खाद्य संकट हुनसक्ने चेतावनीपछि विभिन्न देशले निर्यातमा प्रतिबन्ध लगाउँदै



काठमाडौं । विश्वभर गम्भीर खाद्य संकट हुन सक्ने आशंकाका बीच विभिन्न देशले खाद्यान्न निर्यातमा कटौती गर्न थालेका छन् ।

युरोपियन युनियन, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रसंघ र विश्वबैंकलगायत विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले खाद्यान्न संकटबारे घोषणा गरेसँगै विभिन्न देशहरूले खाद्यान्न निर्यातमा कटौती गरेका हुन् ।

यसअघि मे ४ मा युरोपियन युनियन, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रमले संयुक्त विज्ञप्ति जारी गर्दै खाद्य संकटको चेतावनी दिएका थिए ।

जसमा उक्त संगठित निकायहरूले रुस–युक्रेन तनाब, जलवायु परिवर्तन र मूल्यवृद्धिका कारण खाद्य संकट गहिरिँदै गएको जनाएका थिए ।

रुस–युक्रेनबीचको युद्धले गहुँ निर्यातमा ठूलो प्रभाव परेको छ । विश्वको सबैभन्दा बढी गहुँ निर्यात गर्ने देशमा रुस र युक्रेन रहेको र युद्धका कारणले गहुँ निर्यात हुन सकेको छैन । जसले गर्दा विश्वभर गहुँको मूल्य हालसम्मकै उच्च अवस्थामा पुगेको छ ।

यसैगरी, संयुक्त राष्ट्र संघले रुस–युक्रेनबीचको युद्धले विश्वका गरिब देशहरूले खाद्य संकटको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

त्यसैगरी, विश्व बैंकसहितका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले खाद्यान्न आपूर्तिलाई सहज बनाउने उद्देश्यका साथ १० अर्ब डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।

तर, खाद्यान्न उत्पादन गरी निर्यात गर्ने देशहरूले खाद्यान्न संकटको सामना गर्नुपर्ने भन्दै जोहो गर्न थालेका छन् ।

साथै, विभिन्न देशहरूले खाद्यान्न अभावसँगै उच्च मूल्य बढेसँगै मूल्यलाई सन्तुलन राख्नका लागि निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

इन्डोनेसियाले पाम तेल निर्यातमा प्रतिबन्ध
विश्वको सबैभन्दा बढी पाम तेल उत्पादन गर्ने देश इन्डोनेसियाले पाम तेल निर्यातमा प्रतिबन्ध लगाएको छ । इन्डोनेसियन सरकारले आन्तरिक बजारमै पाम तेलको मूल्य उच्चरुपमा बढेपछि अप्रिल २८ गतेदेखि निर्यातमा प्रतिबन्ध गरेको हो ।

इन्डोनेसियाका राष्ट्रपति जोको वीडोडोले शुक्रबार बोल्दै खाने पाम तेलको बढ्दो मूल्य नियन्त्रण गर्न प्रतिबन्ध गरेको बताएका थिए । उनले आन्तरिक उत्पादन हुने तेल स्वदेशमै खपत गर्ने र नीति कार्यान्वयनमा अनुगमन गर्ने रोयटर्सले उल्लेख गरेको थियो ।

रुस र युक्रेनको युद्धले गर्दा अन्तर्राष्ट्रिय बजारमा उपभोग्य वस्तुको हालसम्मकै उच्च मूल्यवृद्धि भएको छ । पाम तेल खाना पकाउनेदेखि विभिन्न कस्मेटिक्स, केकसम्म प्रयोग हुने भएकाले खाद्य वस्तुको मूल्य बढ्न सक्ने जनाएको छ ।

मलेसियाले कुखुराको मासु निर्यातमा प्रतिबन्ध
मलेसिया सरकारले आन्तरिक बजारमै कुखुराको अभावसँगै उच्च मूल्य बढ्न थालेपछि निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । मलेसिया सरकारले आगामी जुन १ गतेबाट चिकेन निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

विशेषगरी मलेसियाले सिंगापुरमा चिकन निर्यात गर्दै आएको छ । सिंगापुर मुख्य चिकनको आयातकर्ता भएकाले निकै प्रभावित हुने बैंककपोस्टले जनाएको छ । त्यसैगरी, मलेसिया सरकारले थाइल्यान्ड, जापान र हङकङमा पनि निर्यात गर्दै आएको छ ।

भारत सरकारले गहुँ, चिनी र चामलमा प्रतिबन्ध लगाउने
भारत सरकारले गहुँ र चिनीपछि चामल निर्यातमा प्रतिबन्ध लगाउने भएको छ । विश्वभर खाद्य संकट आउने चेतावनी दिएसँगै भारत सरकारले विभिन्न खाद्यान्नमा अध्ययन गरेर प्रतिबन्ध गरिरहेको छ ।

अहिले भारत सरकारले तीन वटा वस्तुको निर्यातमा प्रतिबन्ध गर्ने निर्णय गरिसकेको छ भने अन्य दुई वटा वस्तुको अध्ययन गरेर प्रतिबन्ध गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । भारतले आन्तरिक बजारमा आपूर्ति समस्यासँग मूल्य बढेपछि उक्त समस्याको समाधानको लागि गहुँ, चिनी र चामलमा प्रतिबन्ध लगाएको हो ।

त्यहाँकाे प्रधानमन्त्री कार्यालयले एक कमिटी बनाएर उत्पादित खाद्यान्नमा अध्ययन गरेर प्रतिबन्ध लगाउने तयारी गरेको उल्लेख छ । अहिले भारतमा मूल्यवृद्धि हालसम्मकै उच्च अवस्थामा पुगेको छ । मूल्य अनुगमन गर्ने कमिटिले विभिन्न वस्तुको बारेमा अध्ययन गरेर मूल्यवृद्धि गरेको खण्डमा कारबाही गर्ने उल्लेख छ ।

नेपाल चामलमा पूर्णरुपमा भारतमा निर्भर छ । भारत सरकारले चामलमा प्रतिबन्ध गर्ने निर्णयले नेपाली बजारमा प्रत्यक्ष असर देखिने भएको छ ।

नेपालले चालु आर्थिको १० महिनाको अवधिमा ४२ अर्ब १९ करोड १४ लाख रुपैयाँ बराबरको १ अर्ब २ करोड ४४ लाख केजी धान, चामल, र ब्राउन चामल आयात गरेको छ ।

त्यसैगरी अफगानिस्तानले २० मेबाट गहुँ, रसियाले गहुँ, चिनी, तेल र दाना, युक्रेनले पनि गहुँ, चिनी र कोदो निर्यातमा प्रतिबन्ध लगाएका छन् ।

त्यति मात्रै नभएर सन् २०२२ को शुरुदेखि नै विभिन्न देशले जलवायु परिवर्तनका कारण उत्पादनमा निकै प्रभावित भएपछि निर्यात गर्न प्रतिबन्ध लगाएका छन् ।

जसमा उक्त सरकारहरूले आगामी दिनमा निर्यात गरी आन्तरिक बजारमा समस्या आउने भन्दै खाद्यान्नको जोहो गर्न थालेका छन् ।


क्लिकमान्डु