गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.२% हुने, चाउचाउ र वियर उत्पादन घट्यो



काठमाडौं । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

यो नेपालको चालु आवका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिदरभन्दा बढी हो । केन्द्रीय तथ्यांक विभागले चालु आवमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

आव २०७८÷७९ मा देशको कुल ग्राहस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.२ प्रतिशत र ६१.८ प्रतिशत हुने अनुमान गरिएको छ । चालु आवको पहिलो ६ महिनामा गण्डकी प्रदेशको आर्थिक गतिविधिमा सुधार देखिएको छ ।

कोरोना महामारीको समस्या न्यून हुँदै गएको, कृषि उत्पादनमा केही वृद्धि भएको, उद्योगको क्षमता उपयोग बढ्दै गएको, यातायात र पर्यटनलगायतका सेवा क्षेत्र समेत क्रमशः पुनरुत्थान हुँदै गएकाले प्रदेशको समष्टिगत आर्थिक गतिविधिमा सुधार आएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिव ९१ प्रतिशत सम्पन्न भएको छ ।

मध्यपहाडी लोकमार्गको गोरखा–लमजुङ खण्डको करिब १११ कि।मि। सडक निर्माणमध्ये ५६ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्डको करिब २४५ किमिमध्ये ८५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

यस प्रदेशमा ४६ जलविद्युत् आयोजनाहरुबाट ५९३ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

नेपालको कुल जलविद्युत् उत्पादनमा यस प्रदेशको योगदान २८।२ प्रतिशत छ । गण्डकी प्रदेशमा हाल ७३७ मेगावाट क्षमताका ३६ जलविद्युत् आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् ।

चालु आवको प्रथम अर्धवार्षिक अवधिमा गण्डकी प्रदेशका ११ जिल्लाहरुमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल ३।८ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा धान, मकै, कोदो, र तेलहनले ढाकेको क्षेत्रफलमा वृद्धि भएकोछ भने आलु, उखु, भटमास र दलहन खेती गरिएको क्षेत्रफल घटेको छ ।

त्यसैगरी, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ४।६ प्रतिशतले घटेकोछ भने फलफूल तथा मसलाबालीले ढाकेको क्षेत्रफल ३।७ प्रतिशतले वृद्धि भएको छ ।

यसमध्ये स्याउ, केरा र सुन्तला खेती गरिएको क्षेत्रफलमा क्रमशः ५.८ प्रतिशत, ३.६ प्रतिशत र ३.४ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन २.८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा फापर (८.५ प्रतिशत), मकै (५.१ प्रतिशत), धान (२.३ प्रतिशत), कोदो (२ प्रतिशत), तेलहन (१.५ प्रतिशत), उखु (०.८ प्रतिशत) र आलु (०.२ प्रतिशत) को उत्पादन बढेको छ भने भटमास र दलहनको उत्पादनमा भने केही ह्रास आएको छ ।

पशुजन्य उत्पादनतर्फ अण्डाको उत्पादन १५.२ प्रतिशत, माछाको उत्पादन १.४ प्रतिशत, मासुको उत्पादन ०.४ प्रतिशत र दुधको उत्पादन ०.३ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनततर्फ काठको उत्पादन ३८.६ प्रतिशतले वृद्धि भएको छ ।

२०७८ पुस मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा २९ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.४ प्रतिशत हुन आउँछ ।

समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ४२।७ प्रतिशत छ ।

औद्योगिक उत्पादनतर्पm समीक्षा अवधिमा तोरीको तेल, विस्कुट, चुरोट, औषधि र सिमेन्टको उत्पादनमा वृद्धि भएको छ भने दुध, चक्लेट, चाउचाउ, वियर र इट्टाको उत्पादनमा ह्रास आएको छ ।

२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको १४.५ प्रतिशत अर्थात् ५० अर्ब ९२ करोड रुपैयाँ कर्जा रकम औद्योगिक क्षेत्रमा लगानी गरेका छन् ।

सेवा क्षेत्रको हकमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २०७८ असार मसान्तको तुलनामा १.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

कुल कर्जा प्रवाह भने ११.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

यस प्रदेशमा कुल घर परिवार संख्या ६ लाख ७८ हजार १७६ रहेको छ । गण्डकी प्रदेशमा २०६८ सालमा परिवार संख्या औसत ४.२ व्यक्ति रहेकोमा २०७८ को जनगणना अनुसार यो अनुपात घटी औसत ३.७ व्यक्तिमा झरेको छ । प्रदेशमा आर्थिक रुपले सक्रिय जनसंख्या झण्डै ५७ प्रतिशत छ ।


क्लिकमान्डु