उम्मेदवारको खर्च विवरण गोप्यरुपमा पठाउन आयोगको निर्देशन



काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार तथा दलले गरेको खर्च अनुमान बैशाख ३० गतेभित्र निर्वाचन आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचनमा निर्वाचन प्रचारप्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोगजस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्मरुपमा अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुमान गर्न सकिने भएमा सो समेत गरी वैशाख ३० गतेभन्दा अगाडि गोप्यरुपमा आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफ २४ र दफा ६४ मा निर्वाचन दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोकेर नेपाल राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ । सो बमोजिम हुने, दल वा उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचन अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा पठाउन आयोगले भनेको छ ।

सम्बन्धित उम्मेदवारले कानूनबमोजिम बुझाउने निर्वाचन खर्चको विवरण तथा आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताले पेश गर्ने प्रतिवेदनसँग समेत भिडाई पठाउन आयोगले भनेको छ ।


क्लिकमान्डु