राष्ट्र बैंकको कडाइपछि सेयर धितोमा जाने कर्जा १४% ले घट्यो, लगानीकर्ता आन्दोलित



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा १४ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाले ९१ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

असार मसान्तमा बैंकहरुबाट जाने सेयर धितो कर्जा १ खर्ब ६ अर्ब २८ करोड ३९ लाख रुपैयाँ थियो । वैशाख मसान्तमा आइपुग्दा यस्तो कर्जा १४ प्रतिशतले घटेर ९१ अर्ब ४१ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले प्रवाह हुने कर्जामा १ करोड रुपैयाँभन्दामाथिको कर्जा र ५० लाखदेखि १ करोडसम्म जाने कर्जाको आकार घटेको छ । तर २५ देखि ५० लाख र २५ लाख रुपैयाँसम्मको कर्जामा भने बढोत्तरी देखिएको छ ।

राष्ट्र बैंकका अनुसार १ करोडभन्दा माथिको सेयर धितोमा जाने कर्जा २५.१ प्रतिशतले घटेको छ । असार मसान्तमा ७३ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा वैशाख मसान्तमा आइपुग्दा २५.१ प्रतिशतले घटेर ५५ अर्ब ९ करोड ३९ हजार रुपैयाँ मात्रै छ ।

यस्तै ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जाका ५.७ प्रतिशतले घटेको छ । गत असार मसान्तमा १२ अर्ब १ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा वैशाख मसान्तमा आइपुग्दा ११ अर्ब ३३ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।

बजार अघिरहेको, बैंक तथा वित्तीय संस्थाले धेरै रकम ऋण दिन नसकेको समयमा २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितोकर्जा भने २२ प्रतिशतले बढेर १६ अर्ब ३० करोड ४६ लाख रुपैयाँ रहेको छ । असार मसान्तमा १३ अर्ब ३५ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

यस्तै २५ लाख रुपैयाँसम्म जाने सेयर धितोकर्जा १७.७ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ रहेको छ । असार मसान्तमा ७ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एकजना लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ र एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ सेयर धितोमा कर्जा लिने पाउने व्यवस्था गरेसँगै १ करोड रुपैयाँभन्दा बढी प्रवाह हुने ऋण क्रमशः घट्दै गएको छ ।

मौद्रिक नीतिले उक्त व्यवस्था गरेसँगै सेयर लगानीकर्ताले यस्तो व्यवस्था हटाउन माग गरेका छन् । अहिले सेयर लगानीकर्ता आन्दोलित भउका छन् । अन्दोलनका क्रममा लगानीकर्ताले ४,१२ को नीतिलाई हटाउन माग गरिरहेका छन् ।

तर, केन्द्रीय बैंकले त्यसलाई स्वीकार गरेको छैन । जसको असर बजारमा देखिएको जानकार लगानीकर्ताहरुको तर्क छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै सेयर धितोमा जाने कर्जा न्यून देखिएको बताइन्छ ।


क्लिकमान्डु