जनताको चाहना अनुसार बजेट आउँछ, जन अपेक्षा कृषिले पुरा गर्छः मन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली जनताको चाहना र आवश्यकता अनुसार बजेट ल्याउने बताएका छन् ।

उनले प्रतिनिधि सभाको बैठकमा यस्तो बताएका हुन् । मन्त्री शर्माले हरेक जनताको आकंक्षालाई बजेटले सम्बोधन गर्ने दाबी गरे ।

जनताको चाहना, आकांक्षालाई कृषिले मात्रै सम्बोधन गर्ने सक्ने उनको दाबी छ । ‘त्यही भएर यो पटकको बजेटले कृषिलाई प्राथमिकतामा राखेको छ’ उनले भने, ‘यसले रोजगारी सृजना गर्छ, आयात प्रतिस्थापन गर्न सहयोग गर्छ ।’ कृषिलाई प्राथमिकतामा राख्दा राष्ट्रलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उनको तर्क छ ।

मन्त्री शर्माले व्यापारघाटा कम गर्न उत्पादन बढाउने, कृषि र कृषिमा आधारित उद्योगलाई प्राथमिकतामा राख्ने पनि जानकारी गराए । अर्थमन्त्री जनार्दन शर्माले मूल्यबृद्धि भएपछि निर्माण व्यवसायीले काम नगरेको र भुक्तानी पनि लिन नआएको बताएका छन् ।

बैठकमा मन्त्री शर्माले अघिल्लो सरकारले स्रोत सुनिश्चित नभएका आयोजनामा बजेट दिएका कारण केही आयोजना हटाउनु परेको बताए । ‘२४ लाख दिएर १४०० वटा सडक बनाउने योजना कार्यान्वयन नहुने देखियो’ उनले भने ‘त्यही भएर केही आयोजना हटाइएको हो । २४ लाख रुपैयाँ बजेट दिएका केही आयोजनाको डिपीआर समेत भएका छैनन् । २४ लाखले सडक नबन्ने भएका कारण बजेट काटनु परेको हो ।’

मन्त्री शर्माले आगामी बजेटमा ग्रामिण सडकलाई पनि प्राथमिकतामा राखेको बताए । नेपालको सामाजिक रुपमान्तर गर्ने हो भने ग्रामिण सडक निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले नेपाली धनी देशका गरिब जनता भएको दाबी गरे । अर्थतन्त्रको विषयलाई राजनीतिको विषय बनाउँदा समस्या भएको उनको तर्क छ । मन्त्री शर्माले अब आर्थिक विषयलाई राजनीतिको विषय बनाउन नहुने दाबी गरे ।

बैठकमा मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजामा प्रयाप्त बजेट भएको भएपनि कार्यान्वयन पक्ष कमजोर भएको उल्लेख गरे । नहर बनेपनि शाखा नहर नबन्दा प्रयोगमा आउन नसकेको भन्दै अब त्यस्ता नहर बनाएर प्रयोगमा ल्याउने उल्लेख गरे । ‘अहिले जनताको खेत सुख्खा छन्’ उनले भने ‘नहरमा पानी बगिरहेको छ सरकारले यस्ता समस्या समाधन गर्छ ।’

उनले आ-आफ्नो क्षेत्रका आयोजनाको आफैले अनुगमन गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिए । मन्त्री शर्माले अब परियोजना राखेर ऋण लिने र त्यो ऋण परियोजनाले नै तिर्ने हो भने जनताको टाउकोमा ऋणको भार नपर्ने दाबी गरे । यस्तो आयात अहिले मात्रै नभएको भएर यसलाई केही हदसम्म घटाउनुपर्ने उनको भनाइ छ ।

विभिन्न समस्याका बाबदुत पनि आर्थिक वृद्धि ५.३ प्रतिशत बिन्दुमा हुने बताए । कोरोना महामारी नभएको भए, रुस-युक्रेन युद्ध नभएको भए ८ प्रतिशत बिन्दुमा आर्थिक बृद्धि गर्ने अपेक्षा रहेको बताए ।

निर्यातको प्रतिशत बढेको भएपनि रकमको हिसाबले निकै थोरै रहेको जानकारी गराए । १६.५ प्रतिशतले कम भएर विदेशी विनियम सञ्चिती ११ अर्ब बढी रहेको स्मरण गराए । कर्जा बढेका कारण बैंकमा तरलतामा चाप परेको बताए ।


क्लिकमान्डु