डेढ महिना बित्दा पनि समाधान हुन सकेन भारतको कोइला संकट, गर्मीमा चर्को लोडसेडिङ



एजेन्सी । खासमा संकट बाजा बजाएर आउँदैन । तर, भारतका लागि विश्वव्यापी संकटको बाछिटा बजा बजाएरै आएजस्तो भएको छ ।

रुस र युक्रेन संघर्षका कारण विश्वव्यापीरुपमा कोइलाको अभाव र मूल्यबृद्धि भएपछि त्यसले पारेको प्रभाव आफैमा ठूलो पीडा दिने खालको छ । कोइलाको अभाव र बढ्दो गर्मीले भारतको ऊर्जा संकटलाई झनै बढाएर लगेको देखिन्छ ।

भरतको राजधानी नयाँ दिल्ली नजिकै रहेको सन्दीप मालको कारखानामा एक महिनाभन्दा बढी समयदेखि विद्युत् कटौती भइरहेको छ । कहिलेकाहीँ यो बिजुली कटौती दिनको १४ घण्टासम्म जान्छ । भारतमा इण्डियन प्रिमियर लिग (आइपीएल) चलीरहेका कारण ग्राहस्थ ग्राहकको बिजुली काट्ने अवस्थामा बिजुली वितरक छैनन् । जुन वितरकले बिजुली काट्छन्, त्यसको मुख्यालयमा ठूलो हमला हुने डर र त्रासका कारण पनि घरायसी ग्राहकको बिजुली नकाटी औद्योगिक क्षेत्रको मात्रै काटिएको छ ।

सन्दीप मालको कारखाना हरियाणाको फरीदाबादको ठूलो उत्पादन केन्द्रमा छ । जहाँ कारखानामा स्थापित ५० वटा मेसिनले एयरोनटिक्स, अटोमोबाइल, खानी र निर्माण उद्योगका लागि आवश्यक पर्ने सामान उत्पादन गर्छ ।

सन्दीप मल भन्छन्, ‘जति पटक बिजुली जान्छ, मेसिनहरू बन्द हुन्छन् जसले गर्दा उत्पादन पूर्णरूपमा तयार हुँदैन । यो उत्पादन अस्वीकार हुन्छ र हामीले फेरि उत्पादन सुरु गर्नुपर्छ ।’

कारखाना चलाउन डिजेल जेनेरेटर चलाउँदा पनि गतिलो भएको छैन । उनी भन्छन्, ‘विद्युत कम्पनीलाई पैसा तिर्नुभन्दा डिजेलमा कारखाना चलाउनु तीन गुणा महँगो पर्न जान्छ । तर, त्यो भन्दा अर्को विकल्प पनि छैन ।’

‘यस्तो अवस्थामा हामी बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौं, किनभने त्यहाँ नाफामा प्रत्यक्ष रुपमा कटौती भएको छ । यो धेरै डरलाग्दो छ । मैले देखेको दस वर्षमा यो सबैभन्दा खराब विद्युत कटौती हो,’ उनले भने ।

अप्रिल महिनादेखि सुरु भएको विद्युत् कटौतीको मारमा भारत परिरहेको छ । सोही कारण कारखानाको काम सुस्त भएको छ । विद्यालयहरु बन्द गर्नु परेको छ । प्रदर्शनहरु तीब्र बन्दै गएका छन् । तर, भारतीय सरकारको निकट रहेका कुनै पनि सञ्चार माध्यमले उपभोक्ता र उद्योगीले गरेको प्रदर्शनलाई कुनै पनि स्थान दिएका छैनन् ।

लोकलसर्कलले बिजुली कटौती र त्यसले पारेको प्रभावका बारेमा सर्वेक्षण गरेको छ । त्यसमा ३२२ जिल्लाका २१ हजारभन्दा बढी नागरिकलाई समावेश गरेको छ ।

सर्वेक्षणका अनुसार तीनमध्ये दुई घरधुरीले विद्युत् कटौतीको सामना गरिरहेको बताएका छन् ।

एकै समयमा, तीन मध्ये एक घरमा प्रत्येक दिन दुई घण्टा वा सोभन्दा बढी विद्युत् बन्द हुने गरेको बताएका छन् । यसबाट नरेन्द्र मोदीको सरकार क्रमशः अलोकप्रिय बन्दै गएको देखाएको छ ।

हरियाणासहित ९ राज्यले लामो समयदेखि विद्युत् संकटको सामना गरिरहेका छन् । विद्युत आपूर्ति कम हुनुको मुख्य कारण कोइलाको अभाव नै हो भन्नेमा सबै स्पष्ट छन् । तर, कोल इण्डियाको लाचारीपनका बारेमा कोही बोल्न तयार छैनन् ।

कोइलाको उत्पादन र उपभोक्ताको हिसाबले भारत विश्वको दोस्रो ठूलो देश हो । जीवाश्म इनधनकै कारण देशमा उज्यालो त छ । तर त्यसले उद्योग चलाउन सकेको छैन ।

उत्पादन हुने बिजुलीको तीन चौथाई कोइलाबाट उत्पादन हुने गरेको छ । भारतमा विश्वको तेस्रो ठूलो कोइला भण्डार पनि छ । तर, त्यसले खास अर्थमा काम गरेको देखिदैन ।

भारतले विश्वको सबैभन्दा ठूलो कोइला खानी कम्पनीमा दाबी त गर्छ । तर भारतमा प्रतिव्यक्ति उपभोग अझै न्यून छ ।

भारतले आफ्नो उपभोगको एक चौथाइभन्दा अलि कम मात्रै कोइला आयात गर्छ । यसमा धेरैजसो कोकिङ कोइला रहेको बताइन्छ । यस्तो कोइला ब्लास्ट फर्नेसहरूमा स्टिल बनाउन प्रयोग गरिन्छ । यो घरेलु रूपमा उपलब्ध छैन । त्यसको निरन्तर अभाव परिरहेको छ ।

गत वर्षको अक्टोबरमा पनि भारत विद्युत संकटको छेउमा पुगेको थियो । त्यसपछि देशको १३५ कोइला सञ्चालित प्लान्टको आधा भन्दा बढीको अवस्था भयावह बनेको थियो ।

ती प्लान्टमा कोइलाको मौज्दात सामान्य रूपमा कायम राख्नु पर्ने थियो । तर, २५ प्रतिशतभन्दा कम मात्रै देखियो ।

अहिले १७३ पावर प्लान्टमध्ये १०८ वटामा कोइलाको थोरै भण्डार रहेको बताइएको छ । युक्रेन युद्धले विश्वव्यापी रूपमा कोइला र प्राकृतिक ग्यासको मूल्य बढाएको छ । त्यसको नराम्रो असर भारतमा परेको जानकारहरुको भनाइ छ ।

यस्तो अवस्थामा कोइला आयात निकै महँगो र कठिन भएको छ ।

दिल्लीस्थित थिंक ट्यांक सेन्टर फर सोसल एन्ड इकोनोमिक प्रोग्रेसका वरिष्ठ फेलो राहुल टोंगियाका अनुसार यसपटक विद्युत् संकट पछिल्लो पटकको भन्दा खराब छ किनभने माग वास्तवमा निकै उच्च छ । एउटा नाजुक अवस्था सिर्जना भएको छ । यसका धेरै कारण छन् ।

अप्रिल महिनादेखि नै उत्तर र मध्य भारतमा सोचेभन्दा बढी गर्मी बढिरहेको छ । अप्रिल महिनाको औसत तापक्रम १२० वर्ष यताकै उच्च रहेको छ । जसले बिजुलीको माग रेकर्ड स्तरमा बढाएको छ ।

कोभिड–१९ महामारीपछि अर्थतन्त्र ट्रयाकमा फर्किएपछि बिजुलीको माग चरम सीमामा पुगेको छ ।

यसबाहेक, भारतीय रेलले माल ढुवानीका साथ साथै साझा ट्रयाकमा बढी यात्रुहरू बोक्न थालेको थियो । जसले गर्दा देशभर नै कोइलाको आयातमा कमी हुन थालेको थियो ।

राहुल टोगिंयाका अनुसार भारतमा कोइलाको पूर्णअभाव भइसकेको होइन । उनले भने ‘हामी पक्कै पनि भण्डारणको समस्याको सामना गरिरहेका छौं । यो कुनै नौलो कुरा होइन । हामीले अभावलाई सम्बोधन गर्ने र त्यसलाई थप्ने प्रणालीहरू बनाएका छौं ।’ विद्युतको माग मौसमी हुने विज्ञहरू बताउँछन् ।

भारतले परम्परागत रूपमा कोइला आयात गरेर आपूर्तिलाई बलियो बनाएको दाबी गरेको छ । तर, यस महिनाको अत्यधिक आपूर्तिले, भण्डारण सजिलै व्यवस्थापन गर्न सकिँदैन ।

सरकारले आपूर्ति सुनिश्चित गर्न सक्दो प्रयास गरिरहेको दावी गरेको छ । तर, समस्या समाधान भएको छैन ।

कोइला मन्त्रालयका अनुसार विश्वको सबैभन्दा ठूलो कोइला खानी कम्पनी कोल इन्डियाले भारतको ऊर्जा सुरक्षालाई सुदृढ गर्दै उत्पादन १२ प्रतिशतले बढाएको जिकिर गरेको छ ।

कोल इन्डियाले पनि अप्रिलमा ४९.७ मिलियन मेट्रिक टन कोइला विद्युत उत्पादन गर्ने कम्पनीहरूलाई पठाएको छ । जुन गत वर्षको अप्रिल महिनाको तुलनामा १५ प्रतिशतले बढी हो ।

इन्धन अभाव भएका प्लान्टमा थप कोइला ढुवानी गर्न रेलले एक हजारभन्दा बढी ट्रेनहरू रद्द गरेको छ ।

भारतमा कोइला र बिजुलीबीचको कमजोर सम्बन्धले पनि समस्या खडा गरेको छ । भारतका पावर प्लान्टले धेरै च्यानल मार्फत कोइला खरिद गर्छन्, जसमा यसको मूल्य धेरै महत्वपूर्ण छ ।

एउटै ठाउँमा एउटै कोइलाको लागत प्लान्टको लागि फरक फरक हुन सक्छ । यो प्लान्ट निजी हो कि सरकारी हो भन्ने कुरामा भर पर्छ ।

‘विद्युत खरिद सम्झौता’का आधारमा यो संकट सुरु भएदेखि नै अधिकांश विद्युत वितरण कम्पनी ऋणमा छन् । तर, समस्याको समाधान कसरी हुन्छ भन्ने बारेमा केही भनिहाल्ने अवस्था छैन । इण्डियन एक्सप्रेस र बीबीसी हिन्दीको सहयोगमा


क्लिकमान्डु