गोबर बेचेरै मासिक ९० हजार कमाइ, भैंसी छाडेर गाई पालनमा लाग्दा लिलादेवीले पाइन् सफलता



बिराटनगर । वैशाख महिनाको चर्को गर्मीको उकुसमुकुस छिचोल्दै हामी विराटनगर–४ इक्राहिकी लिलादेवी यादवलाई भेट्न पुग्दा उनी गाई गोठमा व्यस्त थिइन् ।

लिलादेवीले गोठमा बाँधिएका सबै गाईलाई पालैपालो विहानको दानापानी खुवाइन ।

१५ वर्षअघि यही गोठमा एक दर्जन भैंसी थिए । जुन यादवको ७ जनाको परिवार चल्नका लागि अर्थोपार्जनको एक मात्रै स्रोत थियो । आम्दानी पनि राम्रै थियो ।

तर समयक्रमसँगै भैंसीका लागि आवश्यक घाँस पानीको अभाव हुँदै गयो । फेरि समय पनि धेरै दिनुपर्ने । त्यसैले यादव परिवारलाई लाग्यो, भैंसीको साटो गाई पालन गरौं । यसका पछाडि २ वटा कारण थिए, स्याहारका लागि समय पनि कम लाग्ने र खर्च पनि कम हुने ।

त्यसैले होला, पछिल्लो १२ वर्ष यादव परिवार खेतिपातीसँगै गाईपालनमा निरन्तर आबद्ध छ ।

लिलादेवीले त्यो समयमा जीवन विकास लघुवित्तबाट १५ हजार रूपैयाँ ऋण लिएर भैँसी बाँध्ने गोठमा गाई पालन शुरु गरिन् ।
२ वटा माउ गाईबाट उनले गाई पालनको व्यवसाय शुरु गरिन् ।

‘त्यो समयमा १२ वटा भैंसी थिए । आम्दानी पनि राम्रै थियो,’ उनले भनिन्, ‘भैंसीको पालनपोषणमा बढी ध्यान दिनुपर्ने । बढी दुःख गर्नुपर्ने भएपछि गाइपालन गर्ने सोच बनाएका थियौं ।’

भैंसीबाट आफ्नो गुजारा चलाउँदै आएका यादवको परिवारलाई मनमा त्रास थियो, गाईपालन फस्टाउँछ कि फस्टाउँदैन भनेर ।
तर, यादवको परिवारको आर्थिक अवस्था सुधार गर्नमा तीनै गाईले थप सहजता थपिदिए ।

शुरूमा यादवको गोठमा दुई माउ गाई आए । २ वटा माउ गाईको संख्या अहिले १० पुगेको छ । यी गाई भारतबाट ल्याएका हुन् । हाल उनीसँग १० वटा माउ गाई छन् । १० माउका १० वटै बाछाबाछ्छी छन् ।

लिलादेवी विराटनगर शाखा ‘इक्राही जीवन विकास केन्द्र, ३९’ की सदस्य हुन् । त्यसैले उनले ऋण पनि त्यहीबाट लिइन् ।

गाई थप्दै गर्दा यादवले शुरुमा लिएको १५ हजार रुपैयाँ ऋणको आकार बढाएर ६ लाखसम्म पुर्याईन् । लिलादेवीले हाल मासिक १९ हजार ५ सय रूपैयाँ ऋणको किस्ता मात्रै तिर्दै आएकी छन् ।

उनको गोठमा बाँधिएका गाईले दैनिक १ सय लिटर दूध र दैनिक ३ हजार रुपैयाँ बराबरको गोबर पनि दिन्छन् ।

१० वटा लैना गाईले सााझ बिहान गरी १ सय लिटर दूध दिन्छन् । यादवको परिवारले गोबर पनि बिक्री गर्छन् । दिनमा यादवको गोठबाट ३ ट्याक्टर गोबर निस्किन्छ ।

जीवन विकास लघुवित्तले उनीहरूको गोठबाट निस्केको एक ट्याक्टर गोबरको मूल्य १ हजार रूपैयाँ निर्धारण गरिदिएको छ । उनीहरूले दैनिक ३ हजार रूपैयाँको गोबर बेच्छन् ।

त्यो पनि जीवन विकास लघुवित्तले नै किनिदिन्छ ।

‘हामीले गोबर बेचेरै दिनमा ३ हजार रूपैयाँ कमाउछौँ,’ गाई गोठतिर देखाउँदै लिलादेवीका श्रीमानले भने ।

दैनिक ३ हजार रूपैयाँको गोबर बेचेर उनीहरूले गाई चाहिने चोकड किन्छन् । दैनिक ३ हजारका दरले गोबर बेच्दा गोबरबाट उनीहरूले मासिक ९० हजार आम्दानी गर्छन् ।

गाईपालनसँगै यादवको परिवार खेतीपातीमा पनि सक्रिय छ । गोठमा बाँधिएका गाईलाई आजसम्म घाँस किन्नु परेको छैन ।

उनीहरूले एक बिघा जग्गा घाँस लगाएका छन् । त्यही जमिनमा लगाएको घाँसले उनीहरूलाई पुर्याएको छ । यादव परिवारले गोबर बेचेर आएको रकम पनि गाईलाई नै खर्च गर्छन् । चोकड किन्न गोबर बेचेकै पैसाले पुगेको छ ।

‘घाँस किन्नु आजसम्म परेको छैन । एक बिघामा घाँस लगाएका छौँ,’ लिलादेवीले भनिन्, ‘गाईका लागि चोकड किन्न गोबरले नै पुर्याएको छ ।’

जीवन विकास लघुवित्तले ऋणी र सदस्यहरूको सहजताका लागि यस्तो सेवा दिएको विराटनगर शाखाकी शाखा प्रमुख शर्मिला कुमारी यादवले बताइन् ।

उनले संस्थामा आवद्ध भएका सदस्यहरूलाई निशुल्क परामर्श दिने योजना पनि अघि सारेको बताइन् ।

गाईपालनमा लागेर जीवन सहज
१२ वर्षअघि पनि लिलादेवीको परिवार खेतीपाती र पशुपालनमा नै आश्रित थियो । र, आज पनि उनीहरूको परिवारको आर्थिक स्रोतको मुख्य आम्दानी पशुपालन र खेतीपाती नै हो ।

यादव परिवारको गोठमा पहिले भैंसी थिए । अहिले गाई छन् । झट््ट हेर्दा १२ वर्षको अवधिमा लिलादेवीको परिवारमा देखिएको परिवर्तन यही हो ।

तर, लिलादेवी भने गाईपालनमा लागेर आफूले धेरै काम गर्न सफल भएको महशुस गर्छिन् ।

आज पनि तराई समूदायमा दाइजो प्रथा कायमै छ । लिलादेवीले आफ्नी ३ छोरीको विवाह गरिसकेकी छिन् । ३ छोरीलाई दाइजो दिने रकम गाईपालनबाटै सम्पन्न भएको लिलादेवी बताउँछिन् ।

‘गाईपालनमा लागेर धेरै राम्रोसँगले परिवार चलेको छ । गाई पालेरै छोराछोरीको विहे गरियो । तीन छोरीलाई दाईजो,’ लिलादेवीले भनिन् ।

आफ्नै डेरी
यादव परिवारले अहिले आफ्नै डेरी खोलेका छन् । आफैले उत्पादन गरेको दूध आफ्नै डेरीमार्फत् बिक्रि गर्न उनीहरूले आफ्नै डेरी खोलेका हुन् ।

अरूलाई दूध बेच्दा ६०/७० रूपैयाँका दरले दिनुपर्ने । यादव परिवारले दूध बेचेर नाफा खान आफ्नै डेरी खोल्ने योजना बनाए ।

अरूलाई बेच्दा कम मूल्यमा बेच्नु पर्ने तर आफ्नै डेरी हुँदा बढी मूल्यमा बेच्न पाईने हुँदा उनीहरूले डेरी खोल्ने योजना बनाए ।

‘अरूलाई दूध बेच्दा ६०÷७० रूपैयाँका दरले दिनुपर्छ । आफ्नै डेरीबाट बेच्दा ८०÷९० ले बेच्न पाईन्छ,’ लिलादेवीले भनिन्, ‘अरूले रोजगारी पनि पाए । बिक्री नभएको दूधको पनि सदुपयोग गर्न सकियो ।’

कान्छा छोराले भिसा क्यान्सिल
स्वदेशमा रोजगारीका अवसर सृजना नहँुदा विदेशीने दर बढ्दो छ ।

स्वदेशमा रोजगारी नपाएर निराश बनेका युवा दुई÷चार पैसा कमाउन भन्दै दैनिक १५ सयको हाराहारीमा विदेशिन्छन् ।

विदेश जाने सपना देखेका युवाहरूमध्ये कसैले पनि सोचेका हुँदैनन्, मिहेनत गर्दा स्वदेशमा आफैँ पनि रोजगार बन्न सकिन्छ भनेर ।

लिलादेवीका काञ्छा छोराले पनि विदेश गएर टन्न पैसा कमाउने सपना देखे । उनलाई पनि विदेश जाने मोहले काठमाडौंसम्म डोर्यायो ।

विदेश जाने सबै प्रक्रिया पनि पूरा भयो । भिसा पनि लाग्यो । तर, उनले लागेको भिसा क्यान्सिल गरे । र, सम्हाल्न थाले गाइपालन ।

हुन त लिलादेवीका जेठा छोरा पनि विदेश गएका थिए । विदेशमा चार वर्ष बसे ।

विदेशबाट फर्केर पछि उनले पनि गाउँमै बस्ने निधो गरे । उनी आफ्नै व्यवसाय थालेका छन् ।

‘यहाँ कमाइ पनि छ । दुखसुख पोख्ने परिवार पनि छ’ यादवले भनिन् ।

‘विदेशभन्दा बढी यहि कमाइ हुन्छ । परिवारसँग बस्न पाइन्छ, आमासँग बस्न पाईन्छ’ लिलादेवीका काञ्छा छोरा भन्छन्, ‘विदेशमा बढी दुख हुन्छ । विदेशमा गर्ने दुःख यहि गर्छु । यही कमाउँछु ।’


बिजया बास्कोटा