सेयरको घट्दो बजारमा लगानी गरेर यसरी कमाउनुस्



मनहरीले सोधे ‘घट्दो बजारमा सेयर सस्तो हुन्छ तर किन्ने आँटै आउँदैन, कसरी आँट बढाएर फाइदा लिने होला ?’

सुशिलले सोधे ‘लगानी गर्ने मन छ तर थोरै पैसा छ, कसरी शुरु गर्ने होला ?’

कुशलले सोधे ‘एकै पटकमा सबै पैसा लगाऔं भने गलत समयमा परेर डुबिएलाकि भन्ने डर छ । यस्तो जोखिमलाई कसरी कम गर्ने होला?’

उत्तमले सोधे ‘हरेक महिनाको तलब आएपछि केही पैसा लगानी गर्ने मन छ । तर, कसरी लगानी गर्दा राम्रो होला ?’

मिलनले सोधे ‘सेयर किन्यो स्वात्तै घटिदिन्छ, किन्नलाई कुर्यो ह्वात्तै बढी दिन्छ ? कसरी लगानी गर्ने होला भनेर उपाय खोजिरहेको छु ।’

हिमालले सोधे ‘नियमित अध्ययन अनुसन्धान गरेर किनबेच गरिरहने समय, फुर्सद र जाँगर केही पनि छैन । तर, पनि सेयरमा लगानी गर्न मन छ । कसरी लगानी गर्ने होला ?’

मुनाले सोधिन् ‘दुई लाख रुपैयाँ जति पैसा छ । एकैपटक लगानी गर्दा बढी फाइदा होला कि पटक पटक लगानी गर्दा बढी होला ?’

टेलिभिजनको अन्तर्वार्ताको क्रममा यस्तै जिज्ञासा एकपटक पत्रकारले पनि राखेका थिए । उनको जिज्ञासा थियो ‘मसँग ५० हजार रुपैयाँ छ । कसरी लगानी गर्दा राम्रो होला ?’

सेयरको तालिम, सामाजिक सञ्जाल, मिडियामा लगानीकर्तासँग अन्तरक्रिया हुँदा मैले बारम्बार सामना गर्नु परेका यी केही महत्वपूर्ण प्रश्नहरु हुन् ।

सम्भवतः यी प्रश्नभित्र तपाईंका पनि केही प्रश्नहरु परेका हुनसक्छन् । यी केवल प्रश्नमात्र हैनन् सेयरमा लगानी गर्ने क्रममा हाम्रा केही साझा समस्या र जिज्ञासा पनि हुन् । सेयरको लगानीमा हामी केही रणनीति अपनाउन सक्छौं जसले हाम्रा यस्ता धेरै समस्या, जिज्ञासा, पश्चतापको समाधान गर्न सहयोग गर्न सक्छन् ।

सामान्यतः सेयरमा पैसा लगानी गर्ने दुईवटा तरिका हुन्छन् । एउटा एकमुष्ट पैसा एकैपटक लगानी गर्ने र अर्को समान रकम एउटा निश्चत समय अन्तरालमा निरन्तर लगानी गर्दै जाने । उदाहरणका लागि तपाईंसँग १२ लाख रुपैयाँ छ । एकै पटकमा १२ लाख रुपैयाँ एउटै कम्पनी वा विभिन्न कम्पनीमा लगानी गर्नुलाई एकमुष्ट लगानी भनिन्छ । एकमुष्ट लगानी नगरी उदाहरणका लागि हरेक महिनाको २ गते एक लाख रुपैयाँका दरले १२ महिनासम्म निरन्तर लगानी गर्दै गयौं भने यो तरिका चाहीँ नियमित लगानी रणनीति हो । यसलाई रुपिज कस्ट एभरेजिङ (स्थिर रुपैयाँ लगानी योजना वा औषत लागत रणनीति) भनिन्छ ।

औषत लागत रणनीति लगानीको तरिका मात्र नभएर नियमित बचत गर्ने सामान्य तर उत्कृष्ट रणनीति पनि हो । यसले लगानी गर्ने बानी बसाउने, दीर्घकालमा लगानीको लागतलाई कम गर्नेे र सेयरको मूल्यमा आउने उतार चढावका कारण सिर्जना हुने नोक्सानलाई कम गर्न पनि त्यतिकै मद्दत गर्न सक्छ ।

नियमितरुपमा तालिका बनाएर सेयर किन्दा जुनबेला सेयरको मूल्यमाथि हुन्छ त्यसबेला हाम्रो पैसाले कम कित्ता सेयर किन्छ । तर, जब सेयरको मूल्य घटेर तल आउँछ त्यसबेला सोही रकमले बढी कित्ता सेयर किन्छ । र, बजारमा गलत समयमा किन्दाको बजारको जोखिमलाई कम गरिरहेको हुन्छ । यो रणनीतिले आवेस तथा उत्तेजनाका कारण गलत समयमा एकमुष्ट लगानी गर्दा हुने जोखिमलाई पनि कम गर्न सहयोग पुर्याउँछ । यो रणनीतिलाई जति लामो समय उपयोग गर्न सक्यो त्यति नै फाइदाजनक हुनसक्छ ।

सेयर बजारमा लगानी गर्ने धेरै लगानीकर्ताहरुले औषत लागतको तरिकालाई प्रयोग गरिरहेका हुन्छन् । तर, प्रायले वैज्ञानिक तरिकाले औषत भने गरिरहेका हुँदैनन् । जस्तो हरेक हप्ता वा हरेक महिना वा हरेक ३ महिनामा एउटा निश्चित तालिका अनुसार किन्नु पर्ने ठाँउमा केही मूल्य घटेपछि एउटै महिनामा पनि धेरै पटक किन्ने वा केहि घटेपछि भएको सबै पैसा लगाई दिएर औषत गरिरहेका हुन्छन् । यसरी लगानी गर्नाले लगानीमा देखिएका हाम्रा समस्या वा जिज्ञासाको समाधान गर्न सक्दैन ।

के नियमित लगानी रणनीतिले हाम्रो लगानीको औषत लागतलाई कम गर्न मद्दत गर्छ त ? भन्ने प्रश्न हुनसक्छ । यसले हाम्रो लागतलाई कम गर्न सक्छ । तर, यसबाट अधिकतम फाइदा लिनका लागि केही कुरामा ध्यान दिन भने आवश्यक हुन्छ । पहिलो, नियमित लगानी रणनीति एउटा अनुशासित लगानी रणनीति भएकाले जति चाँडो लगानी शुरु गर्न सकियो त्यति नै बढी दीर्घकालमा यसबाट फाइदा लिन सकिन्छ । हामीसँग लगानी गर्ने पर्याप्त पैसा छैन भने नियमितरुपमा सानोभन्दा सानो रकम लगानी गर्दै गयौं भने पनि त्यसले दीर्घकालमा ठुलो फाइदा दिन सक्छ । तर, यसका लागि तत्काल शुरु भने गर्नुपर्छ ।

दोस्रोमा, यो रणनीतिअनुसार लगानी गर्दा समय र लगानी गर्ने पैसामा स्थायित्व हुन आवश्यक छ । जस्तो कुन समय अन्तरालजस्तो हरेक हप्ता वा दुईदुई हप्ता वा हरेक महिना वा हरेक दुई महिना वा त्रैमासिक वा अर्धबार्षिक वा बार्षिक लगानी गर्ने भन्ने निर्णय गर्नुपर्छ । र, त्यसलाई निरन्तरता दिइनुपर्छ । यस्तै लगानी गर्ने रकमको निर्धारण गर्नु र समय तालिकाअनुसार निरन्तर लगानी गरिरहनु अर्को महत्वपुर्ण कुरामा पर्छ । लगानी रकम निर्धारण गर्दा जस्तो हरेक महिना प्राप्त हुने तलबको ५ प्रतिशत बराबर रकम लगानी गर्ने वा निश्चित रकम बराबर लगानी गर्ने भन्ने निर्णय गर्नुपर्ने हुन्छ । नियमित लगानी गर्ने रकम यत्तिनै हुनुपर्छ भन्ने छैन । यसको निर्धारण आफ्नो जोखिम बहन र बचत गर्न सक्ने क्षमताका आधारमा गरिन्छ । क्षमता राम्रो हुँदै गए नियमित गरिने लगानीको रकम भविष्यमा बढाउन पनि सकिन्छ ।

यो रणनीतिमा लक्षअनुसार नियमितरुपमा दीर्घकालिन हिसावले लगानी गरिन्छ । लगानी गर्नेक्रममा कहिलेकाहीँ बजारमा निकै नै खराब अवस्थाहरु पनि आउन सक्छन् । यस्तो अवस्थामा पनि आफुलाई सम्हालेर उपयुक्त ठानेका कम्पनीमा निरन्तर लगानी गरिरहन सक्नुपर्ने हुन्छ । यो रणनीतिअनुसार लगानी गर्दा हामी सेयरको मूल्यलाई वेवास्ता गरिदिन्छौं । र, हाम्रो तालिकामा ध्यान दिन्छौं । जस्तो हरेक महिनाको दुई गते १० हजार रुपैयाँ लगानी गर्ने भन्ने तालिका भएमा उक्त २ गते सेयरको मूल्यजस्तो सुकै भए पनि हामी १० हजार रुपैयाँको सेयर किन्छौं । मूल्य बढी भयो भनेर हामी तीन गतेलाई कुर्दैनौं वा अर्को हप्ता वा महिना किनौंला भनेर पनि भन्दैनौं । यस्तै मूल्य घटेर गई रहेको छ भनेर लगानी पनि रोक्दैनौं ।

रुपैयाँ लागत औषत रणनीतिअनुसार लगानी गर्दा छनौट गरेका धितोपत्र नियमितरुपमा आफैंले किन्छौं वा ब्रोकरलाई अग्रिमरुपमा तालिका दिन्छौं । र, तालिका बमोजिम ब्रोकरले किनेर विल पठाउने गर्छ । यसका अलावा हामी हाम्रो कारोबार सफ्टवयरमा तालिकाअनुसार स्वत किनिने गरी स्वचालित आदेश राख्न पनि सक्छौं । तर, यसका लागि कारोबार प्रणालीमा त्यस प्रकारका सुविधा भने हुनुपर्ने हुन्छ ।

सेयरमा लगानी गर्न चाहने तर लगानी गर्ने ठुलो रकम नहुनेहरुका लागि रुपैयाँ लागत औषत निकै नै उपयोगि हुनजान्छ । यो रणनीति अवलम्बन गर्न सके धेरै पैसा बचाएर सेयर किन्छु भनेर कुरि रहनु पर्दैन र बजारमा आउने ठुला अंकका समाचारबाट तर्सनु पनि पर्दैन । यसमा हामी घट्दो बजारमा पनि सेयर किनिरहेका हुन्छौं जसले हाम्रो सेयरको लागतलाई कम गरिरहेको हुन्छ जसको फाइदा बजार बढ्दा लिन सकिन्छ । तर, यदि हामीले लगानी गर्न छाड्यौं र सेयर बिक्री गरेर बजारबाट निस्क्यौं भने हामी भविष्यमा हुने बजारको बृद्धिबाट पाउने फाइदा लिने कुरा गुमाइरहेका हुन्छौं । स्वाव सेन्टर फर फाइनान्सियल रिसर्चले गरेको अध्ययनअनुसार घट्दो बजारमा पनि नियमित लगानी गरी रहनेले बजार अब घट्छ । र, बढ्छ भनी समय तोक्ने र बजारबाट पैसा झिक्नेहरु भन्दा बढी प्रतिफल कमाएको पाइन्छ ।

यस्तै लगानी गर्नुपर्छ भन्ने थाहा भएर पनि लगानी शुरु गरी हाल्न गाह्रो हुनेका लागि यो रणनीति अपनाउँदा कर्मचारी सन्चय कोषमा नियमित पैसा जम्मा गरे जस्तै नियमित लगानी गर्न दवाव भइरहेको हुन्छ । जसका कारण यो रणनीतिले हामीमा नियमित लगानी गर्ने बानी बसाइ दिन्छ ।

अनुसन्धान गर्ने पर्याप्त समय, ज्ञान, इच्छा नहुने र बजारको बारेमा घट्ने र बढ्ने समय निर्धारण गरेर त्यसका उतारचढावसँगै किनबेच गर्न गाह्रो हुने र निवृत्त जीवनका लागि नियमितरुपमा लगानी गर्नेहरुका लागि पनि यो रणनीति उपयुक्त हुनसक्छ ।

घट्दो बजारमा लगानी गर्न कत्ति पनि रुचि नहुनेहरुका लागि यो रणनीति फाइदाजनक हुनसक्छ । किनकि, यस रणनीतिमा बजारको अवस्था र सेयरको मूल्यलाई वेवास्था गरेर हामी नियमितरुपमा तालिका अनुसार तोकिएको रकम लगानी गर्दै गइरहेका हुन्छौं ।

कुनै निश्चित उदेश्य प्राप्तिका लागि पैसाको जोहो गर्न दीर्घकालिन लगानी गर्ने सोचमा छौ भने यो रणनीति उपयुक्त हुनसक्छ । जस्तो निवृत्त जीवनका लागि । बच्चाको विवाहका लागि । कलेज तथा विश्वविद्यालय भर्नाका लागि । मोटरसाइकल किन्नका लागि । गाडि किन्नका लागि । जग्गा किन्नका लागि । घर बनाउनका लागि आदि ।

गलत समयमा एकमुष्ट लगानी गरेर भएको नोक्सानका कारण हामी धेरैलाई पश्चताप लागि रहेको हुन्छ । यस्तो पश्चताप हटाउन यो रणनीति सहयोगि बन्छ । किनकि, यसमा हामीले एकै पटकमा धेरै रकम लगानी नगरीजस्तो हरेक महिना लगानी गरेका हुन्छौं जसले गर्दा घटेको बजारबाट फाइदा लिनका लागि पनि हामीसँग पैसा भइरहेको हुन्छ ।

नियमित लगानीको अर्को फाइदा भनेको लगानीका सबैभन्दा ठुला दुई शत्रुः डर र लोभलाई नियन्त्रण गर्न सफल हुनु हो । सामान्यतः बजार बढ्दै जाँदा हामीमा छिटै नै धेरै पैसा कमाउने एक प्रकारको लोभ उत्पन्न हुन्छ अनि हामी हाम्रो क्षमताभन्दा बढी रकमबिना अध्ययन लगानी गरिदिन्छौ । र, क्षमताभन्दा बढी जोखिम लिन पुग्छौं । अर्कोतर्फ बजार घट्दै गएमा थप नोक्सानको डरले घाटामै सेयर बिक्री गरिदिन्छौं । यसले लगानीमा थप जोखिम सिर्जना गर्छ । यदि हामीले नियमित तालिका अनुसार लगानी गर्यौं भने लोभ र डरबाट प्रभावित हुनु पर्दैन । बजारको अवस्था जस्तोसुकै भए पनि हामी हाम्रो तालिकाअनुसार निश्चित उदेश्य पुरा नहुन्जेल निर्धारित समयसम्म लगानी गर्दै गइरहेका हुन्छौं र उच्च मूल्यमा किन्ने र कम मूल्यमा बेच्नबाट बच्न सक्छौं । यसैले कम जोखिम लिने र बजारमा हुने उच्च उतार चढाबदेखि धेरै नै डराउनेहरुका लागि एकमुष्ट लगानीभन्दा नियमित लगानी रणनीति उपयुक्त हुनसक्छ ।

नियमित लगानी गर्दाका केहि बेफाइदा पनि छन् । जस्तो सानोसानो रकम बारम्बार लगानी गर्दा लगानीको लागत बढेर जानसक्छ । जस्तो नामसारी (डीपी) शुल्क बारम्बार तिर्नुपर्ने हुन्छ । यसका कारण प्रतिफल प्रभावित हुनसक्छ । यस्तै कुनै बेला राम्रो अवसर आएमा त्यो अवसर लिनबाट हामी बन्चित पनि हुनुपर्छ । थोरै थोरै लगानी गर्दा लगानी नभएको पैसा बैकमा कम प्रतिफलमा बसिरहन सक्छ जस्ले समग्रमा हाम्रो लगानीको प्रतिफल कम गराइ दिन पनि सक्छ ।

अर्कोतर्फ एकमुष्ट लगानी गर्दा धेरै सेयर एकैपटकमा किन्न सकिन्छ । तर, यो तरिकामा बजारको जोखिम पनि धेरै हुनेगर्छ । यदि सेयरको मूल्य १० प्रतिशतले घटेमा हामीले हरेक महिना लगानी गर्ने पैसाभन्दा पनि बढी पैसा एकैपटकमा गुमाउन पनि सकिन्छ । यसको विपरित सेयरको मूल्यमाथि गएमा राम्रो नाफा लिने सम्भावना पनि त्यतिकै रहन्छ । तर, बजार सँधै सीधा रेखामाथि जान्छ भन्ने चाँही छैन । भएको सबै पैसा एकमुस्ट लगानी गर्दा बजार तल गएमा हामीसँग थप सेयर किन्ने पैसा नहुन सक्छ । यसबाट घट्दो बजारमा सस्तो मूल्यमा सेयर किन्न पाउने अवसरको फाइदा लिन भने सकिँदैन । जस्तो हामीले छानेको कम्पनी वित्तीयरुपमा मजबुत छ । भएको सबै पैसाले ५०० रुपैयाँका दरले सेयर किन्यौं । तर, सेयर किनेपछि मूल्य घटेर ४०० रुपैयाँमा वा ३०० वा २०० रुपैयाँमा आयो । यसअघि नै एकमुष्ट लगानी गरेका कारण घटेको मूल्यमा धेरै सेयर किन्ने अवसर भने गुमेर जानेछ । यसैले एकमुष्ट रकम एकै पटकमा लगानी गर्दा निकै नै तनावपूर्ण अवस्था पनि सिर्जना हुनसक्छ ।

कहिलेकाहीँ हामीसँग खातामा पैसा भई रहेको हुनसक्छ वा कतैबाट एकमुष्ट ठुलो रकम प्राप्त हुनसक्छ । जस्तो मुद्दा जितेर अदालतको आदेशबाट प्राप्त रकम । घरजग्गा बिक्री गरेर आएको रकम, बीमाको समयावधि सकिएर प्राप्त भएको रकम । जागिरबाट अवकास भएपछि प्राप्त हुने रकम । त्यस्तै संचय कोष, नागरिक लगानी कोष, अनिवार्य अवकास कोषजस्ता स्रोतबाट प्राप्त हुने रकम । यस्तो पैसा सेयर बजारमा एकमुस्ट एकैपटक लगानी गर्दा वा पटकपटक गरी लगानी गरेर लागतलाई औषत गर्दा बढी फाइदा हुन्छ भन्ने धेरैमा दुविधा हुनसक्छ । यस बारेमा अमेरिकाको फाइनान्सियल प्लानिङ एशोसिएसन र लगानी व्यवस्थापक कम्पनी भ्यानगार्डले गरेको अध्ययनले लामो समयमा पटकपटक गरेर लगानी गर्दा भन्दा एकै पटक सबै रकम लगानी गर्दा बढी प्रतिफल पाएको निष्कर्ष निकालेको थियो । उक्त अध्ययनमा सन १९२६ देखि १९९१ सम्मको तथ्यांकलाई आधार बनाइएको थियो । अध्ययनमा १२ महिनालाई लगानीको एउटा अवधि मानिएको थियो । एकमुष्ट रकम १२ महिनाको शुरुमा लगानी गरिएको थियो भने पटकपटक गरेर लगानी गर्ने रकम शुरुमा ट्रेजरी विल्समा लगानी गरिएको थियो । र, त्यसपछि १२ महिना बराबर किस्तामा एस एण्ड पी ५०० इन्डेक्समा सारिएको थियो ।

यस्तै अध्ययन अमेरिकाको नर्थव्यस्र्टन म्युचुअलले पनि गरेको थियो । उक्त अध्ययनमा १० लाख डलरलाई एकै पटकमा र १२ महिनामा बराबर भागमा बाँडेर दुई फरक तरिकाले लगानी गरि १० बर्षसम्म होल्ड गरिएको थियो । यो अध्ययनमा पनि बराबर रकम बाँडेर लगानी गर्ने भन्दा एकमुष्ट लगानी गर्दा बढी प्रतिफल प्राप्त भएको निश्कर्ष निश्किएको थियो ।

फाइनान्सियल प्लानिङ एशोसिएसन र भ्यानगार्डको अध्ययनमा बराबर रकम नियमित लगानी गर्नेको सम्पति पनि उल्लेख्य मात्रामा बढेको र नाफा एकमुष्ट लगानी गर्नेको भन्दा केही मात्र कम थियो । यस्तै एकमुष्ट लगानीमा धेरैजसो समय नियमित लगानी गर्दा भन्दा केहीमात्र बढी प्रतिफल प्राप्त भएको थियो ।

तर, लगानीमा हामी यीनै अध्ययनलाई नै अन्तिम निर्णयको आधार बनाउन भने सक्दैनौं । किनकि, हामी सबैसँग लगानीका लागि शुरुमै ठुलो रकम नहुनसक्छ । अर्कोतर्फ ठुलो रकम बनाएर लगानी गर्नका लागि हामी सानो सानो बचतलाई बर्सौंसम्म लगानी नगरी राख्न पनि सक्दैनौं । धेरै पैसा बचत गरेरमात्र लगानी शुरु गर्ने भन्ने सोच राख्ने हो भने हामीले बजारका धेरै अवसरहरु गुमाउँदै जानु पर्ने पनि हुनसक्छ । यसैले यदि हामीले चाँडै लगानी गर्न सक्यौं भने सानो रकम थोरै हुन सक्दैन ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केटजस्ता किताबहरु लेखेका छन् ।)


रविन्द्र भट्टराई