भारतीय बजार सुनिश्चित नभएपछि ८ अर्बका ६ उद्योगको लगानी अलपत्र



काठमाडौं । भारत निर्यातलाई लक्षित गरी खुल्ने तयारीमा रहेका खाने तेल उद्योगको लगानी अनिश्चित बनेको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षमा खाने तेल प्रशोधन गर्ने ६ वटा उद्योगमा ७ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो ।

भारतमा निर्यात हुने खाने तेलको भन्सार दर कम भएपछि पछिल्ला केही वर्षमा यसको निर्यात निकै बढेकाले नेपालमा उद्योग खोल्ने लहर चलेको थियो ।

तर, पछिल्लो समय भारतले खाने तेल आयातमा नीति परिवर्तन गर्न सक्ने तथा यसका लागि चाहिने कच्चा पदार्थ आयात नै गर्न नसक्ने स्थितीले तेल उद्योगमा हुन लागेको लगानी अनिश्चित बनेको हो ।

भारतीय बजारमा निर्यात हुने भएपछि सञ्चालनमा रहेका उद्योगीले क्षमता विस्तार गर्ने तथा नयाँ लगानीकर्ता समेत प्रवेश गर्ने तयारी गरेका थिए । उद्योग विभागमा ६ वटा ठूला उद्योगले ७७७ जनालाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतीय बजार अनिश्चित बनेसँगै तेल उद्योगमा लगानी गर्ने योजना अहिलेलाई स्थगित भएको एक उद्योगीले बताए ।

‘भारतीय बजारमा निर्यातको सम्भावना कम भएपछि जोखिमका लागि लगानी गर्ने कुरा भएन, बैंकको ऋण सहित २ अर्बजति लगानी गर्ने हाम्रो योजना स्थगित भएको छ,’ तेल उद्योगमा लगानी गर्ने योजना बनाएका एक उद्योगीले भने ।

भारतीय बजारमा मात्र भर परेका उद्योगीको लगानी समेत जोखिममा हुने खतरा पछिल्लो नीतिले देखिएको छ । भन्सार दरको मात्र फाइदा उठाएर भारतमा निर्यात गरिरहेका उद्योगीले तेस्रो मुलकबाट कच्चा पदार्थ ल्याएर भारत निर्यात गर्ने गरेका थिए ।

उद्योग विभागका अनुसार सिद्धिलक्ष्मी फुडले नवलपरासीमा १ अर्ब ७३ करोड, निकिता आयलले ९६ करोड, आरएमसी फुडले ७३ करोड, सिद्धिबिनायक आयलले ७३ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै अन्नपूर्ण रिफाइनरीले २ अर्ब ५७ करोड लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

९ महिनामा ८० अर्बको निर्यात

भारतमा ९ महिनामा ८० अर्बको खाने तेल निर्यात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भट्मासको तेल ४३ अर्ब ३० अर्बको निर्यात भएको छ । यस्तै पाम आयल ३६ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएको छ ।

भारतमा खाने तेल निर्यात भएपछि नेपालले १ खर्बभन्दा बढीको निर्यात गर्न सकेको छ । चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ६० अर्बको निर्यात गरेको छ । जसमा खाने तेलको हिस्सा ५० प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा ५३ अर्ब रुपैयाँको भट्मासको तेल निर्यात भएको थियो ।

भारतले नेपाललाई साफ्टा अन्तर्गत खाने तेल निर्यातमा भन्सार दर कम लिने गरेको छ । जबकी तेस्रो मुलुकबाट खाने तेल भारतमा आउदा बढी भन्सार लाग्ने गर्छ । पछिल्लो समय भारतले खाने तेलको मूल्य बढेपछि नेपाल बाहेक तेस्रो मुलकबाट आउने तेलमा लाग्ने भन्सार शुल्क घटाएको छ । पाम आयल उत्पादन हुने इन्डोनेसियाले समेत मूल्य बढाएको कारण नेपालको निर्यातलाई समेत समस्या पर्ने देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाको ५ अर्ब कर्जा
बैंक तथा वित्तीय संस्थाले खाने तेल उद्योगमा ४ अर्ब ९८ अर्ब कर्जा दिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म खाने तेल उद्योगमा ४ अर्ब ९८ अर्ब रुपैयाँ कर्जा गएको छ ।

चालु आर्थिक वर्षमा भने खाने तेल उद्योगमा बैंकहरुले दिएको कर्जा घटेको छ । असार मसान्तसम्म ५ अर्ब ६२ करोड कर्जा खाने तेल उद्योगमा गएको थियो । ९ महिनामा ६४ करोड ३६ लाख रुपैयाँले खाने तेल उद्योगमा जाने कर्जा घटेको छ ।


क्लिकमान्डु