९ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन समितिको निर्देशन, नहटाए मर्जर



काठमाडौं । एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दवाव दिने रणनीति बीमा समितिले बनाएको छ ।

समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको क्रस होल्डिङको बारेमा अध्ययन गरेको थियो । समितिले ३ निर्जीवन बीमा कम्पनी र ६ जीवन बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो ।

समितिले क्रस होल्डिङ घटाउन निर्देशन दिएका जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, आइएमई लाइफ, एलआइसी नेपाल र रिलायबल नेपाल लाइफ छन् ।

यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ भने नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई क्रस होल्डिङको सीमा हटाउन निर्देशन दिएको हो ।

बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ मा एउटै लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ ।

समितिद्वारा जारी उक्त निर्देशिकाअनुसार एउटा लगानीकर्ता वा एकाघरका सदस्यको नाममा १५ प्रतिशतभन्दाबढी लगानी गर्न पाइदैन ।

यस्तै, एउटा कम्पनीमा १५ प्रतिशत लगानी गरेका लगानीकर्ताले उस्तै प्रकृतिको अर्को बीमा कम्पनीमा एक प्रतिशतभन्दा बढी लगानी गर्न नपाईने व्यवस्था निर्देशिकाले गरिदिएको छ ।

समितिले एउटा संस्थामा १५ प्रतिशत सेयर रहेको व्यक्ति तथा समूहको अर्को संस्थामा १ प्रतिशतभन्दा बढी भएमा त्यसलाई घटाउनका लागि २ वर्षको समय दिएको थियो ।

यसअघि पनि निर्देशन दिएका कम्पनीलाई पनि समितिले पुनः निर्देशन दिएको हो । निर्देशन अनुसार क्रस होल्डिङ हटाउन नसके मर्जरमा जानुपर्ने समितिले बताएको छ ।

‘क्रस होल्डिङलाई घटाउन निर्देशन दिईएको हो,’ समितिका एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘नघटाए मर्जरमा आदेश दिन सक्ने गरी निर्देशन दिएका छौं ।’

अध्ययनका आधारमा क्रस होल्डिङ देखिएका ९ बीमा कम्पनीलाई सोको सीमा हटाउन निर्देशन दिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

यसअघि पनि समितिले क्रस होल्डिङ भएका बीमा कम्पनीहरूलाई सोको सिमा हटाउन निर्देशन दिएको थियो । तर, कम्पनीहरूले उक्त निर्देशन भने पालना गरेका थिएनन् ।

अब भने निर्देशन बमोजिम क्रस होल्डिङ नहटाएमा मर्ज गर्र्नुपर्ने अध्यक्ष सिलवालले बताए । क्रस होल्डिङ नहटाएमा ती कम्पनीलाई मर्जरमा जान निर्देशन दिने उनको भनाइ छ ।

‘निर्देशन पालना नगर्नेलाई के गर्ने भन्ने पनि विधि छ । कम्पनीहरूले क्रस होल्डिङसँग सम्बन्धी केही कुरा छ भने देखाउनु पर्यो,’ अध्यक्ष सिलवालले भने, ‘नभए क्रस होल्डिङलाई मिलाउन मर्जरमा जानु पर्यो ।’

क्रस होल्डिङ भएका कम्पनीलाई क्रस होल्डिङको सीमा हटाउनका लागि मर्जर नै सहज बाटो हुन सक्ने उनको भनाइ छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समिति बीमा कम्पनीहरूको संख्या घटाउने रणनीतिमा छ । उनका अनुसार क्रस होल्डिङ भएका कम्पनीहरूलाई मर्जरमा जान दवाव समितिले दिने छ । क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा जान सजिलो हुने देखिएको छ।’

‘हाम्रो लक्ष्य भनेको कम्पनीहरूको संख्या घटाउने हो,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘ क्रस होल्डिङ देखिएका बीमा कम्पनीलाई मर्जरमा गई पुँजी वृद्धि गर्न सहज हुने देखिएको छ ।’

समितिकाअनुसार विशाल ग्रुपले एलआइसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र सूर्या लाइफमा लगानी गरेको छ ।

यी कम्पनीलाई समितिले २०७८ असोज ४ गते निर्देशिका बमोजिम संस्थापक शेयरमा लगानी कामय गर्न निर्देश्न दिएको थियो ।

बीमा व्यवसायमा रहन सक्ने एकाधिकार क्रमशः घटाई स्वस्च्छ र प्रतिस्पर्धात्मक व्यवसाय सञ्चालन गरी बीमा व्यवसायको क्षेत्रमा सुशासन कामय राख्न बीमकमा भएको सिमा भन्दा बढी लगानी हटाउन निर्देशन दिएको थियो । तर, सो निर्देशनबमोजिम कम्पनीहरूमा विशाल ग्रुपले लगानी हटाउन सकेको छैन ।

एलआइसी नेपालमा विशाल ग्रुपको २५ प्रतिशत, नेपाल लाइफमा १४ प्रतिशत र सूर्या लाइफमा ३० प्रतिशत लगानी छ ।

समितिका अनुसार नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्समा एउटै समूहको लगानी छ । यी कम्पनीमा आईएमई ग्रुपको लगानी छ ।

यस्तै, नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्समा लगानी छ । नेपाल इन्स्योरेन्स कम्पनीमा यूनाइटेड डिष्ट्रिब्युटर नेपालको ६.९५ प्रतिशत लगानी रहेको समितिले जनाएको छ । प्रुडेन्सियल इन्स्योरेन्समा यूनाइटेड डिष्ट्रिब्युटर नेपालको २.११ प्रतिशत लगानी छ ।

आइएमई ग्रुपको नेपाल इन्स्योरेन्समा १५.५६ प्रतिशत, र आइएमई जनरल इन्स्योरेन्समा १४ प्रतिशतभन्दा धेरै लगानी छ ।

रिलायबल नेपाल लाइफ र आइएमई लाइफमा ग्लोबल आईएमई बैंकको लागनी छ । ग्लोबल आइएमई बैंकको रिलायबल नेपाल लाइफको १४.२९ प्रतिशत र आइएमई लाइफमा १० प्रतिशत लगानी छ ।


क्लिकमान्डु