बीपी प्रतिष्ठानमा १८ वर्षपछि थपियो नयाँ डाइलासिस मेसिन



काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डाइलासिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका ८ शैय्याको कक्षलाई विस्तारित गरी बिहीबारदेखि २० शैय्याको डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा बिहीबार अपराह्न आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरेका छन् । कार्यक्रममा अस्पतालका निर्देशक गौरीशंकर साह, डिनहरू, विभागीय प्रमुखहरू, चिकित्सकहरू, विद्यार्थीहरूको उपस्थिति थियो ।

कक्षको उद्घाटन गर्दै उपकुलपति गिरीले यस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगमा बढ्दै गएका मृगौलाका बिरामीहरुलाई यस यूनिटले थप मद्दत मिल्ने विश्वास व्यक्त गरे । उनले यो युनिटको विस्तारले यस किसिमको सेवा विस्तारमा कोशेढुंगाको काम गरेको समेत बताए ।

पूर्व क्षेत्रकै सबैभन्दा ठूलो र उत्कृष्ठ अस्पतालको रुपमा रहेको प्रतिष्ठानमा यसअघि डाइलासिस गर्ने बिरामीको चाप रहँदै आएको थियो । जडित मेसिनको क्षमताभन्दा बढी बिरामी आएपछि कतिपय बिरामीले सेवा नै नपाउने अवस्था समेत रहेको थियो ।

२० शैय्यामा उपचार कक्ष विस्तार भएपछि अब बिरामीले सहज रुपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चुडामणि पोखरेलको भनाइ छ ।

अहिले प्रतिष्ठानमा ५० जना स्थानीय र झण्डै ७० जना बाहिरका समेत गरी करिब १ सय २० जना नियमित डाइलासिस गर्नुपर्ने बिरामी रहेका छन् । त्यसबाहेक इमर्जेन्सी बिरामी समेत आउने गरेका समेत गरी सोभन्दा बढी बिरामीलाई नियमित सेवा दिनुपर्ने अवस्था छ ।

यसअघि रहेका ८ वटा मेसिनले मासिक १ हजार पटक डाइलासिस गर्न सम्भव थियो । सोही कारण करिब ५० जना बिरामीले डाइलासिस सेवा नै नपाएको अवस्था थियो । अब अस्पतालमा डाइलासिस क्षमता बढेर अब २ हजार ५ सय पुगेको छ । योसँगै थप बिरामीले समेत सेवा पाउनसक्ने अवस्था रहेको सह–प्रवक्ता पोखरेल बताउँछन् ।

प्रतिष्ठानमा डाइलासिस सेवा सुरु भएको २३ वर्ष पूरानो इतिहास छ । सन् १९९९ मा तात्कालिन उपकुलपति डा. शेखर कोइरालाको कार्यकालमा सुरु भएको थियो । २ शैयाबाट सुरु गरिएको उक्त सेवाले अपुग भएपछि त्यो बेला मेडिसिन विभागका डा. सञ्जिव कुमार शर्माले सोही अस्पालबाट आफैंले घर बसेर गर्ने सीएपीडी प्रविधिको डाइलासिसको सुरुवात गरेका थिए ।

सन् २००२ बाट प्रतिष्ठानमा शुरु भएको यो विधि ५ वर्षसम्म अरु कुनै अस्तालमा गरिएन । सन् २००४ मा डा. शर्माकै पहलमा बेलायतस्थित रोयल लण्डन अस्पतालबाट ११ थान डाइलाइसिस मेसिन सहयोग ल्याइएपछि अस्पतालको मेडिकल विभाग अन्तर्गत डाइलासिस युनिटको स्थापना गरिएको थियो । अहिले झन्डै १८ वर्षपछि उक्त युनिटको स्तरोन्नति भएको छ ।


क्लिकमान्डु