लेखापरीक्षण मै अल्झिएको राष्ट्रिय बीमा संस्थानले चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउन आईपीओ जारी गर्ने
काठमाडौं । महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदनअनुसार राष्ट्रिय बीमा संस्थानको विगत ८ वर्षदेखि लेखापरीक्षण भएको छैन । समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले संस्थानलाई कारबाही समेत गरिसकेको छ ।
लेखापरीक्षण, बीमांकीय मूल्यांकन तथा वार्षिक साधारणसभा जस्ता गतिविधिमा अन्य कम्पनीको तुलनामा संस्थान निकै पछाडि छ ।
संस्थानको आव २०६९/७० यताको साधारणसभा भएको छैन ।
संस्थानको २०६९/७० देखि आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न बाँकी छ । संस्थानले हरेक वर्ष साधारणसभा गर्नुपर्ने, लेखापरीक्षण गराई पारित गर्नुपर्ने लगायतका नियमलाई पालना गर्न सकेको छैन ।
यसैबीच संंस्थानलाई चुक्तापुँजी ५ अर्ब रुपैयाँ प्र्याउनुपर्ने चुनौती छ । बीमा समितिले आगामी चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीलाई ५ अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ । संस्थानले यसअघि दिएको निर्देशन अनुसार चुक्तापुँजी नै कायम गर्न सकेको छैन ।
आईपीओ जारी गरी चुक्ता पुँजी बढाउने
बीमा समितिले बीमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ जारी गर्दै ०७४/७५ को अन्त्यसम्म निर्जीवन बीमा कम्पनीले १ अर्ब र जीवन बीमा कम्पनीले २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । संस्थानले हालसम्म पनि उक्त पुँजी पुर्याउन सकेको छैन ।
हाल चुक्ता पुँजी १८ करोड १० लाख रूपैयाँ रहेको राष्ट्रिय बीमा संस्थानले ५ अर्ब पुर्याउन हालको पुँजीमा ४ अर्ब ८१ करोड ८९ लाख रूपैयाँ रकम थप गर्नुपर्छ । तर, संस्थानले उक्त पुँजी थप गर्न हालसम्म ठोस योजना भने बनाउन सकेको छैन ।
संस्थानमा सरकारको २७.७८ प्रतिशत, राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत स्वामित्व छ । सरकारको स्वामित्वमा रहेको संस्थानले पुँजी वृद्धिको योजना एक्लै बनाउन सक्दैन ।
संस्थानले समितिले तोके बमोजिमको चुक्ता पुँजी पुर्याउनका लागि पुँजीवृद्धि कमिटी गठन गरेपनि उक्त कमिटीले पनि पुँजीवृद्धिको योजना बनाउन सकेको छैन ।
संस्थानले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरी नियामक निकायले तोकेको चुक्तापुँजी कायम गर्ने योजना बनाउँदै आएको छ ।
यसअघिको निर्देशनअनुसार २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन संस्थानले आईपीओलाई प्राथमिकतामा राखेको थियो ।
फेरि पनि संस्थानले लगानी विविधिकरण गर्ने र आईपीओमार्फत् चुक्ता पुँजी बढाउने भावी योजना बनाएको छ । २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन संस्थानले सर्वसाधारणका लागि ३० प्रतिशत आइपीओ जारी गर्ने योजना बनाएको थियो ।
यसअघि बुझाएको सो योजना संशोधन हुन सक्ने कम्पनीको भनाइ छ ।
संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको अनुपात ३० प्रतिशत नै राख्ने वा सो अनुपाताई फेरबदल गरी ५१ः४९ हुन सक्ने योजना समेत संस्थानको छ ।
कम्पनीमा परिणत भएपछि मात्रै आईपीओ
संस्थानले तोकिएको पुँजीवृद्धि गर्न आईपीओ जारी गर्ने योजना बनाए पनि तत्काल सम्भव छैन ।
संस्थानका प्रशासक कवि पाठक संसदमा पेश भएको विधेयक पारित भएपछि मात्रै संस्थान खारेज भई कम्पनीमा परिणत हुने बताउँछन् । कम्पनीमा रूपान्तरण भएपश्चात मात्रै संस्थानलाई सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाटो खुल्ने पाठकको भनाइ छ ।
उनका अनुसार संसदमा पेश भएको बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएपछि मात्रै राष्ट्रिय बीमा संस्थान कम्पनीमा रूपान्तरण हुनेछ ।
संसदमा पेश भएको बीमा विधेयकको दफा १७२ मा राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ खारेज हुने उल्लेख छ । राष्ट्रिय बीमा संस्थान १ वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिने छ । र, त्यसपछि मात्रै आइपीओको प्रक्रिया अघि बढ्ने छ ।
हालसम्म संस्थान ऐनअनुसार सञ्चालन हुँदै आएको छ । जसअनुसार संस्थानको चुक्ता पुँजी ५० करोड रुपैयाँभन्दा भन्दा बढी नहुने व्यवस्था छ ।
नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वसहित २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो ।
१ करोड अधिकृत पुँजीमा स्थापित कम्पनीले २०२४ फागुन ११ गतेखि व्यावसायिक कारोबार शुरू गरेको थियो । २०२५ सालमा ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ आएपछि यो संस्थानमा रूपान्तरण भयो ।
निर्जीवन बीमा मात्र गर्ने संस्थानले २०२९ देखि जीवन बीमा व्यवसायको पनि थालनी गरेको थियो । तर, २०७१ सालदेखि भने संस्थानले जीवन बीमाको व्यवसाय मात्र गर्दै आएको छ ।