भारतको बुलेट ट्रेन सेतो हात्ती बनेको भन्दै विरोध, नेपालमा हल्ला मात्रै



एजेन्सी । नेपालका हरेक वर्षका नीति तथा कार्यक्रममा रेलमार्गको विषय छुट्दैनन् । शब्द फेरेर भएपनि राखिने यस्ता कार्यक्रम विगत १० वर्षदेखि हरेक पटक दोहोरिएर आएकै छन् ।

तर यसबारे कहिले अध्ययन शुरु गर्ने, कहिले निर्माण शुरु गर्ने भन्दा जस्ता शब्द राखेर महिमागान गरिएको भएपनि काम भने कछुवाको गतिमा मात्रै अगाडि बढेको छ ।

छिमेकी देश भारतमा संसारकै सबैभन्दा ठूलो रेल सञ्जाल छ । बेलायती उपनिवेश शुरु भए लगत्तैदेखि शुरु भएको रेलमार्गको विकासमा भारत सरकारले विशेष जोड दिएको छ ।

यातायातको सुगमता र सहजताका लागि रेल सञ्जाल आफैमा महत्वपूर्ण मानिन्छ । विकासका दृष्टिले पनि यसको उपादेयता छ । ठूलो रेल सञ्जाल भए पनि गतिका हिसाबले भारतीय रेलको नकारात्मक कोणबाट बढी टिप्पणी हुने गरेको छ ।

कूल १ अर्ब ४० करोड मानिसको जीवनसँग जोडिएको रेल सञ्जालले भारतीयको आवागमनलाई सहज बनाइदिएको छ । छिमेकी देशमा भने भारतीय रेलले जोडेको सम्बन्धको आफ्नै महत्व छ ।

गति नभएको, फोहोर तथा राजनीतिक हस्तक्षेपका अनेकन संकटग्रस्त भएको रेल सञ्जालमा निजी क्षेत्रको प्रवेश पछि धेरै सुधार भएको छ । यही क्रममा भारतीय सरकारको ध्यान बुलेट टे«नमा छ । चीन, जापान, दक्षिण कोरिया जस्ता देशमा विकास भएको बुलेट ट्रेनको सपना भारतमा पनि साकार पार्ने लक्ष्य राखिएको छ । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमण त्यसैमा केन्द्रित छ ।

प्रधानमन्त्री मोदी क्वाड सम्मेलनमा भाग लिन जापानको राजधानी टोकियोमा पुग्दा उनको कार्यसूचीमा द्रुत गतिको रेल छ । पछिल्लो ८ वर्षमा प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौं जापान भ्रमण हो ।

भारतमा जहिले पनि जापानको उल्लेख बजेट आउँछ, बुलेट ट्रेनको सम्झना ताजै हुन्छ । प्रधानमन्त्री मोदी जापान भ्रमणमा छन्, त्यसको याद गर्नका दुई कारण छन् – पहिलो जापान र दोस्रो प्रधानमन्त्री मोदी स्वयम् पनि यसमा जोडिएका छन् ।

भारतका जनतालाई बुलेट ट्रेनको सपना देखाउने श्रेय समेत उनै मोदीले लिएका छन् । भारत र जापान दुवैका प्रधानमन्त्रीको उपस्थितिमा आयोजनाको उद्घाटन गरिएको थियो ।

अगस्ट १५, २०२२ सम्ममा मुम्बई–अहमदाबाद उच्च गतिको रेलको काम पूरा गर्न सबै प्रयास गरिनेछ भन्ने घोषणापनि यसअघि नै भएको हो । तर २०१७ मा नै नीति आयोगले सन् २०२३ सम्ममा आयोजना सम्पन्न हुने बताएको थियो ।

सन् २०२० मा, पूर्वी जापान रेलवे कम्पनीले भारतमा ट्रयाकमा गुडिरहेको बुलेट ट्रेनको पहिलो तस्विर पनि सार्वजनिक गरेको थियो । ई ५ सिरिजको शिन्कानसेन बुलेट ट्रेन भारत आउने बताइएको छ ।

सन् २०२२ को मे महिनामा प्रधानमन्त्री मोदी जापान भ्रमणमा रहेका बेला आयोजनाको १७ प्रतिशत काम सकिएको छ ।

आरटीआईलाई उदृत गर्दै आजतकको रिपोर्टमा यो दाबी गरिएको छ कि काम अझै प्रभावकारी बन्न सकेको छैन । सूचनाको अधिकार ऐनमार्फत् आजतकले यो जानकारी १ फेब्रुअरी २०२२ मा मात्र प्राप्त गरेको थियो ।

जापानको बुलेट ट्रेनको गति ३२० किलोमिटर प्रतिघण्टासम्म कुदन सक्छ । भारतको बुलेट ट्रेन परियोजना अन्तर्गत, ट्रेनले मुम्बईलाई सुरत र अहमदाबादसँग जोड्नेछ । जसमा १ २ स्टेशन प्रस्ताव गरिएको छ ।

परियोजना अन्तर्गत, ८ स्टेशनहरू गुजरातमा र ४ स्टेशनहरू महाराष्ट्रमा हुनेछन् । भूमिमा २१ किलोमिटर मात्र ट्र्याक हुनेछ । बाँकी ट्र्याक जमिनमाथि हुनेछ । विज्ञहरूका अनुसार हाल ८ घण्टा लाग्ने ५०८ किलोमिटरको दूरी बुलेट ट्रेनले ३ घण्टामा पूरा गर्नेछ ।

यसका लागि भारत सरकारले जापान सरकारसँग सम्झौता गरेको छ । यस परियोजनाका लागि जापानले ५० वर्षका लागि ०.०१ प्रतिशत दरमा ८८ हजार करोड भारु बराबरको ऋण दिएको छ ।

जब बुलेट ट्रेनको सपना पहिलो पटक मोदीले देखेका थिए, तब २०१४– १५ मा यसको कुल लागत ९८००० करोड भारु रहने अनुमान गरिएको थियो । सन् २०२० सम्ममा आयोजनाको लागत बढेर १ लाख १० हजार करोड पुगेको थियो ।

त्यसपछिको कोरोना महामारी, विश्व अर्थतन्त्रमा आएको गिरावट, मुद्रास्फीति र भारतमा त्यसको प्रभावलगायत सबैलाई जोड्ने हो भने यो लागत अझै बढ्ने देखिएको छ ।

आयोजनालाई लिएर केन्द्र र प्रदेश सरकारबीचको आपसी मतभिन्नतालाई ध्यानमा राख्दै गुजरातको भागमा आयोजना सम्पन्न गरेपछि रेललाई पहिले ट्र्याकमा राखिने सम्भावना पनि छ । रेलवेबाट प्राप्त जानकारी अनुसार सुरत र बिलीमोरा बीचको बुलेट ट्रेनको ट्रायल सन् २०२६–२७ सम्म शुरु गरिनेछ ।

यद्यपि एक जानकारका अनुसार यदि त्यसो भयो भने, बुलेट ट्रेन भारत ल्याउने पछाडिको अवधारणा समाप्त हुनेछ । यस मार्फत मोदी दुई राज्यका दुई व्यापारिक सहरलाई जोड्न चाहन्थे । यी दुई शहर अहमदाबाद र सूरतबीच जे भए पनि राम्रो दूरी छ ।

सडक र रेल सेवा पहिले नै अवस्थित छ । भारतमा त रेल निर्माणको अवस्था यस्तो छ भने नेपालमा के होला सहजै अनुमान लगाउन सकिन्छ ।


क्लिकमान्डु