पुँजी वृद्धिको नीतिले बीमा कम्पनीको संख्या ५० प्रतिशत घटाउने, क-कस्ले गर्दैछन् मर्जरको तयारी ?



काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको नीति लिएपछि सञ्चालनमा रहेका बीमा कम्पनीको संख्या ५० प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब तथा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउने निर्णय गरिसकेको छ । जसअनुसार अब बीमा कम्पनीहरुले २०७९ को चैत महिनासम्म सो बराबरको चुक्ता पुँजी पुर्याउनु पर्नेछ ।

चुक्ता पुँजी पुर्याउनका लागि हकप्रदमा रोक लगाएको र बोनस सेयरले मात्रै नपुग्ने भएपछि कम्पनीहरु यतिबेला मर्जरको बाटो समातेका छन् । समितिले पनि बीमा कम्पनीहरुको संख्या बढी भएको भन्दै मर्जरमै जान सुझाव दिइसकेको छ ।

समितिले पुँजी बढाउने नीति लिएसँगै हालसम्म ५ वटा कम्पनीले मर्जरको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जीवन बीमा कम्पनीतर्फ प्राइम लाइफ, गुराँस लाइफ तथा युनियन लाइफ इन्स्योरेन्सले मर्जको सम्झौता गरिसकेका छन् । र, निर्जीवन बीमा कम्पनी एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मर्जरको सम्झौता गरेका छन् ।

सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफको मात्रै तोकिए बमोजिम चुक्ता पुँजी पुगेको छ ।

हालसम्म विदेशी कम्पनीका शाखाका रुपमा रहेको मेट लाइफ, सरकारी लगानीको बीमा संस्थान, भारतीय लगानी स्थापना भएको एलआईसी नेपाल र नेशनल लाइफ मर्जरमा जान चाहेका छैनन् ।

मर्जरमा जानका खास गरी २०६२ सालपछि आएका जीवन बीमा कम्पनीहरु इच्छुक देखिएका छन् । प्राइम लाइफ, गुराँस तथा युनियनले मर्जरको सम्झौता गरेपछि पुँजी पुर्याउनका लागि मर्जरको लहर शुरु भएको छ ।

हकप्रद दिएर पुँजी पुर्याउन सक्ने सम्भावना भएको प्राइम लाइफ तथा एभरेष्ट इन्स्योरेन्सका प्रमुख लगानीकर्ता राजेन्द्र खेतान प्रतिफलको कारण मर्जरमा गएको बताउँछन् ।

‘पैसा थपेर पुँजी पुर्याउन समस्या थिएन, थपेको लगानी अनुसार प्रतिफल नआउने भएपछि मर्जरमा जानु बाध्यता हो,’ खेतानले क्लिकमाण्डूसँग भने ।

४ वर्षअघि लाइसेन्स पाएका ५ वटा जीवन बीमा कम्पनीले अहिले सर्वसाधारणलाई सेयर जारी गरेका छैनन् । जसमा आइएमई लाइफ, रिलायवल, सन नेपाल, सिटिजन्स र महालक्ष्मी छन् । आइपीओ जारी नगरेका कम्पनी महालक्ष्मी लाइफले मर्जरको प्रक्रिया अगाडि बढाएको छ ।

महालक्ष्मी लाइफको हाल एशियन लाइफ तथा प्रभु लाइफसँग कुरा भइरहेको छ । रिलायवल र आइएमई मर्जर हुने सम्भावना छ । यसबाहेक रिलायन्स र सन नेपालको प्रारम्भिक खाले कुरा भएको छ । साथै सूर्या लाइफ र ज्योति लाइफबीच पनि मर्जरका लागि कुरा भइरहेको छ ।

‘मर्जर सजिलो विषय होइन तर पुँजी बढाएपछि प्रतिफल नआउने हुँदा जानु बाध्यता हो, अहिले चिया तथा कफी गफमा मात्रै मर्जरको कुरा भइरहेको छ,’ आइपीओ जारी नगरेको एक जीवन बीमा कम्पनीका सञ्चालकले भने ।

जीवन बीमा कम्पनीका सञ्चालकका अनुसार जीवन बीमा कम्पनीहरु १२ वटासम्म झार्न सक्ने सम्भावना देखिएको जानकारहरु बताउँछन् ।

निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्सलाई चुक्ता पुँजी पुर्याउन सजिलो छ । शिखरले अघिल्लो वर्षको नाफा र चालु आर्थिक वर्षमा कमाएको नाफाबाट दिने प्रतिफलले सजिलै चुक्ता पुँजी पुग्छ ।

प्रतिस्पर्धी कम्पनीहरु मर्जरमा जाने भएपछि आफ्नो पहिलो स्थान जोगाउन शिखरले मर्जर गर्न सक्ने सम्भावना छ । शिखरले मर्जरका लागि केही कम्पनीसँग कुरा गरिरहेको छ ।

भारतीय कम्पनीको शाखाको रुपमा रहेका ओरियन्टल र नेशनल इन्स्योरेन्सको मर्जर नेपालबाट हुने छैन । दुई कम्पनी भारतमा नै मर्जरमा गए नेपालमा एउटा मात्र शाखा हुनेछ ।

पछिल्लो समय आएका तीनवटा नयाँ निर्जीवन बीमा कम्पनीमा पुराना कम्पनीले चासो दिएका छन् । अजोड, सानिमा तथा जनरल इन्स्योरेन्सलाई पुराना कम्पनीले आँखा लगाएका छन् । जसमा शिखर र सानिमाबीच सामान्य खाले छलफल भइसकेको छ । सानिमा र प्रिमियर इन्स्योरेन्सबीच पनि केही कुराकानी अगाडि बढेको छ । सानिमा, प्रिमियर तथा नेको इन्स्योरेन्स पनि मर्जर गर्ने विषयमा संस्थापक तथा सञ्चालकबीच प्रारम्भिक चरणको कुराकानी भएको छ ।

यसबाहेक नेपाल इन्स्योरेन्स,आइएमई तथा प्रुडेन्सियल इन्स्योरेन्सबीच बिग मर्जर हुने सम्भावना बलियो । तीनवटामा केही सञ्चालकहरु एउटै व्यवसायिक घरानाका छन् ।

पहिलो स्थानको लागि अहिले दोस्रो र तेस्रोमा रहने सगरमाथा तथा सिद्धार्थबीच मर्जरको विषयमा सामान्य कुराकानी भइसकेको छ । एनएलजी तथा लुम्बिनी जनरल इन्स्योरेन्सबीच सामान्य खाले कुराकानी अगाडि बढेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिमा चुक्ता पुँजी बढाउन हकप्रद दिने प्रस्ताव राखेपनि राम्रो पार्टनर पाएमा मर्जरमा जाने तयारीमा छन् । प्रभु इन्स्योेरेन्स र अजोड इन्स्योरेन्सका लगानीकर्ताबीच सामान्य खाले कुराकानी भएको छ ।

बीमा कम्पनीहरु मर्जरमा जानुपर्ने बाध्यता रहेको सूर्या लाइफका सञ्चालक विवेक झा बताउँछन् । ‘दीर्घकालिन सोच भएका कम्पनी मर्जरमा नगएपनि प्रतिफलको दबाबले पुँजी पुर्याउनका लागि मर्जर बाध्यता हो,’झाले क्लिकमाण्डूसँग भने ।

बीमा समितिले अर्को वर्षको चैत मसान्तसम्म पुँजी पुर्याउनुपर्ने समय तोकेको छ । बीमा समितिमा प्रस्ताव बुझाएका सबै कम्पनीले बोनस,हकप्रद तथा मर्जरमा गएर पुँजी पुर्याउने प्रस्ताव दिएका छन् ।

बीमा समितिले मर्जरलाई प्रोत्साहन दिएमा अहिलेको तुलनामा ५० प्रतिशतले कम्तीमा बीमा कम्पनीको संख्या घट्ने अनुमान बीमामा कार्यरत सीइओ तथा लगानीकर्ताको छ । अहिले २ वटा पुर्नबीमा कम्पनी,२० वटा निर्जीवन बीमा कम्पनी तथा १९ वटा जिवन बीमा कम्पनी सञ्चालनमा छ ।


क्लिकमान्डु