पाकिस्तानको अर्थतन्त्र सुधार गर्न चीन अग्रसर, झण्डै ३ खर्ब बराबरको ऋण सहयोग



एजेन्सी । आर्थिक संकटको डिलमा पुगेको पाकिस्तानको उद्दारमा चीन अगाडि सरेको छ । तर, अर्बौं डलर लगानी गरेको सोही चीन भने श्रीलंकाको उद्दारमा कुनै चासो देखाएको छैन ।

पाकिस्तान सरकारले आग्रह गर्ने बित्तिकै निजी क्षेत्रसँग नै भएपनि मिलेर ऋण दिन तयार भएको र सहयोगका लागि हात बढाउन अग्रसर चीन सरकार श्रीलंकासँग भने कुनै रुपमा अग्रसर देखिएको छैन ।

पाकिस्तानी अर्थमनत्री मिफ्ताह इस्माइलले चीन सरकारबाट प्राप्त भएको पछिल्लो सहयोगको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

पाकिस्तानी निजी क्षेत्र र चिनियाँ बैंकको सहवित्तीयकरण योजना अन्तर्गत २.३ विलियन डलर अर्थात् २ खर्ब ८६ अर्ब ३३ करोड ४५ लाख ९० हजार बराबरको सहयोग एक दिन भित्रै पाकिस्तानी बैंकिङ प्रणालीमा उपलब्ध गराउने सम्झौता भएको छ ।

विदेशी मुद्राको भण्डार संकटमा परेको बेला एकैपटक ठूलो परिमाणमा अमेरिकी डलर भित्रेपछि पाकिस्तानको बैंकिङ प्रणालीमा तरलता सहज हुनेछ ।

पाकिस्तानले आर्थिक संकट बढ्दै गएपछि आफ्ना नागरिकलाई चियाको सेवन घटाउन आग्रह गरिसकेको छ । एक कप चिया जोगाउँदा पनि ठूलो मात्रामा अमेरिकी डलर जोगिने सरकारको विश्वास छ ।

अर्थमन्त्री मिफ्ताह इस्माइलले बुधबार मात्रै चीन र पाकिस्तानका बैंकबीचको सहवित्तीयकरणमा २.३ बिलियन डलर बराबरको ऋण सुविधा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका थिए । उनले त्यो रकम बिहिबारसम्म नै पाकिस्तानको बैंकिङ प्रणालीमा उपलब्ध हुने जनाएका थिए ।

पाकिस्तानी पक्षबाट ऋण सम्झौतामा हस्ताक्षर भएको मन्त्रीले ट्वीटरमार्फत् जानकारी दिएका थिए ।

‘यस लेनदेनलाई सहजीकरण गरेकोमा चिनियाँ सरकारलाई धन्यवाद दिन्छौं,’ अर्थमन्त्री इस्माइलले भनेका छन् ।
विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि चिनियाँ नेतृत्वप्रति आभार व्यक्त गरेका छन् ।

‘पाकिस्तानका जनता हाम्रा सबै मित्रको निरन्तर समर्थनका लागि कृतज्ञ छन्,’ उनले भनेका छन् ।

यस महिनाको सुरुमा नै पाकिस्तानी अर्थमन्त्रीले सुसमाचार साझा गरेका थिए । उनले चिनियाँ बैंकहरूले निक्षेप पुनर्वित्तका लागि पाकिस्तान सरकारको तर्फबाट प्रस्तुत भएको योजनामा सहमत भएका थिए । त्यस समयमा, उनले सो ऋणले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या समाधानका लागि सहयोग गर्ने बताएका थिए ।

जुन २ मा, एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इस्माइलले भनेका थिए कि चीनले मार्च २५ मा केही शर्त राखेको भएपनि त्यसमा निरन्तरको सम्वादपछि एउटा सहमति कायम भएको थियो । तर, विदेशमन्त्री बिलावल भुट्टो–जरदारीको भ्रमण र प्रधानमन्त्री शेहबाज सरिफले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग गरेको छलफलपछि चिनियाँ पक्षले रकम जम्मा गर्न सहमति जनाएका थिए ।

पहिलेको २.५ प्रतिशत भन्दा पनि कम अर्थात् १.५ प्रतिशत ब्याजदरमा सांघाई इन्टरनेशन बैंक प्रस्तावित दरमा ऋण दिन तयार भएको चिनियाँ पक्षको धारणा सार्वजनिक भएको थियो ।

तर, अर्थमन्त्री इस्माइलले कन्सोर्टियम सम्झौताको बारेमा थप विस्तार गरेका छैनन् ।

पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सम्झौता गरेको विवरण सार्वजनिक भएपछि पछिल्लो घटनाक्रम विकास भएको हो । यसले पाकिस्तानको घट्दो नगद भण्डारलाई पनि सहज बनाउनेछ । पाकिस्तानको केन्द्रीय बैंकका अनुसार विदेशी मुद्रा मात्रै ८.९९ बिलियन डलर मात्रै छ ।

यसअघि, मन्त्रीले आईएमएफसँगको सम्झौताले अन्य बहुपक्षीय संस्थाहरूबाट ऋण लिनको लागि मार्ग प्रशस्त गर्ने बताएका थिए । चीनले पनि कुनै पनि ऋणलाई आईएमएफ कार्यक्रमको पुनरुत्थानसँग जोडेको थियो ।


क्लिकमान्डु