मूल्य बढेसँगै बजारमा निर्माण सामग्रीको अभाव, ४० प्रतिशत पनि विकास खर्च नहुने



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभावसँगै मूल्य वृद्धि हुँदा अधिकांश उद्योगमा असर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा उच्च रुपमा मूल्यवृद्धि भएपछि कोइलाबाट चल्ने उद्योगको लागत बढ्न गई अधिकांश वस्तुको मूल्य बढ्न गएको छ ।

करिब २ महिनाअघि प्रतिटन ४२५ डलरसम्म कायम भएको कोइलाको मूल्य पछिल्ला दिनहरूमा निरन्तर घट्दै गएको छ । दुई महिनाको अन्तरालमा अन्तर्राष्ट्रिय बजारमा १ सय डलरले कोइलाको मूल्य घटेको छ । तर, मूल्यवृद्धि भने कायमै रहेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा नेपाली बजार तय हुने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने वित्तिकै वस्तुको मूल्य बढाउन शुरु गरेको उद्योगीहरूले कोइलाको मूल्य घटे पनि वस्तुको मूल्य भने घटाउन सकेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्न शुरु गरेसँगै व्यवसायीहरूले वस्तुको उच्च मूल्य बढाएका थिए । तर, अहिले घटेको समयमा झनै मूल्य बढाएको छ ।

कोइलाको मूल्यवृद्धिले गर्दा बजारमा सबैभन्दा बढी असर पुग्ने क्षेत्र हो निर्माण सामग्री । विशेषगरी, डण्डी, सिमेन्ट, इट्टा, तारलगायत अन्य विभिन्न निर्माण सामग्री उत्पादनमा प्रयोग हुने कोइलाका कारण बजारमा अधिकांश वस्तुको मूल्य उच्च वृद्धि भएको छ ।

उद्योगीहरूले कोइला आयात गरेर वस्तु उत्पादन गर्दा लागत बढेको बताएका छन् । दुई महिनादेखि उच्च रुपमा बढेको निर्माण सामग्रीको मूल्य अहिलेसम्म पनि कायमै छ । निर्माण सामग्रीको मूल्य उच्च रुपमा बढेसँगै निर्माण व्यवसायी महासंघले महंगीमा काम गर्न नसक्ने भन्दै निर्माण होलिडेको घोषणा गरेको छ ।

महासंघले देशभरमा रहेको विकास निर्माणका कार्यलाई ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । महासंघले गत वैशाख ११ गतेबाट बढेको मूल्य समायोजन गर्नुपर्ने भन्दै निर्माण होलिडे मनाएका हुन् ।

निर्माण व्यवसायीले देशभरको निर्माण कार्य ठप्प पारेको ९ दिन बितिसकेको छ । तर, सरकारबाट कुनै सम्बोधन नभएको निर्माण व्यवसायीहरू बताउँछन् ।

महासंघका अध्यक्ष रवि सिंहले सरकारले मूल्यवृद्धि समायोजन नगरेसम्म विकास निर्माणको कार्य अगाडि नबढ्ने बताए । उनकाअनुसार निर्माण व्यवसायीले विभिन्न चरणमा छलफल गरेको छ । उक्त छलफलबाट केही निष्कर्ष आउनेछ ।

निर्माण होलिडे शुरू गर्दा करिब ३ हजार ५ सय आयोजना प्रभावित भएका छन् । पछिल्लो समयमा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रावधान लगायतका कारण समस्यामा परेको महासंघको दाबी छ ।

मूल्यवृद्धिसँगै अभाव

बजारमा निर्माण सामग्रीको मूल्यवृद्धिसँगै अभाव देखिन थालेको छ । बजारमा अहिले डण्डीको मूल्य प्रति केजी १३० रुपैयाँदेखि १४२ रुपैयासम्म पुगेको छ । बजारमा पाइने अधिकांश कम्पनीको डण्डीको मूल्य १३० रुपैयाँभन्दा माथि पुगेको छ ।

पञ्चकन्या स्टिल, हिमाल स्टिल, काठमाडौं स्टिल, अम्बे स्टिल, जगदम्बा स्टिललगायत अन्य कम्पनीकोस्टिलको मूल्य १३० देखि १४२ रुपैयाँसम्म कायम भएको छ ।

त्यसैगरी, सिमेन्टको मूल्य पनि बढेको छ । बजारमा करिब २ महिनाको अन्तरालमा सिमेन्टको मूल्य ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म बढेको छ । अहिले सिमेन्टको मूल्य प्रतिबोरा पीपीसी सिमेन्ट ६५० रुपैयाँदेखि ७ सय रुपैयाँ कायम भएको छ भने ओपीसी सिमेन्ट ७५० रुपैयाँदेखि ८१० रुपैयाँ कायम भएको छ ।

बजारमा कम्पनीहरूअनुसार मूल्य फरक–फरक भएकाले अधिकांश ब्राण्डका सिमेन्टको मूल्य ६५० रुपैयाँमाथि रहेको छ । साथै, इट्टाको मूल्य पनि बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अत्याधिक बढ्दा इट्टाको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । त्यससँगै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गर्दा ढुवानी खर्च बढाएकाले निर्माण कार्य अगाडि बढाउन नसक्ने निर्माण व्यवसायीहरूको भनाइ छ ।

एकातिर उच्च निर्माण सामग्रीको मूल्य बढेको छ भने अर्कोतर्फ निर्माण सामग्री पर्यात पाउन छोडेको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताए । अहिले कोइलाको अभाव र लोडसेडिङले गर्दा उत्पादन कम छ । जसले गर्दा निर्माण सामग्री पर्याप्त नपाएको उनको भनाइ छ ।

बजारमा अहिले सिमेन्ट, डण्डीलगायतका निर्माण सामग्रीको अभाव देखिएको उनले बताए ।

४० प्रतिशत पनि विकास खर्च नहुने

चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४० प्रतिशत पनि विकास खर्च नहुने भएको छ । प्रतिस्थापन विद्येयकका कारण समयमा बजेट कार्यन्वयन नहुँदा विकास खर्च निकै ढिला भएको अवस्थामा अहिले महंगीका कारण विकास निर्माण कार्य अगाडि बढाउन नसक्दा ४० प्रतिशत पनि विकास खर्च नहुने देखिएको हो ।

महासंघका अध्यक्षले अहिलेसम्ममा करिब साढे २८ प्रतिशत मात्रै काम भएको छ । बाँकी २ महिना छ । सो अवधिमा १० प्रतिशत पनि विकास खर्च नहुने उनले बताए ।

विकास खर्च निकै कमजोर देखिएको अवस्थामै निर्माण व्यवसायीले थप निर्माण होलिडे मनाउँदा विकास निर्माणको कार्य निकै पछि धकेलिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको लागि ३ खर्ब ७८ अर्ब विकास बजेट छुट्याएकोमा हालसम्म १ खर्ब ७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । जसमा चालु आवमा डेढ खर्ब पनि खर्च नहुने उनले उल्लेख गरे ।


क्लिकमान्डु