पुनरकर्जा सुविधा पुनरावलकोन गरिने, कृषि, निर्यात र काेराेना अति प्रभावित क्षेत्रले मात्रै पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषिलगायतका उत्पादनशील क्षेत्र, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा मात्रै पुनरकर्जा उपलब्ध गराउने भएको छ ।

शुक्रबार चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यी क्षेत्रमा रहेको पुनरकर्जा सुविधालाई पुनरावलोकन गरिने बताए ।

‘कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनरकर्जा सुविधा उपलव्ध गराउने गरी निरन्तरता दिइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

साथै, पुनरकर्जा सुविधालाई क्रमशः कम गर्दै २०८१ असार मसान्तसम्ममा सम्बन्धित कोषको मौज्दात बराबर हुने गरी उपलव्ध गराइने उल्लेख गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार आव २०७८/७९ सम्मा २४ हजार ३०५ ऋणीले १ खर्ब १५ अर्ब ६८ करोड पुनरकर्जा स्वीकृत भएको छ । २०७९ असार मसान्तमा १ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुनरकर्जा लगानीमा रहेको छ ।

कोभिड–१९ संक्रमणको समयमा लिइएका सहज नियामकीय व्यवस्थाहरुलाई क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने मौद्रिक नीतिमा उल्लेख छ ।

कोभिड–१९ महामारीबाट प्रभावित उद्योग÷व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनरकर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिँदै गत आर्थिक वर्षमा व्यवस्था गरिएको पुनरकर्जा रकमको अधिकतम सीमा नघट्ने गरी पुनरकर्जा सुबिधा उपलब्ध हुने व्यवस्था मिलाइने केन्द्रीय बैंकको भनाइ छ ।

विद्युतीय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ्ग स्टेशन स्थापनाका लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिमा कोभिड–१९ महामारीबाट प्रभावित पेशा र व्यवसाय पुनरुत्थानको लागि प्रदान भएको पुनरकर्जा, व्यवसाय निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित गर्न स्वतन्त्र परीक्षणको व्यवस्था गरिने भनिएको छ ।

यस बैंकबाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जाको धितोमा प्रदान गरिने पुनरकर्जा सुविधाअन्तर्गत सम्वन्धित ग्राहकबाट लिन पाउने अधिकतम ब्याजदर ७ प्रतिशत कायम गरिने उल्लेख छ ।


क्लिकमान्डु