मर्जरपछि सूर्या र ज्योति लाइफको पुँजी करिब ५ अर्ब पुग्ने, यस्तो बन्ने छ नयाँ कम्पनी



काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरूमा मर्जरको सम्झौता भइरहेको छ । बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने निर्णय लिन थालेका हुन् ।

एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दबाब दिने रणनीति बीमा समितिले बनाएको छ ।

समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको क्रस होल्डिङको बारेमा अध्ययन गरेको थियो । अध्ययनको तथ्यांक तयार पारेको समितिले क्रस होल्डिङ हटाउन निर्देशन दिएको थियो ।

क्रस होल्डिङ हटाउन निर्देशन दिएका कम्पनीमध्ये सूर्या र ज्योति पनि हुन् । समितिले क्रस होल्डिङलाई हटाउनु पर्ने र नहटाए मर्जरमा जान आदेश दिनसक्ने गरी निर्देशन जारी गरेको थियो ।

समितिले पुँजी वृद्धिको निर्देशन दिएपछि हालसम्म ७ बीमा कम्पनीले मर्जरमा जाने सम्झौता गरेका छन् ।

वैशाख २२ गते दुई निर्जीवन बीमा कम्पनी हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले समितिले तोकिदिएको साढे २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन एक आपसमा गाभ्ने÷गाभिने सहमति गरेका थिए ।

त्यसको एक हप्ता नबित्दै ३ जीवन बीमा कम्पनीले मर्जरको सम्झौता गरे । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए ।

यस्तै, असार १२ गते ज्योति लाइफ र सूर्या लाइफबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा दुबै कम्पनीका सञ्चालक समिति अध्यक्षले हस्ताक्षर गरेका हुन् । दुबै कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरू लगायत विभागिय प्रमुखहरुको उपस्थितिमा मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मर्जर गर्ने सम्बन्धमा सैद्दान्तिक सहमतिका लागि सम्झौतापत्रसहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्रप्राप्त भएसँगै डीडीएलगायत मर्जर सम्बन्धी अन्य कार्यहरू दु्रत गतिमा अगाडि बढाइने कम्पनीहरूले जानकारी दिएका छन् ।

बीमा समितिबाट निर्देशित पुँजी वृद्धि गर्नुपर्ने समय सीमाभित्रै चुक्ता पुँजी वृद्धि गरी बीमा समितिले लिएको लक्ष्यलाई पूरा गर्ने कम्पनीहरूको भनाइ छ ।

चुक्ता पुँजी वृद्धि गरी बीमकहरूको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने कम्पनीहरूले बताएका छन् । र, मर्जर सम्पन्न भए पश्चात कम्पनीका सेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाई लाभ हुने विश्वास दुबै कम्पनीहरूले लिएका छ ।

स्वाप रेसियो कम्पनीको डीडीएपछि तय हुने कम्पनीहरूले बताएका छन् ।

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स यदि एक बराबर एकको अनुपातमा गाभिने हो भने नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता पुँजी करिब ५ अर्ब रूपैयाँ पुग्ने छ । अर्थात् संयुक्त चुक्ता पुँजी ४ अर्ब ९७ करोड २ लाख ८२ हजार रूपैयाँ पुग्ने छ ।

तर, कुन अनुपातमा मर्ज हुने लगायतका प्राविधिक विषय अध्ययनपछि मात्रै टुङ्गो लाग्ने कम्पनीहरूको भनाइ छ ।
मर्जरको सम्झौता गरेका यी २ कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी सूर्या लाइफको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार रूपैयाँ छ ।

सोही अवधिसम्ममा ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रूपैयाँ छ ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको जीवन बीमा कोषको आकार १९ अर्ब १ करोड ७७ लाख १५ हजार रूपैयाँ पुग्ने छ ।

२ कम्पनीमध्ये ठूलो बीमा कोष भएको कम्पनी पनि सूर्या लाइफ नै हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अवधिमा आइपुग्दा सूर्या लाइफ इन्स्योरेन्सकोे जीवन बीमा कोषमा १३ अर्ब ३५ करोड ५८ लाख ८८ हजार रूपैयाँ छ ।

ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ५ अर्ब ६६ करोड ८ लाख ४७ हजार रूपैयाँ छ ।

यी कम्पनी एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको जगेडा कोषको आकार २ अर्ब १४ करोड ६४ लाख ८२ हजार रूपैयाँ पुग्ने छ ।

तेस्रो त्रैमाससम्मको अवधिमा सूर्या लाइफको जगेडा कोषमा ५९ करोड ४६ लाख ८७ हजार रूपैयाँ र ज्योति लाइफको ५६ करोड ६८ लाख ४७ हजार रूपैयाँ रहेको छ ।

चालु आवको ९ महिनामा सूर्या लाइफले १५ करोड ६ लाख ९५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । चैत मसान्तसम्ममा ज्योति लाइफले २० करोड ६५ लाख ९ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

सूर्या लाइफले ३ अर्ब ५८ करोड ३६ लाख ४४ हजार रूपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु