५ ट्रिलियन डलर बराबरको अर्थतन्त्र बनाउने भारतीय सपनामा व्यापारघाटा बाधक
एजेन्सी । भारत दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र भएको देश हो । भारतको प्रक्षेपण अनुसार भएको भए उसको अर्थतन्त्रको आकार ५ ट्रिलियन डलर बराबरको हुने थियो । तर, यसबीचमा कोरोनाले अर्थतन्त्र तहसनसह बनाइदियो ।
मानिसको रोजगारी खोसिए, व्यापार व्यवसाय बन्द भए । मानिसका चाहनामाथि अदृश्य भाइरसले गरेको आक्रमणसँगै अर्थतन्त्रमा समेत त्यसले प्रभाव पार्यो ।
भारतीयले भन्ने गरेको ‘मोदी मेनिया’ ले काम गरेन । किनकी, देखिने शत्रुसँग लड्न सकिन्छ, अदृश्य शत्रुसँग लड्न सकिदैन ।
भयो पनि त्यस्तै । त्यसो त भारतको निर्यातको तुलनामा आयातको मात्रा बढी छ । इन्धनको मात्रा मात्रै हेर्ने हो भने पनि ८० प्रतिशत बढी इन्धन भारतले विश्व बजारबाट ल्याइरहेको छ ।
साउदी अरब, इरान भारतको प्रमुख इन्धन आयातको गन्तव्य थियो । सन् २०२२ को फेब्रुअरी २४ पछि त्यसमा बदलाव आएको छ । बदलाव यसअर्थमा कि यूरोप र अमेरिकाले देखिने गरी रसियाको इन्धन लगेका छैनन् । तर, ओलीगार्कहरुमार्फत् निर्यात हुने इन्धनको परिमाणमा ४५ प्रतिशतको बृद्धि भएको छ ।
रसियालाई पनि के चाहियो, यसले खुल्लारुपमा भनिदियो– म चीन र भारतलाई सस्तोमा इन्धन उपलब्ध गराउँछु । जानकारहरुका अनुसार भारतले रसियबाट प्रतिव्यारेल ४० रुबलमा इन्धन ल्याइरहेको छ ।
तर, बजारमा त्यसको प्रभाव पर्न सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव भारतको अर्थतन्त्रमा समेत परेको छ । भारतमा आज प्रकाशित दि हिन्दुका अनुसार इन्धनलगायतको मूल्यमा परेको चापका कारण भारतको व्यापार घाटामा उल्लेख्य वृद्धि भएको छ ।
भारतको व्यापारघाटा लगातार बढिरहेको छ । व्यापार घाटाको अर्थ हो कि तपाईंलाई चाहिनेभन्दा बढी खरिद गरिरहनु भएको छ तर अन्य देशहरूले किन्न खोजिरहेका चिजहरू बनाइरहेका छैनन् ।
अर्थात् आयात बढी र निर्यात कम भइरहेको छ । यसको मतलब विदेशी मुद्रा सञ्चिति क्रमशः खाली हुँदै गएको छ । यो अर्थतन्त्रका लागि राम्रो संकेत होइन ।
अंग्रेजी पत्रिका द हिन्दूको मंगलबार प्रकाशित समाचार अनुसार जुन महिनामा भारतको निर्यात १६.८ प्रतिशतले बढेको छ भने आयात ५१ प्रतिशतले बढेको पाइएको छ ।
जुनमा भारतको व्यापारिक व्यापार घाटा २५.६३ अर्ब डलर पुगेको छ । जुन महिनामा भारतको आयात ५१ प्रतिशतले बढेर ६३.६ अर्ब डलर पुगेको छ । योसँगै भारतको निर्यात मात्रै १६.८ प्रतिशतले बढेको छ ।
गत महिना भारतको निर्यात करिब ३८ अर्ब डलरले बढेको थियो । भारतको कोइला आयात तीन गुणाले बढेको छ । योसँगै सुनको आयातमा १६९ प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड डलर नाघेको छ । पेट्रोलियम आयात पनि ९४.२ प्रतिशतले बढेको छ । यसले अर्थतन्त्रमा चर्को दबाव परेको छ । यद्यपि, भारतमा ठूलो हल्लाखल्ला भने भएको छैन ।
कोरोनाका कारण बन्द भएको व्यापार व्यवसायमा चलायनमान भएपछि संसारभर नै माल वस्तुको मागमा ४०० प्रतिशत बराबरको वृद्धि भएको छ । उत्पादक देशले त्यस अनुसारको सामान उपलब्ध गराउन सकेका छैनन् ।
भारतको संस्थापन पक्ष निकट मानिएको दि हिन्दुका अनुसार गैर पेट्रोलियम आयातको अंश ४२.८४ अर्ब डलर रहेकोमा ३६.४ प्रतिशतले बढेको छ । अर्कोतर्फ चाँदीलगायत महँगा धातुको आयात पनि ३१.७ प्रतिशतले बढेको छ ।
इक्राका प्रमुख अर्थशास्त्री अदिती नायरले द हिन्दुलाई बताए अनुसार सुनको आयातमा अपेक्षित कमी आए पनि व्यापारघाटा निराशाजनक छ ।
सन् २०२२–२३ को पहिलो त्रैमासिकमा चालू खाता घाटा दोब्बरले बढेर ३० अर्ब डलर पुगेको छ । अघिल्लो त्रैमासिकमा यो घाटा १३ अर्ब डलर बराबर थियो । भारतका शीर्ष १० निर्यात गर्ने उत्पादनमा पनि उल्लेख्य गिरावट आएको छ ।
गत वर्ष निकासीमा इन्जिनियरिङ सामानको सबैभन्दा महत्वपूर्ण योगदान थियो र १.६ प्रतिशतले घटेको थियो । औषधि र औषधि उत्पादनको निर्यात पनि १.३ प्रतिशतले घटेको छ । कपास र ह्यान्डलुम उत्पादनको निर्यात २२.५ प्रतिशतले घटेको छ । योसँगै प्लास्टिक र लिनोलियमको निर्यात पनि २३.२ प्रतिशतले घटेको छ ।
रेटिङ फर्म इक्राका प्रमुख अर्थशास्त्री अदिति नायरले द हिन्दूलाई दिएको जानकारी अनुसार सन् २०२१ मा सुनको आयातमा भएको वृद्धि सन् २०२० मा दबिएको मागका कारण भएको हो ।
‘हामी यो क्यालेन्डर वर्षमा ३० देखि ३५ बिलियनमा सीमित हुने आशा गरेका छौं । कोरोनाको तेस्रो लहर र यससँग सम्बन्धित बन्देजका कारण सुनको माग घटेको हो,’ उनले भनिन् ।
सुनको आयातमा आएको कमीका कारण व्यापार घाटा विगत पाँच महिनायताकै न्यून स्तरमा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । तर अहिले सुनको माग फेरि बढेको छ ।
वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार भारतको सेवा क्षेत्रको निर्यात जनवरीमा २६.९१ अर्ब डलर रहेको थियो ।
जुनमा गत वर्षको तुलनामा ५५ प्रतिशत र जनवरी २०२० को तुलनामा ४६.६ प्रतिशतले बढी थियो । सेवा क्षेत्रको निर्यात १५.८ बिलियन डलरबाट वार्षिक ६०.३ प्रतिशतले बढेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अर्थतन्त्रको आकार पाँच ट्रिलियन डलरको हुनेमा आकांक्षा राखेका छन् ।
हाल जापान ४.९७ ट्रिलियन डलरसहित तेस्रो र जर्मनी ३.९९ ट्रिलियन डलरसहित चौथो नम्बरमा छ । मोदीको पाँच ट्रिलियन डलरको सपना पूरा भयो भने भारत तेस्रो नम्बरमा आउनेछ तर यो त्यति सजिलो भने छैन । भारत हाल २.७३ ट्रिलियन डलरको साथ छैटौं नम्बरमा छ ।