तेस्रो पुस्तालाई जोड्दै नेपाल बैंक, वित्तीय साक्षरता अभियानबाटै खोल्यो १० हजार नयाँ खाता 



काठमाडौं । आठ दशकअघि मुलुकमा उद्योग व्यवसाय सञ्चालन गर्न आम मानिसलाई सहज थिएन । राणाको चौघेरामा मुलुकको उद्योग व्यवसाय चलिरहेको थियो ।

त्यही बेला राणा शासकले मुलुकमा बैंक चाहिने महसुस गरे र १९९४ कात्तिक ३० ‘नेपाल बैंक’को स्थापना भयो । 

नेपाल बैंक मुलुकको सबैभन्दा पुरानो बैंक हो । त्यसैले त आज ‘हजुरबाको बैंक’ भनेर चिनिन्छ । हजुरबाको पालामा स्थापना भएको बैंकले आज भने खुला अर्थतन्त्रमा आएका निजी बैंकसँग तीव्र प्रतिस्पर्धा गर्नु परेको छ । 

धेरैलाई लाग्छ अन्य सरकारी पारा जस्तै नेपाल बैंक पनि ढिलासुस्ती होला । तर, सरकारी ढिलासुस्तीको परिचयलाई परिवर्तन गरिदिएको नेपाल बैंकले । प्रविधियुक्त निजी बैंकसँगको प्रतिस्पर्धामा नेपाल बैंक पछि परेको छैन ।

पछिल्लो दशकमा नेपाल बैंकले आफूलाई समयानुकल परिवर्तन गर्दै गएको छ । नयाँ प्रविधिको प्रयोग र त्यसलाई सञ्चालन गर्ने नयाँ कर्मचारीले पुरानो बैंकलाई नयाँ ऊर्जा थपेका छन् । 

२०६१ साल अघिका कर्मचारी सबैले अवकाश पाइसकेका छन् । नयाँ भर्ना भएका कर्मचारीको काँधमा बैंक छ । जसको औसत उमेर नै ३४ वर्ष छ । नयाँ पुस्ताका यी कर्मचारीले बैंकलाई नयाँ उचाइमा पुर्‍याउन विभिन्न योजनाहरु पस्किरहेका छन् । 

२०६१ सालपछि भर्ना भएका कर्मचारीले बैंकिङलाई युवाले सञ्चालन गरेको बैंकका रुपमा चिनाएको नेपाल बैंकका बजार व्यवस्थापन तथा अनुसन्धान विभागका प्रमुख अर्जुनबहादुर कंडेलले बताए । जसले गर्दा बैंकले प्रविधिमा अगाडि बढाउन सजिलो भएको छ । 

हजुरबुवा र हजुरआमाको बैंकको परिचय फेर्न बैंकले यो वर्ष वित्तीय साक्षरताको कार्यक्रमलाई नयाँ ढंग अगाडि बढाएका छन् । बैंकले अहिले युवापुस्तालाई केन्द्रित गरेर वित्तीय साक्षरता कार्यक्रम ल्याएको छ । जसमा विद्यालयदेखि कलेजसम्मका विद्यार्थी पर्छन् । 

बैंकले विद्यार्थीलाई केन्द्रित गरेर शुभज्ञान बचत खाता सञ्चालनमा ल्याएको छ । यो खाता अन्तर्गत बैंकले नेपाल टेलिकमको सिम उपलब्ध गराउँछ ।  

‘यो सिम प्रयोग गरेर नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाएमा डाटा शुल्क लाग्दैन । यसले विद्यार्थीलाई क्यासलेस काम गर्नको लागि प्रवर्द्धन हुन्छ,’ कंडेलले भने । 

योजना अन्तर्गत नेपाल बैंकको मोबाइल एप चलाउँदा डाटा निःशुल्क चलाउनको लागि बैंकले नेपाल टेलिकमसँग सम्झौता गरेको छ । 

‘एप डाउनलोड गरे पनि इन्टरनेट चलाउँदा पैसा लाग्ने कारण मोबाइल बैंकिङ नचलाउने अवस्थालाई हटाउनको लागि निःशुल्क डाटा दिन लागिएको हो । यो प्रभावकारी हुने विश्वास बैंकको छ,’ कंडेलले थपे । 

योजनामा बैंकले २ वर्षसम्म डिम्याट शुल्क नलाग्ने तथा एक महिनाको लागि १० वटा एसएमएस र १० मिनेट कल समेत निःशुल्क दिन्छ ।

हजुरबुवा र हजुरआमाको बैंक भन्ने युवा पुस्तालाई नै पहिलो ग्राहक बनाएर बैंकले आफ्नो इमेजलाई परिवर्तन गर्ने दाबी कंडेलको छ । 

बैंकले पछिल्लो एकवर्षमा हासिल गरेको अर्को उपलब्धी भनेको वित्तीय साक्षरताको कार्यक्रमबाट खोलेको १० हजार नयाँ खाता हो । बैंकले यो वर्षलाई वित्तीय साक्षरता कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेको छ । जुन आगामी वर्षमा समेत हुने छ । 

वित्तीय साक्षरता कर्णालीदेखि काठमाडौंमा काम गर्ने डाक्टरलाई समेत चाहिने कार्यक्रम हो । ‘बैंकले कर्णालीको दुर्गमदेखि काठमाडौंमा काम गर्ने डाक्टरलाई समेत केन्द्रित गरेर कार्यक्रम सञ्चालन गरेको छ,’ कंडेलले भने, यो कार्यक्रम ठाउँ अनुसार फरक फरक तरिकाले सञ्चालन भइरहेको छ ।’

एकजना डाक्टरले वित्तीय साक्षरता नबुझेको कारण कमाएको पैसालाई बचत गर्न नसक्ने जानकारी दिएको हुँदा साक्षरताको कार्यक्रम ठाउँ अनुसार फरक फरक ढंगले बैंकले चलाउने जानकारी उनले दिए । 

 बढी पैसा कमाउनेको लागि बचतदेखि सेयर बजार तथा डिबेन्चर तथा बीमाको सम्मको जानकारी वित्तीय साक्षरतामा दिनुपर्ने हुन्छ । जसको बैंकमा पहुँच नै छैन उसको लागि पहिलो चरणमा बैंकमा खाता खोल्नेबाट वित्तीय साक्षरता दिनुपर्ने हुन्छ । 

बैंकले १५ हजारभन्दा बढीलाई वित्तीय साक्षरता कार्यक्रम चलाएको र यसबाट बैंकले १० हजार नयाँ खाता खोल्न सकेको छ । यो वर्ष वित्तीय साक्षरता कार्यक्रम २ सय स्थानमा सञ्चालन गरिएको थियो । बैंकले वित्तीय साक्षरतालाई प्रभावकारी सञ्चालन गर्नको लागि आर्थिक सम्बृद्धिका लागि वित्तीय साक्षरता भन्ने पुस्तक समेत निकालेको छ ।


क्लिकमान्डु