जब श्रीलंकाली प्रदर्शनकारी राजापाक्षेको बेडमा सुते, किचेन पसेर खाना खाएर राष्ट्रपतिको अनुभव लिए…



बीबीसी । दक्षिण एशियाको टापु देश श्रीलंका आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । तर, शनिबार श्रीलंकामा के भयो त्यो लामो समयसम्म विश्व इतिहासमा एउटा यादका रुपमा भने रहिरहनेछ ।

श्रीलंकामा शनिबार केही घटना घटे । त्यसको पृष्ठभूमि महिनौं अघिदेखि नै तयार भइसकेको थियो । तर, राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवासमा आक्रोशित मानिस पस्नेछन् र आफूलाई मन लागेको गर्नेछन् भनेर सायद कसैले पनि कल्पना गरेका थिएनन् ।

उनीहरु राष्ट्रपति भवनमा प्रवेश मात्रै गरेनन् र तोडफोड समेत गरे । उनीहरुले प्रधानमन्त्रीको निजी निवासमा पनि आगो लगाए ।

यी सबै घटना शनिबार श्रीलंकामा भयो । शनिबार आम जनताले पनि राष्ट्रपतिको जीवन शैली पहिलो पटक अनुभव गरे । उनीहरुको दरबारमा कस्ता सुविधा छन ? भन्ने थाहा पाए । बीबीसी संवाददाता रञ्जन अरुण प्रसादले राष्ट्रपति भवनको भ्रमण गरेका थिए । बीबीसी हिन्दीमा प्रकाशित यो विवरणको हामीले भावानुवाद गरेका छौं ।

सम्वाददाताको आँखाले यस्तो देख्यो

यस्तो घटना श्रीलंकाको इतिहासमा पहिलो पटक भयो । जब सरकार र उनीहरुको नीतिहरूप्रति आक्रोशित मानिस राष्ट्रपति भवनमा प्रवेश गरे । राष्ट्रपति भवनमा मात्रै होइन, त्यहाँका हरेक कुना देखे । लगभग सबै कोठामा प्रवेश गरे । यो त्यही भवन हो, जुन केही घण्टाअघिसम्म सुरक्षाकर्मी र अंगरक्षकको निगरानीमा थियो ।

राष्ट्रपति भवनमा प्रवेश गरेका प्रदर्शनकारी आइतबार, जुन १० मा राष्ट्रपति गोताबाया राजापाक्षेको सरकारी निवासमा उपस्थित थिए । तर, यो राजभवनमा पहिलो पटक को को प्रवेश गरे ? उत्तर खोज्न गाह्रो थियो ।

भवनको भीमकाय मुख्य गेट पार गर्ने काम एक युवकले गरेको बताइएको छ । एक तमिल युवा सबैभन्दा पहिले माथि चढे र मुख्य गेट माथिबाट हामफाले । त्यसपछि भवनभित्र मानिसको भीड लागेको थियो ।

सरकार विरोधी प्रदर्शनकारी राष्ट्रपति गोताबाया राजापाक्षको कोलम्बोस्थित सरकारी निवासमा प्रवेशमात्रै गरेनन्, त्यहाँका चोटा कोठा पनि चहारे । आम जनताले राष्ट्रपति भवनको विलासिताको अनुभव गरे ।

सबै कुराको सुरक्षा गरिएको भवन शनिबार दिउँसो सर्वसाधारणको हातमा थियो । त्यसलाई मानिसले छोए र भवनभित्रका धेरै सामान देखे । सुरुमा क्रोधित भीडभित्र पसेपछि उनीहरुले सामान तोडफोड गर्न थाले ।

तर, भीडमा सबै प्रकारका मानिसहरू थिए । केही आन्दोलनकारी नेतृत्वविना नै आक्रोश पोख्न आएका थिए भने कोही संगठित थिए । कोही नेतृत्वमा पनि आएका थिए । तर, यसमा पनि विविधता थियो ।

बौद्ध भिक्षुहरूको नेतृत्वमा प्रदर्शनकारीको समूह आयो भने क्रिश्चियन मिसनरीले पनि नेतृत्व गरिरहेका थिए । त्यहाँ केही इस्लामिक समूह पनि थिए र केही विद्यार्थी पनि । उनीहरु आ आफ्नो समूहको नेतृत्व गरिरहेका थिए ।

तोडफोड गर्न रोक्दै आन्दोलनकारी

तीमध्ये केहीले तोडफोड गर्ने प्रदर्शनकारीलाई रोक्ने प्रयास पनि गरे । उनीहरूले गरिरहेको कार्यको निन्दा पनि गरे ।

उनले हिंसक प्रदर्शनकारीलाई यो कुरा बुझाएको देखिन्थ्यो । उनले राजभवनभित्रका चीजहरू सार्वजनिक सम्पत्ति भएको र त्यसलाई हानी नोक्सानी नगर्न आग्रह गरे ।

धर्मगुरु र नेताले प्रदर्शनकारीलाई राष्ट्रपति भवनका चीजहरू हेर्न, रमाइलो गर्न सल्लाह दिइरहेका थिए ।

त्यसपछि उनीहरू राजभवनबाट बाहिर निस्किए । ताकि अरूले पनि भित्र आएर राष्ट्रपति भवन हर्न र त्यहाँका सुविधाको आनन्द लिन सकून् भन्ने ध्येय राखिएको थियो ।

त्यसपछि धेरै प्रदर्शनकारी एक कोठाबाट अर्को कोठामा गए । प्रदर्शनकारीहरू राष्ट्रपति भवनको भान्साघरमा पनि पुगेका थिए । त्यहाँ जे खान पाइन्छ त्यही खाएका थिए ।

राष्ट्रपति भवनका सुविधा

एक दिन अगाडि नै राष्ट्रिय भवनमा तयार पारेको खाना हुनसक्छ । भान्साकोठामा जे खान वा पिउन उपयुक्त थियो, मानिसले त्यसलाई उठाए । प्रदर्शनकारीले राष्ट्रपति र उनको परिवारले प्रयोग गर्ने शौचालयको पनि प्रयोग गरेका थिए ।

शौचालयमा पनि एसी जडान भएको देखेर त्यहाँ उपस्थित धेरै मानिसहरु छक्क परे । त्यहाँ उपस्थित आन्दोलनकारीका लागि त्यहाँ एउटा ठूलो कोठा जत्तिकै ठूलो र सुविधाले भरिपूर्ण बाथरूम हेर्ने सपना थियो ।

भीडले राष्ट्रपति सुत्ने नरम गद्दाको अनुभूतिको आनन्द लिइरहेका थिए । केही प्रदर्शनकारी राष्ट्रपतिको कोठा भएको कोठामा पनि प्रवेश गरेका थिए । त्यहाँ रहेको अल्मारी खोलेर त्यहाँबाट राष्ट्रपतिको लुगा निकाले र लगाए ।

त्यहाँ उपस्थित व्यक्तिहरूको लागि यो एकदम नयाँ अनुभव थियो । उनीहरु त्यहाँ सबै चीजको प्रयोग गर्ने प्रयास गर्न चाहन्थे । मानिसहरु ओछ्यानको गद्दामा हाम फालेको देखिन्थ्यो ।

केही समयअघि राष्ट्रपति जुन ओछ्यानमा सुतेका थिए । त्यसको केही घण्टापछि त्यही नरम गद्दा अनुभव गर्ने मानिसको भीड लागेको थियो ।

राष्ट्रपति भवनभित्र रहेको स्विमिङ पुलमा मानिसहरु नुहाएर हाम फालेको देखियो । सार्वजनिक भएका तस्बिर हेर्दा त्यहाँ उपस्थित आन्दोलनकारीले त्यो पोखरीमा रमाइलो गरेको देखिन्छ ।

सुरक्षा हटाइयो

आन्दोलनकारीहरु संगठितरुपमा काम गरेको देखिन्थ्यो । प्रदर्शनकारी राष्ट्रपति भवन, त्यहाँका विलासी चीज र विलासी जीवन हेर्नको लागि सानो समूहमा भित्र बाहिर आउँदै थिए । एउटा समूह गएपछि अर्को समूह आउँदै थियो ।

केही घण्टाअघिसम्म सर्वसाधारणलाई जान नदिने भवनमा केही किलोमिटरसम्म सुरक्षाकर्मी तैनाथ गरिएको भवनमा शनिबार सडकमा तिलसमेत परेको थिएन ।

भीडको एकाग्रता यतिधेरै थियो कि पुलिस र सेनालाई राष्ट्रपति भवनबाट फिर्ता गरियो । उनीहरुलाई पनि यस्तो घटना होला भन्ने पत्याउनै गाह्रो भएको थियो ।

बीबीसीको टोली श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको घर पनि गएको थियो ।प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा शनिबार राति प्रदर्शनकारीले आगजनी गरेका थिए ।

प्रधानमन्त्रीको यो निजी निवास कोलम्बो ७ मा रहेको छ । यो शहरको सबैभन्दा उच्च घरानीयाहरुको आवासीय क्षेत्रहरू मध्ये एक हो ।

शुक्रबार साँझसम्म रनिल विक्रमासिंघे, उनकी श्रीमती र छोराछोरी त्यस घरमा रहेको बताइएको छ ।

तर, बेलुका उनको परिवार र कर्मचारीलाई सुरक्षित स्थानमा लगिएको थियो । घरभित्र कोही थिएनन् । त्यहाँ कुनै सुरक्षाकर्मी वा अंगरक्षक पनि भेटिएनन् । रनिल, उनको परिवार र कर्मचारीलाई गोप्य र सुरक्षित स्थानमा लगिएको बताइएको छ ।

नजिकबाट हेर्दा घरभित्र एउटा बीएमडब्लु कार र केही अन्य गाडीहरु देखिन्थे । ती सवारीसाधनमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए । घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भित्रका सामानहरु पनि खरानी भएको छ ।

मानिसहरू राष्ट्रपति भवन देखेर र यसको विलासिताको अनुभव गर्न पाउँदा खुसी भएका थिए । भित्र जान नपाएका धेरै प्रदर्शनकारी भित्रबाट आएकाहरूको अनुभव सुन्न उत्सुक थिए । शनिबार कतिपय ठाउँमा प्रदर्शनकारीले पटाका पड्काएर उत्सव मनाएका थिए ।

बीबीसी संवाददाता अन्बरासन इथिराजन शनिबार गाले सहरमा थिए । राति अबेरसम्म उत्सव भएको उनले बताएका छन् । मानिसले पटाका पड्काए र त्यसपछि धेरै मानिस घर फर्किए ।

श्रीलंकामा भएको विरोध प्रदर्शनमा संलग्न धेरैले शनिबार के भयो भने श्रीलंकामा नयाँ युगको सुरुवात भएको बताएका छन् ।

यो घटनाको करिब एक साताअघि राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघेको तस्बिर भाइरल भएको थियो । यो तस्बिरमा दुवै नेता संसदमा मुस्कुराउँदै देखिएका थिए ।

त्यो तस्बिरलाई उल्लेख गर्दै धेरैले आक्रोश पोखेका थिए । लाखौं मानिस एकैपटक खानाको लागि संघर्ष गरिरहेका बेला दुवै जना मुस्कुराउँदै गरेको देखिनु आफैमा व्यग्य गरे जस्तै लाग्थ्यो ।

शनिबार के भयो त्यो ऐतिहासिक हुन सक्छ । तर, पछिल्ला केही महिनादेखि जनता आक्रोशित भएका थिए । यसअघि अप्रिलमा पनि प्रदर्शनले हिंसात्मक रुप लिएपछि संकटकाल लगाइएको थियो ।

आन्दोलनकारीको मुख्य माग राष्ट्रपतिले राजीनामा दिनुपर्ने रहेको छ । तर, अप्रिल महिनामा तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्रीका रुपमा नियुक्त भएका थिए ।

तर, हिँजोको घटनाक्रमपछि साँझ अबेर उनले राजीनामा दिन तयार रहेको घोषणा गरेका थिए । उनले ट्विट गर्दै सर्वदलीय सरकार बनाउने र नागरिकको सुरक्षाको प्रत्याभूति होस् भनेर यो निर्णय गरेको बताएका छन् । बीबीसी हिन्दीबाट


क्लिकमान्डु