औद्योगिक उत्पादकत्व बढ्यो, उद्योगले १०० रुपैयाँ कमाउन ७२ रुपैयाँ लगानी गर्नुपर्ने



काठमाडौं । नेपालमा सञ्चालनमा रहेका उद्योगहरुको उत्पादकत्व बढेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको औद्योगिक सर्वेक्षण अनुसार ४ प्रतिशतले उत्पादकत्व बढेको छ ।

२०६९ सालको सर्वेमा लागत उत्पादन अनुपात ०.७५ प्रतिशत थियो । २०७६ सालको सर्वेमा लागत उत्पादन अनुपात ०.७३ मा आएको छ । यो भनेको २०६९ सालमा उद्योगहरुले एक सय रुपैयाँ कमाउनका लागि ७५ रुपैयाँ लगानी गर्नुपर्ने थियो । अहिले १०० रुपैयाँ कमाउनका लागि ७२ रुपैयाँ लगानी गर्नुपर्छ ।

२०६९ सालमा २ खर्ब ४१ अर्ब ७७ करोड रुपैयाँको लागत लगाएर ३ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँको उत्पादन गरेका थिए ।

२०७६ सालमा ६ खर्ब २५ अर्ब ७२ करोड बराबरको लगानी गरेर ८ खर्ब ६१ अर्ब ५ करोड मूल्य बराबरको उत्पादन गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति भरत आचार्य उद्योगहरु अटोमेशनमा गएको कारण उत्पादकत्व बढेको बताउँछन् ।

‘पहिला हाम्रा उद्योगहरु म्यानुअल प्रणालीमा चल्ने गरेका थिए, अहिले अटोमेशनमा गएको छ,’ आचार्यले भने ।

उद्योगहरुले मेसिनको प्रयोग बढाउदै लगेपछि काम गर्ने श्रमिकको संख्या समेत केही घटेको भने कामदारको दक्षता समेत बढेको छ ।

‘कामदारको क्षमता बढ्दा उत्पादकत्व बढ्न मद्दत पुगेको छ, यद्यपि हामीहरु छिमेकी देशहरुसँग प्रतिस्पर्धा गर्ने स्थितीमा छैनौं,’ आचार्यले थपे ।

उद्योगहरुमा खानीको उत्पादकत्व सबैभन्दा बढी छ । खानी उद्योगहरुमा १०० रुपैयाँ कमाउन २७ रुपैयाँ लगानी गरे पुग्छ । साथै, विद्युत् तथा ग्यास उद्योगमा १०० रुपैयाँ कमाउन ६८ रुपैयाँ लगानी गर्नुपर्छ । पानी तथा फोहर व्यवस्थापनमा ५४ रुपैयाँ लगानी गर्दा १०० रुपैयाँको आम्दानी हुन्छ ।

२०६९ सालको सर्वेमा नेपालमा सञ्चालित ठूला उद्योगहरुले अर्थतन्त्रमा ८० अर्ब ७८ करोड बराबरको मूल्य अभिवृद्धि गराउन सफल भएका थिए । अहिले २ खर्ब ३५ अर्ब ३३ करोड बराबरको मूल्यवृद्धि गरेको देखिएको छ । औसतमा करिब ३० प्रतिशतको मूल्यवृद्धि उद्योगहरुले गरेका छन् ।

सर्वेले उद्योग र श्रमिकबीचको सम्बन्ध सुधार हुँदै श्रमिक समस्या देखिन छाडेको देखाएको छ । विजुलीको उपलब्धताले उत्पादकत्व बढाउने समेत योगदान दिएको छ ।


क्लिकमान्डु