मुकेश अम्बानीले यसरी व्यापारिक साम्राज्यमा ल्याए छोरा छोरीलाई



एजेन्सी । विश्वका धनी व्यवसायीका रुपमा परिचित मुकेश अम्बानीले क्रमशः आफ्ना छोरा छोरीलाई व्यापारिक क्षेत्रमा उतारेका छन् । उनले क्रमशः व्यवसाय बिस्तारका लागि नयाँ पुस्तालाई अग्रसर गराउने, उनीहरुलाई सक्षम बनाउने र युवा पिँढीलाई व्यवसायमा आर्कषित गर्ने लक्ष्यका साथ काम शुरु गरेका छन् ।

सोही क्रममा उनले ३० वर्षीय आकाश अम्बानीलाई रिलायन्स जिओको कमाण्ड सुम्पेका छन् । आफूले मात्रै व्यवसाय गरेर हुँदैन, युवालाई पनि व्यवसायमा ल्याउनुपर्छ । त्यसका लागि युवा नै त्यसमा जोडिनुपर्छ । लाखौं युवाको प्रेरणा बन्नुपर्छ र सकेसम्म धेरै भन्दा धेरैलाई व्यवसायमा ल्याउन पनि यसो गर्नुपर्छ भन्ने मान्यता राखेका मुकेशले त्यसको शुरुवात ३० वर्षीय छोरामार्फत् गराएका छन् ।

कुनै पनि क्षेत्रमा दोस्रो, तेस्रो र चौथो पुस्ता तयार पार्नुपर्छ, उनीहरुलाई क्रमशः नेतृत्व दिनुपर्छ भन्ने मान्यताका साथ काम गर्नुपर्ने उनको भनाइ छ । ६५ वर्षीय मुकेशले सो कम्पनीको निर्देशक पदबाट राजीनामा दिए । र, रिलायन्समा उत्तराधिकारको प्रक्रिया तीव्र पारेका छन् ।

अम्बानीले आफ्नो साम्राज्य अर्को पुस्तालाई हस्तान्तरण गर्ने योजनामा काम गरिरहेका छन् । पिता धीरुभाई अम्बानीको मृत्युपछि दाजु अनिलबीचको जस्तै हिस्सेदारीलाई लिएर छोरा छोरीबीच विवाद नहोस् भन्ने उनी चाहन्छन् ।

यस्तो अवस्थामा सोमबार मुकेश अम्बानीले जियो इन्फोकम लिमिटेडको निर्देशक पदबाट राजीनामा दिएका छन् । रिलायन्स जियोको बोर्डले उनका छोरा आकाश अम्बानीलाई बोर्डको अध्यक्षको रूपमा नियुक्त गरेको छ ।

यसअघि आकाश अम्बानी बोर्डमा गैर–कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए । पंकज मोहन पवारले कम्पनीको प्रबन्ध निर्देशक (एमडी) को पदभार ग्रहण गर्नेछन् ।

सञ्चालक समितिको यही जुन २७ को बैठकले यी निर्णय गरेको हो । कम्पनीको अतिरिक्त सञ्चालकमा रामिन्दर सिंह गुजराल र केभी चौधरीको नियुक्तिलाई पनि बोर्डले अनुमोदन गरेको छ । यी नियुक्तिहरू २७ जुन २०२२ देखि ५ वर्षका लागि गरिएको छ ।

रिलायन्स जियोमा, आकाश अम्बानी उत्पादन र डिजिटल सेवाहरूको अनुप्रयोग विकाससँग नजिकबाट आबद्ध छन् । त्यसको इकोसिस्टम निर्माण गर्ने श्रेय आकाश अम्बानीलाई जान्छ । २०२० मा, विश्वभरका ठूला टेक कम्पनीहरूले जियोमा लगानी गरेका थिए ।

आकाशले पनि भारतमा विश्वका विभिन्न कम्पनीको लगानी ल्याउन कडा मेहनत गरेका थिए । बजार विज्ञ प्रकाश देवानले आकाश अम्बानीलाई कमाण्ड हस्तान्तरण गर्ने निर्णयलाई रिलायन्सको व्यवसायको लागि ठूलो कदम भएको बताए । कम्पनीको आइपीओ योजनाअन्तर्गत यो कदम चालिएको उनले बताए ।

व्यापार मोडेल पनि पहिले बजार होल्ड गर्नुहोस्, त्यसपछि कमाउनुहोस् भन्ने रणनीतिमा आधारित छ ।

सन् २०१६ मा जियो लन्च हुँदा भारतको टेलिकम बजार प्रतिस्पर्धाले भरिएको थियो । ८ वटा कम्पनी भए पनि प्रयोगकर्ताले १ मिनेट कलको औसत ५८ पैसा तिर्नुपर्ने थियो । जियोले सबैभन्दा पहिले बजारमा कब्जा गर्ने निर्णय गरेको थियो ।

यसको सुरुवाती दिनहरूमा, धेरै कम लागतमा असीमित डाटा र उच्च गुणस्तरको कलिङ सेवा प्रदान गरेको थियो । यो रणनीतिले अन्य टेलिकम अपरेटरहरूलाई पनि आफ्नो व्यापार मोडेल परिवर्तन गर्न बाध्य तुल्यायो । यसमा एयरटेल, आइडिया र भोडाफोन समावेश थिए ।

रिलायन्स इन्डस्ट्रिजको आधार धीरुभाई अम्बानीले राखेका थिए । उनको जन्म २८ डिसेम्बर १९३३ जुनागढ जिल्लामा भएको थियो । धीरुभाईको पूरा नाम धीरजलाल हीराचन्द अम्बानी हो ।

व्यवसायमा प्रवेश गर्दा उनीसँग न पैतृक सम्पत्ति थियो न बैंक ब्यालेन्स । धीरुभाईको विवाह कोकिलाबेनसँग सन् १९५५ मा भएको थियो ।

उनीहरुका दुई छोरा मुकेश–अनिल र दुई छोरी दीप्ती र नीना छन् । ६ जुलाई २००२ मा धीरुभाईको मृत्यु पछि, उनकी पत्नी कोकिलाबेनले उनको सम्पत्ति बाँडफाँडमा मुख्य भूमिका खेलिन् ।

आकाश अम्बानीले २०१४ मा ब्राउन विश्वविद्यालयबाट अर्थशास्त्र मा डिग्री लिए । त्यसपछि उनी पारिवारिक व्यवसायमा लागे । उनी विभिन्न कम्पनीको बोर्डमा छद्धन् । सन् २०१९ मा उनले श्लोका मेहतासँग विवाह गरेका छन् ।

ईशा अम्बानीले येल र स्ट्यानफोर्डमा अध्ययन गरेकी हुन् । २०१५ देखि उनी पारिवारिक व्यवसायमा सामेल भइन् । ईशाले डिसेम्बर २०१८ मा व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलसँग विवाह गरेकी छिन् ।

अनन्त अम्बानीले अमेरिकाको ब्राउन विश्वविद्यालयबाट अध्ययन गरेका छन् र उनी समूहका विभिन्न व्यवसायमा जोडिएका छन् ।

धीरुभाई अम्बानीको जन्मदिनको कुनै एक अवसरमा मुकेशले भनेका थिए, ‘ युवा पुस्ता अब नेतृत्वको भूमिका लिन तयार छ । अब म उत्तराधिकारको प्रक्रियालाई गति दिन चाहन्छु । नयाँ पुस्तालाई मार्गदर्शन गर्नुपर्छ । तिनीहरू सक्षम हुनुपर्छ ।उनीहरूलाई प्रोत्साहन दिनुपर्छ र बसेर ताली बजाउनुपर्छ ।’

मुकेश अम्बानीले थप भनेका थिए, ‘म हरेक दिन रिलायन्सप्रति बालबालिकाको जोश, प्रतिबद्धता र समर्पण देख्न र महसुस गर्न सक्छु । म उनीहरुमा उही आगो र क्षमता देख्छु जुन मेरो बुबाले लाखौंको जीवन परिवर्तन गर्न र भारतको विकासमा योगदान दिनु भएको थियो । यो विशाल अवसरको सदुपयोग गर्ने र रिलायन्सको भविष्यको विकासको लागि जग बसाउने समय आएको छ ।

उनले भनेका थिए, ‘रिलायन्स कपडा कम्पनीको रुपमा सुरु भएको थियो । अहिले हामी धेरै व्यवसायमा संलग्न छौं । यसको तेलदेखि केमिकल कम्पनी अहिले रिटेल, टेलिकम, ई–कमर्स जस्ता क्षेत्रमा नम्बर एक छ । हामीले हाम्रो ऊर्जा व्यवसायलाई पनि पूर्ण रूपमा परिमार्जन गरेका छौं, अब रिलायन्स स्वच्छ र हरियो ऊर्जा र सामग्रीमा विश्वव्यापी नेता बन्न तयार छ ।

त्यस्तै, रिलायन्स रिटेलको कमाण्ड इशाले सम्हालेकी छिन् । रिलायन्स रिटेलमा महत्वपूर्ण परिवर्तन हुनेछ । अम्बानीकी छोरी ईशा रिटेल व्यवसायको अध्यक्ष बन्ने क्रम शुरु भएको छ ।

ब्लूमबर्गको एक रिपोर्टमा यो दाबी गरिएको छ । दुई दिनअघि जुन २७ मा जियोको बोर्ड बैठकमा आकाश अम्बानीलाई जियो इन्फोकम लिमिटेडको बोर्डले अध्यक्ष नियुक्त गरेको थियो । यी नियुक्तिहरूबाट यो स्पष्ट छ कि मुकेश अम्बानीले अब आफ्नो साम्राज्य अर्को पुस्तालाई हस्तान्तरण गर्ने योजनामा द्रुत गतिमा काम गरिरहेका छन् ।

आफ्नो रिपोर्टमा ब्लूमबर्गले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै लेखेको छ, ’इशा अम्बानीको अध्यक्ष बन्ने घोषणा बुधबार हुन सक्छ । ईशा हाल रिलायन्स रिटेल भेन्चर्स लिमिटेडकी निर्देशक छिन् । ईशाले येल र स्ट्यानफोर्डमा अध्ययन गरेकी थिइन् । भारतको खुद्रा बजार करिब ९०० अर्ब डलरको छ ।

रिलायन्स रिटेल र रिलायन्स जियो दुबै रिलायन्स इंडस्ट्रीज लिमिटेडका सहायक कम्पनी हुन । अम्बानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष र प्रबन्ध निर्देशक हुन । भारतको खुद्रा बजार करिब ९०० अर्ब डलर (लगभग ७० लाख करोड भारु बराबर छ ।

यो सन् २०२४ सम्ममा १.३ ट्रिलियन डलर (लगभग रु १०० लाख करोड) हुने अपेक्षा गरिएको छ । यही कारणले गर्दा रिलायन्सले भारतको रिटेल अनलाइन बजारसँगै अधिकतम अफलाइन बजार कब्जा गर्न चाहन्छ र यही बाटोमा अगाडि बढिरहेको छ ।


क्लिकमान्डु