बैंकहरुको खराब कर्जा बढ्ने, निर्माण व्यवसायीको किस्ता उठ्न छाड्यो



काठमाडौं । चालु आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा बढ्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले दिएको सहुलियत र ब्याजदर समेत बढेको कारण खराब कर्जा बढ्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक सञ्चालक समिति अध्यक्ष तथा अडिट कमिटिको संयोजकलाई बोलाएर वित्तीय विवरण वास्तविक ल्याउन सुझाव दिएका थिए ।

गभर्नरले बैंक अध्यक्ष र अडिट कमिटिको संयोजकलाई बोलाएको केही दिनपछि राष्ट्र बैंकले बैंकका सीइओहरुलाई बोलाएर वास्तविक रुपमा ब्यालेन्ससिट छाप्न निर्देशन दिएको थियो ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा ऋणयोग्य रकमको कमी भएको कारण यो वर्ष ऋण तिर्नका लागि ऋण दिने सम्भावना छैन । अघिल्ला वर्षहरुमा असार मसान्तमा ऋण लिएर किस्ता तथा ब्याज तिर्ने प्रवृति यो वर्ष दोहरिने सम्भावना नरहेको बैंकरहरु बताउँछन् ।

‘राष्ट्र बैंकको निर्देशन तथा बैंकमा देखिएको तरलता अभाव र ब्याजदर वृद्धिले यो पटक खराब कर्जा बढ्ने सम्भावना देखिएको छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार औसतमा खराब कर्जा १.२६ प्रतिशत छ । केही बैंकहरुको खराब कर्जा चैत मसान्तमा नै बढेको थियो । असार मसान्तको वित्तीय विवरण प्रकाशित हुने बेला खराब कर्जा २ प्रतिशत बिन्दु हाराहारी पुग्ने अनुमान बैंकरको रहेको छ ।
‘राष्ट्र बैंकले पछिल्ला केही दिनहरुमा प्रोभिजन गर्न भनेको तथा ब्यालेन्ससिटमा कडाइ गर्ने हुँदा खराब कर्जा बढ्ने पक्का छ,’ एक बैंकका सीइओले भने ।

बैंकरहरु यो वर्षकाजसमा सबैभन्दा बढी सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक ३.०७ प्रतिशत छ भने सबैभन्दा कम नेपाल एसबिआई बैंकको ०.१४ प्रतिशत छ ।

११ वटा बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ भने १ प्रतिशतभन्दा बढी रहने बैंकको संख्या १६ छ ।

नेपाली बैंकहरुले खराब कर्जा लुकाउने गरेको आरोप जहिले पनि लाग्दै आएको छ । दक्षिण एशियामा सबैभन्दा कम खराब कर्जा हुनेमा नेपालका बैंकहरु पर्छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपाली बैंकहरुले खराब कर्जा लुकाएको तथा ‘इभरग्रिनिङ’ गरेको बताउने गरेको छ । बैंकरहरु भने दक्षिण एशियाका अन्य देशमा प्रोजेक्ट फाइनान्स हुने भएको र नेपाली बैंकहरुले धितोमा आधारित ऋण दिने हुँदा तुलना गर्न नमिल्ने बताउँदै आएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाख मसान्तसम्म ४७ खर्ब २४ अर्ब रुपैयाँ ऋणमा ६६.८५ प्रतिशत हिस्सा घरजग्गा धितोमा ऋण दिएका छन् । ३१ अर्ब ५८ अर्ब रुपैयाँ ऋण घरजग्गा धितोमा गएको छ । घरजग्गा धितोमा नै ऋण गएको भएपनि तरलता अभावको कारण लिलामीमा लगेको धितो बिक्री नहुँदा खराब कर्जा बढ्ने सम्भावना देखिएको हो ।

नेपाल बैकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बैंकहरुको खराब कर्जा बढ्ने देखिएको बताउँछन् ।

‘८ प्रतिशत ब्याजदरमा लिएको ऋण १२ देखि १३ प्रतिशतसम्म पुग्न लागेको छ, यसले नियमित आम्दानी हुनेले बैंकको ईएमआई तिर्न कठिन हुन्छ र खराब ऋणी बढ्ने देखिएको छ,’ दाहालले क्लिकमाण्डूसँग भने ।

बैंकरहरु पछिल्लो समय निर्माणसँग सम्बन्धित कम्पनीहरुबाट ब्याज तथा नियमित किस्ता उठ्न छाडेको बताउँछन् ।

‘निर्माणसँग सम्बन्धित कम्पनीबाट किस्ता उठ्न थालेको छ, ६ महिना अगाडिसँग नियमित किस्ता तिरेका कम्पनीहरुलाई वाचलिष्टमा राख्नुपर्ने अवस्था आएको छ,’ एक बैंकरले भने

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बैंक तथा वित्तीय संस्थालाई ऋणको किस्ता तथा ब्याज समयमा तिर्न नसकेको स्वीकार गर्छन् ।

उनले सरकारले समयमा निर्माण क्षेत्रको रकम भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीहरूले समयमै बैंक तथा वित्तीय संस्थालाई ऋण तिर्न नसकेको बताए ।

उनका अनुसार अहिले २ हजारभन्दा बढी आयोजना सम्पन्न भइसकेको अवस्था छ । तर, सरकारले भुक्तानी भने दिएको छैन ।

जसले गर्दा निर्माण व्यवसायीहरूले बैंकमा मात्रै नभएर सामग्री खरिदमा समेत रकम तिर्न सकेको छैन । सिंहले सरकारले केही मात्रामा भुक्तानी गरेपनि मूल्यवृद्धिका कारण सामग्रीको रकम तिर्दा नै ठिक्क भएको बताए ।

‘अहिले मूल्यवृद्धि दोब्बर हुँदा भुक्तानी गरेको रकमबाट सामग्री खरिदका लागि खर्च भइरहेको छ,’ उनले भने ।

सरकारले ७० अर्बभन्दा बढी रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी छ । त्यस्तै, असारसम्ममा धेरै आयोजना सम्पन्न हुने क्रममा छ । सो रकम अझै बढ्न सक्ने उनको भनाइ छ ।

साथै, अहिले ३५ सय आयोजनाहरूको म्याद थप हुन सकेको छैन । जसले गर्दा समस्या निम्तिएको उनले बताए ।


क्लिकमान्डु