सुनचाँदी आयात शुरु गर्दै वाणिज्य बैंक, व्यवसायीहरुले अर्को सातादेखि पाउने



काठमाडौं । करिब एक महिनादेखि रोकिएको सुनचाँदी आयात फेरि शुरु हुने भएको छ ।

आयात ठप्प भएपछि गत चैत २४ गतेदेखि व्यवसायीहरुलाई सुनचाँदी वितरण रोकिएको थियो ।

तत्कालीन समयमा उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सुनचाँदी आयातका लागि एलसी खोल्न नै बन्द गरिएको थियो । एलसी खोल्न बन्द भएपछि व्यवसायीहरुले सुनचाँदी पाउन छाडेका थिए ।

जसले गर्दा व्यापारमा मन्दी छाएको थियो । र, व्यवसायीहरुले ग्राहकलाई नयाँ सुनका गहना दिन सकेका थिएनन् ।

त्यसपछि लामो समयसम्म सुनचाँदीको अभावको व्यवसाय सञ्चालनमा समस्या आएको व्यवसायीहरुले गुनासो गर्र्दै आएका थिए ।

तर अब भने उक्त समस्या समाधान हुन लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

व्यवसायीहरुको आग्रहमा बैंकहरु सुनचाँदी आयातका लागि सहमत भएका हुन् । महासंघका अनुसार अहिले बैंकहरुले यसका लागि एलसी खोल्न थालिसकेको र एक सातापछि दैनिक १० केजीका दरले पाइनेछ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मौखिक अनुरोधका आधारमा बैंकहरुले सुनचाँदी आयातका लागि एलसी खोल्न बन्द गरेका थिए ।

त्यसअघि गत मंसिरमा एक पटकमा ४० केजीभन्दा बढी चाँदी ल्याउन नपाउने व्यवस्था गरिएको थियो ।

त्यस्तै, पुसमा नेपाल राष्ट्र बैंकले आयात गर्दा प्रतितपत्र (एलसी) मार्जिनको व्यवस्था गरेको थियो ।

तर चैतमा राष्ट्र बैंकको निर्देशनमा बैंकर्स संघले एलसी नखोलने निर्णय गरेसँगै सुनचाँदी व्यवसायीहरूले सुनचाँदी पाउन सकेका थिएनन् ।

महासंघका महासचिव धर्मभक्त बज्राचार्यका अनुसार सरकारले सुनचाँदीको आयात खुला गरेपनि व्यवसायीहरुले पनि अझै नपाएको बताए ।

‘अहिले बैंकहरूले आयातका लागि एलसी खोल्न थालिसकेका छन्,’ उनले भने, ‘विस्तारै सुन आपूर्तिमा सहज हुनेछ ।’

उनका अनुसार अब केही समयमै व्यवसायीहरुले दैनिक १० केजीका दरले सुन पाउने बताए । उनले ईदलगायतका अन्य विदाका कारण आयात तत्कालका लागि प्रभावित भएको बताए ।

१५ लाख मानिस आश्रित
उद्योग क्षेत्रमध्ये सबैभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको यस क्षेत्रमा २ लाख बढीले रोजगारी पाएको महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

उनकाअनुसार यस क्षेत्रले २ लाखभन्दा बढीलाई रोजगारी दिँदा सो श्रमिकबाट १५ लाख मानिस आश्रित छन् ।

देशभर २५ हजारको हाराहारीमा सुनचाँदी व्यवसायी रहेका छन् । उक्त प्रत्येक व्यवसायीले ६ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ ।

तर, सरकारले विभिन्न चरणमा कडाइ गर्दा यस क्षेत्रमा आबद्ध रहेको श्रमिक अर्थात् कालीगढको रोजगारीमा निकै धक्का पुग्ने गरेको उनको भनाइ छ ।

‘सुनचाँदी क्षेत्रमा ८० प्रतिशत नेपाली कालिगढ छन् भने बाँकी २० प्रतिशत विदेशी कालीगढ छन्,’ अध्यक्ष शाक्यले भने ।


क्लिकमान्डु