नेपालमा ३० प्रतिशतमात्रै खेतीयोग्य जमिनमा सिँचाई



काठमाडौं । एक अध्ययनले नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाईको व्यवस्था भएको देखाएको छ । नेपाल कृषि अनुसन्धान परिषदको अध्ययनले यस्तो देखाएको हो ।

सिँचित जमिन कम भएकाले पनि खाद्यन्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा. दिपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाई, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।

कार्यकारी निर्देशक भण्डारीले सिँचाईका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्न नसकिएको स्मरण गराए । ‘अहिले ३० प्रतिशत जग्गामा मात्रै सिँचाई छ ।

सिंचाई मन्त्रालयमा जाने पैसा सिँचाईको एरिया बढाउन होईन तटबन्ध निर्माणमा खर्च हुन्छ’ उनले भने ‘यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाईको एरिया बढाउने काममा समस्या छ । सिँचित जमिन नबढाई उत्पादन बढाउन सकिदैन । त्यसैगरी उत्पादन बढाउनका लागि मल र प्रविधिको पनि उचित व्यवस्था गर्नुपर्ने हुन्छ ।’

परिषदले हालसम्म ८० वटा बस्तुबालीका ७२३ जातहरु विकास गरी कृषकको खेतवारीमा पुगेको जनाएको छ । त्यसैगरी माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको पनि परिषदका कार्यकारी निर्देशक भण्डारीले बताए ।


क्लिकमान्डु