था गरेसँगै एक जना पनि विदेश पठाउन नसकेका म्यानपावर कम्पनी नवीकरण गरी आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने बाटो खुल्ला भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडलले बताए ।

‘सबै म्यानपावर कम्पनीले धेरैभन्दा धेरै कामदार पठाउने नै लक्ष्य राखेका हुन्छन । तर, लक्ष्यअनुसार पठाउन सकेका हुँदैनन् । त्यसो भन्दैमा व्यवसाय गर्न नपाउने भन्ने हुँदैन,’ उनले भने, ‘व्यवसाय गर्ने सबै सफल हुँदैनन् । सफल भएन भनेर व्यवसाय नै बन्द नै गर्नु त भएन नि ?’

‘कम्पनी स्थापना भएपछि यति व्यापार अथवा प्रगति गर्नैपर्छ भन्ने हुँदैन । कम्पनीले सरकारलाई तिर्नुपर्ने कर तिर्न पाउनुप¥यो र सहज ढङ्गले व्यवसाय गर्न पाउनुप¥यो,’ उनले भने ।

सरकारले यो वर्ष मन्त्रिपरिषद्को निर्णयबाट नवीकरण गर्न पाउनुपर्ने व्यवस्था गरेको छ । तर, विभागले उक्त निर्णयलाई वैदेशिक रोजगार ऐन संशोधनमै समावेश गरेको उनको भनाइ छ ।

‘विभागले ऐनमै एक सय कामदारको सीमा हटाउनुपर्नेमा संशोधन गर्न प्रस्ताव पेश गरेको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

गत वर्ष ६२ वटाले एउटा पनि कामदार पठाउन सकेनन् भने अन्य कतिपय कम्पनीले १÷१, २÷२ जना मात्रै पठाउन सफल भएका छन् ।

६८ वटाले पठाए हजारभन्दा बढी कामदार
देशभरको ८७२ म्यानपावरमध्ये ६८ वटाले भने १ हजारभन्दा बढी कामदार पठाउन सफल भएका छन् । कम्पनीहरूले १ हजारदेखि ६ हजारसम्म कामदार पठाएको विभागको भनाइ छ ।

साथै, अन्य ५७४ म्यानपावर कम्पनीले भने १ सयदेखि ९९९ जनासम्म कामदार पठाएका छन् ।

त्यस्तै, हजारभन्दा बढी कामदार पठाउने ६८ वटा कम्पनीमध्ये हजारदेखि १५ सय हाराहारीमा पठाउनेको संख्या अधिक छ । त्यसपछि १५ सयदेखि २ हजारसम्म कामदार पठाउने म्यानपावर कम्पनी कम भने २ हजारदेखि माथि पठाउने म्यानपावरको संख्या निकै न्यून छ ।

प्याराडाइजले सबैभन्दा बढी पठायो
एक वर्षमा ७ लाख ४५ हजार नेपाली वैदेशिक रोजगारीमा जाँदा गत वर्ष प्याराडाइज इन्टरनेशनलले सबैभन्दा बढी कामदार पठाउन सफल भएको छ ।

कम्पनीले गत वर्ष ६ हजार ५५ जना कामदारलाई विदेश पठाएको विभागको भनाइ छ ।

प्याराडाइजपछि सानै इन्टरनेशनल रिक्वाएयरमेन्ट सर्भिस प्रालिले ५ हजार ७२२ जना, अक्सफोर्ड इन्टरनेशनल प्रालिले ४१ सय ८८ जना, लिंक इन्टरनेशनेल प्लेसमेन्ट सर्भिस प्रालिले ३६ सय ७२ जना कामदार विदेश पठाएका छन् ।

त्यस्तै, देवान कन्सल्टेन्टले २२ सय ७१ जना, फजल इन्टरनेशनलले २७ सय ६३ जना, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले २३ सय ३३ जना, लक्की एचआर सोलुशन प्रालिले २४ सय ५९ जना श्रमिक विदेश पठाएका छन् ।

त्यसैगरी, मोन्टेज ओभरसिज प्रालिले २२ सय १७ जना, मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रालिले २५ सय ९० जना, ट्यालेन्ट ओभरसिज प्रालिले २१ सय ४७ र भिजन एण्ड एम्प भ्यालु ओभरसिज प्रालिले २३ सय १ जना कामदार विदेश पठाएका छन् ।


क्लिकमान्डु