८ बैंकको नाफा २७ प्रतिशतले बढ्यो: प्रभुको छलाङ, सानिमाको घट्यो



काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को शुरुमै वाणिज्य बैंकहरुले गरेको आक्रमक कर्जा विस्तारको सकारात्मक प्रभाव नाफामा देखिएको छ ।

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । अहिलेसम्म ८ वटा बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । ८ मध्ये ७ वटा बैंकको नाफा बढेको छ भने एउटा बैंकको नाफा घटेको छ ।

कोरोना महामारीपछि उद्योग धन्दा खुल्दा गत आवको शुरुको ३ महिना बैंकहरुले आक्रमकरुपमा कर्जा विस्तार गरेका थिए ।

उक्त समयमा आयात पनि धेरै भएको थियो । आयात बढ्दा बैंकहरुबाट जाने कर्जा बढेको थियो । तर, पछिल्लो समय भने बैंकका लगानीयोग्य रकम (तरलता) अभाव भएपछि बैंकहरुबा जाने कर्जामा केही संकुच भने देखिएको थियो ।

तर, आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको आक्रमक कर्जा विस्तारका कारण बैंकहरुको नाफा बढेको जानकार बैंकर्सहरुको भनाइ रहेको छ ।

वित्तीय विवरण प्रकाशित गरेका बैंकको नाफा २७.३५ प्रतिशतले बढेको छ । वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले असार समान्तसम्म ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा २५ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

धेरै नाफा कमाउने बैंकमा ग्लोबलपछि एनआइसी एसिया रहेको छ । बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढेको छ ।

यस्तै प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको छ ।

सिटिजन्स बैंकले गत आवमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढेको छ ।

माछापुच्छ्रे बैंकले गत आवमा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.४२ प्रतिशतले बढेको छ ।

यस्तै सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

लक्ष्मी बैंकको नाफा भने थोरै अंकले बढेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

अहिलेसम्म प्रकाशित भएका वित्तीय विवरण अनुसार सानिमा बैंकको नाफा भने घटेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु