जेठ महिनामा ८ हजार बढी बीमा पोलिसी त्याग, नेपाल लाइफको मात्रै २८.१८ प्रतिशत



काठमाडौं । चालु आवको जेठ महिनामा जीवन बीमा कम्पनीहरूमा ८ हजार भन्दा बढी पोलिसी त्याग भएका छन् । जेठ महिनामा ६६ करोड ४० लाख रूपैयाँ बराबरका ८ हजार ५५६ वटा पोलिसी त्याग भएका हुन् ।

जेठमा नेपाल लाइफका बीमितले धेरै पोलिसी त्याग गरेका छन् । जेठमा नेपाल लाइफमा २९ करोड ८ लाख रूपैयाँ बराबरका २ हजार ४११ वटा पोलिसी समर्पण भएका हुन् । जुन कुल समर्पण संख्याको २८.१८ प्रतिशत र रकमको ४३.७९ प्रतिशत हो ।

यस्तै, सबैभन्दा कम सानिमा लाइफको छ । जेठ महिनामा यस कम्पनीका १५ लाख रूपैयाँ बराबरका १७ वटा पोलिसी त्याग भएका छन् ।

कुल समर्पण संख्यामा यो ०.२० र कुल रकमको ०.२३ प्रतिशत हुन आउँछ । जीवन बीमा कम्पनीहरूमा बीमा पोलिसी त्याग्नेको संख्या फेरि बढ्न थालेको छ ।

चैत महिनाको तुलनामा वैशाखमा पोलिसी त्याग्ने क्रम सुधारिएको थियो । तर, जेठमा भने उक्त संख्या बढेको हो ।
समितिले उपलब्ध गराएको तथ्यांकअनुसार वैशाख महिनाको तुलनामा जेठमा पोलिसी समर्पण संख्या र रकम नै बढेको हो ।

वैशाखको तुलनामा समर्पण संख्या ४५.६१ प्रतिशतले बढेको हो । भने समर्पण रकम २०.२८ प्रतिशतले बढेको हो ।

जेठ महिनामा ६६ लाख ४२ हजार रूपैयाँका ८ हजार ५५६ वटा बीमालेख सरेण्डर भएका छन् । वैशाख महिनामा ५५ करोड २० लाख रूपैयाँका ५ हजार ८७६ वटा बीमालेख सरेण्डर भएका थिए ।

चैत र वैशाख महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरूमा १ अर्ब २१ करोड ६१ लाख रूपैयाँका १४ हजार ४३२ वटा पोलिसी त्याग भएका छन् ।

तथ्यांकअनुसार वैशाखको तुलनामा मेट लाइफ इन्स्योरेन्स र सूर्या लाइफमा पोलिसी त्याग्नेको संख्या सबैभन्दा धेरैले बढेको छ ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये यी कम्पनीको पोलिसी त्याग्नेको संख्या उल्लेख्य मात्रामा बढेको हो ।
वैशाख महिनामा मेट लाइफका ३८४ वटा मात्रै पोलिसी सरेण्डर भएका थिए । तर, जेठ महिनामा आईपुग्दा सो संख्या ४९५.८३ प्रतिशतले बढेर २ हजार २८८ वटा पुगेको छ । जेठ महिनामा कम्पनीका उक्त संख्याका ५ करोड ३६ लाख रूपैयाँका पोलिसी सरेण्डर भएका हुन् ।

वैशाखको तुलनामा सूर्या लाइफमा पोलिसी समर्पणको संख्या १२४.१९ प्रतिशतले वृद्धि भई १३८ पुगेको छ । जेठ महिनामा कम्पनीमा उक्त संख्याका २ करोड ५७ लाख रूपैयाँ बराबरका पोलिसी समर्पण भएका हुन् ।

वैशाखमा सूर्याका ७५ लाख रूपैयाँ बराबरका ६२ वटा पोलिसी मात्रै समर्पण भएका थिए ।

यी कम्पनीसँगै नेशनल, नेपाल, एलआइसी, एशियन, आईएमई, सन नेपाल, रिलायन्स, रिलायबल, सिटिजन र महालक्ष्मी लाइफमा पनि पोलिसी त्याग्नेको संख्यामा वृद्धि भएको देखिन्छ ।

वैशाखको तुलनामा जेठ महिनामा ७ वटा कम्पनीमा पोलिसी समर्पणमा सुधार देखिएको छ ।

राष्ट्रिय बीमा संस्थान, गुराँस लाइफ, प्राइम लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, सानिमा र प्रभु लाइफको पोलिसी समर्पणमा सुधार आएको हो ।

वैशाखको तुलनामा राष्ट्रिय बीमा संस्थाको पोलिसी त्याग्नेको संख्या ४.५७ प्रतिशतले घटेको छ । यस्तै, सूर्या गुराँस लाइफको १८.७५ प्रतिशत, प्राइम लाइफको ६९.६१ प्रतिशत, यूनियन लाइफको ४४.४४ प्रतिशत, ज्योति लाइफको १७.५४ प्रतिशत, सानिमा लाइफको २६.०९ प्रतिशत र प्रभु लाइफको १३.६४ प्रतिशतले घटेको हो ।

बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवश्था सृजना हुने विज्ञहरूको भनाइ छ ।

उनीहरूका अनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणहरूमा बीमितलाई आर्थिक संकट पर्नु, अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्नु पनि हो ।

अभिकर्ताले विभिन्न खाले प्रलोभन देखाएर बीमालेख बिक्रि गर्ने प्रवृत्तिले गर्दा पनि बीमितले आफ्नो बीमालाई नवीरकण गर्न नसक्ने उनीहरूको तर्क छ । आफ्नो बीमालाई नविकरण गर्न नसके पछि बीमितले पोलिसी सरेण्डरको बाटो रोज्ने विज्ञहरूको भनाइ छ ।

ऐनमा बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष पूरा भए पछि बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै समितिले सरेण्डरमा नयाँ नियम लागू गरेको छ ।

समितिले जीवन बीमालेख सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो । समितिले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था छ । समितिले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेतिथि रोक्नका लागि भन्दै यस्तो व्यवस्था कायम गरेको थियो ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने छ ।


क्लिकमान्डु