३०० डलरको सीमाले ९०% मोबाइल बजारलाई असर नगर्ने, ५५ हजारसम्मका मोबाइल आयात हुने



सरकारको नीतिले नेपाली बजारमा बिक्री हुने ५५ हजार रुपैयाँसम्म पर्ने मोबाइलको आयात नरोकिने

काठमाडौं । घट्दो विदेशी मुद्रा सञ्चिति बचाउन सरकारले मोबाइल आयातमा कडाइ गरे पनि त्यसको असर भने न्यून हुने देखिएको छ । जसले गर्दा सरकारले लिएको उक्त नीतिले विदेशी मुद्रा सञ्चिति राक्ने नसक्ने देखिएको छ ।

सरकारको यो निर्णय भदौ १४ गतेसम्म लागू हुनेछ । सरकारले ३०० डलरभन्दा बढी मूल्य पर्ने स्मार्टफोनहरु आयातमा रोक लगाउने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । तर ३०० डलरभन्दा कम मूल्यका मोबाइल फोनको हिस्सा सबैभन्दा ठूलो भएकाले निकै कमलाई मात्रै असर हुने देखिएको हो ।

एक मोबाइल फोन वितरकका अनुसार ३०० डलरभन्दा कम मूल्य पर्ने मोबाइलका उपभोक्ता सबैभन्दा बढी अर्थात् ९० प्रतिशत छन् ।

‘उपभोक्ताहरुको रोजाइमा २० देखि ५० हजार रुपैयाँको बजेट पर्ने मोबाइलमा अत्यधिक छ, तर यो नीतिले त्यसलाई रोक्न सक्दैन’ उनले भने, ‘यो नीतिले केही सीमित मोबाइल सेटको आयातमा मात्रै असर गर्छ ।

जस्तै ३०० डलरको मोबाइल आयात गर्दा भन्सार विन्दुमा ५ प्रतिशत अर्थात् १५ डलर अन्तशुल्क लाग्छ । मोबाइलको खरिद मूल्य र अन्तशुल्क जोडेर हुने रकम ३१५ डलरमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर ४०.९५ डलर लाग्छ । यसरी मोबाइलका लागत ३५५.९५ डलर हुन जान्छ ।

उक्त रकममा आयातकर्ताले २ देखि ४ प्रतिशतसम्म, वितरकले २ देखि ४ प्रतिशतसम्म र खुद्रा बिक्रेताले ७ देखि १० प्रतिशतसम्म कमिसन लिने गर्छन् । कम्पनी अनुसार औसतमा मोबाइल बिक्री गर्दा तीन वटै तहको कमिसनमा १२ देखि १८ प्रतिशतसम्म खर्च हुन्छ ।

औसतमा मोबाइलको कमिसनमा १६ प्रतिशत मात्रै खर्च हुँदा पनि ३५५.९५ डलरमा आयात हुने माबोइलको बिक्री मूल्य ४१३ डलर हुन आउँछ । जुन आजको विनिमय दर अनुसार ५२ हजार ६६१ रुपैयाँ हो ।

एक मोबाइल कम्पनीका नेपाल प्रतिनिधिका अनुसार सरकारको नीतिले नेपाली बजारमा बिक्री हुने ५५ हजार रुपैयाँसम्मका मोबाइललाई केही पनि असर गर्दैन् ।

‘नेपाली बजारमा ५५ हजारभन्दा बढी मूल्यको मोबाइल किन्नेको संख्या ७ देखि १० प्रतिशत मात्रै हो,’ उनले भने, ‘यदि सरकार साच्चिकै मोबाइल आयातमा विदेशी मुद्रा खर्च नहोस् भन्ने चाहन्छ भने १५० डलरभन्दा बढी मूल्यपर्ने मोबाइल आयातमा रोक लगाउनुपर्छ । अहिलेको नीतिले ९० प्रतिशतभन्दा बढी बजारलाई कुनै पनि असर गर्दैन् ।’

उनका अनुसार सरकारको नीतिले सामसुङ ब्राण्डका केही सेट र आइफोन १२ र १३ मोडल बाहेक अन्य सीमित ब्राण्डका सीमित सेटको आयातमा मात्रै असर गर्छ ।

उनी मोबाइल आयात रोक्नका लागि १५० डलरको सीमा वा कम्पनी अनुसार मोबाइल आयातमा विदेशी डलर खर्च गर्न पाउने सुविधा छुट्याइदिनु पर्छ । यसरी प्रभावकारी नीति लागू गर्न सकियो भने मात्रै यसको अर्थ रहन्छ ।

‘जस्तै १५० डलरभन्दा बढी मूल्य पर्ने मोबाइल आयात रोक्दा २५ देखि २८ हजार रुपैयाँभन्दा बढी पर्ने मोबाइल आयात बन्द हुन्छ भने कम्पनी अनुसार खर्चको सीमा तोक्दा सरकारले तोकेभन्दा बढी विदेशी मुद्रा खर्च हुँदैन र सबै प्रकारका मोबाइल आयात गर्न सकिन्छ ।’

गत आवको जेठ महिनासम्म ३६ अर्ब ८९ करोड रुपैयाँको मोबाइल फोन तथा स्मार्ट फोन आयात भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब ९० करोड रुपैयाँ, आव २०७६/७७ मा १८ अर्ब १७ करोड रुपैयाँको मोबाइल आयात भएको छ ।


क्लिकमान्डु