गुजारा टार्न बेचेको सम्पत्ति फर्काउँदै भट्टराई दम्पत्ति, बाख्रापालनबाट मालामाल आम्दानी
इलाम । जीवन सँधै एकैनासले चल्दैन । रोङ गाउँपालिका ३, इलामका भटट्राई दम्पत्तिको जीवनमा पनि धेरै उतारचढाव आए । जीवनको क्षण यस्तोसम्म आयो दुई छाक टार्न पुख्र्यौली सम्पत्ति बेच्नु पर्यो ।
२३ हजारमा किनेको ५ रोपनी जग्गामा केही गरौंला भन्ने थियो । सोचेजस्तो नभएपछि अलिकति पैसा बढी आउँछ भनेर ६० हजारमा बेचे । नयाँ ठाउँमा पुनः जग्गा त किने तर आर्थिक अवस्था डामाडोल भएपछि पुनः बेचे ।
१ छोरा र २ छोरीलाई पालन पोषण गर्ने जिम्मेवारी थियो । दैनिकी चलाउन पुर्ख्यौली जग्गा बेचेका उनीहरू शून्यमा झरे ।
‘हाम्रो आर्थिक स्थिति नाजुक हुँदै गएको थियो,’ दमान्ता भट्टराईले भनिन्, ‘भएको जग्गा पनि बेचे पछि केही थिएन ।’
खेतीपाती र तरकारी व्यवसायबाट आर्थिक अवस्था उकास्न खोजिरहे । तर, लगानीभन्दा उब्जनी कम भयो । तरकारी व्यापारबाट घाटा खाए ।
‘तरकारी व्यापारबाट घाटा भयो, तौलिँदा घाटा हुन्थ्यो, बन्द हड्तालले गर्दा धेरै नै नोक्सानी खेप्नु पर्थ्यो,’ दमान्ताले विगत सम्झिदै भनिन्, ‘जग्गा जमिन नभएको अवस्थामा तरकारी व्यापारबाट डुबियो ।’
समय चल्दै थियो । गाउँमा निर्धन उत्थान लघुवित्तले समूह गठन गर्ने हल्ला उनीहरूको कानमा पर्यो ।
घरघरमा पुगेर निर्धनका कर्मचारीले सदस्य भएपछि राम्रो आर्थिक अवस्था सुध्रिन्छ, राम्रा लुगा लगाउन पाइन्छ भनेर समूहमा बस्न अनुरोध गरे ।
निर्धनका ती कर्मचारीले भनेको कुरामा आकर्षित भएर समूह गठन हुने भयो । त्यही कुराले दमान्ता पनि आकर्षित भइन् ।
‘राम्रो होला भनेर समूहको सदस्य बने,’ दमान्ताले भनिन् ।
निर्धनले गठन गरेको उक्त समूहमा दमान्ता भट्टराई पनि सहभागी भइन् ।
२०६६ साल असोज २९ गते उनी निर्धनमा सदस्य बनिन् । निर्धनमा आवद्ध भएपछि उनीहरूले खेतीपाती र तरकारी व्यापार गर्न थाले ।
निर्धन उत्थान लघुवित्तबाट ऋण लिएर अदुवा खेती गरे । आर्थिक अवस्था नाजुक भएको अवस्थामा अदुवा खेतीले पनि उनीहरूलाई साथ दिएन ।
समूहमा बसेपछि दमान्ताले पहिलो पटक २० हजार रूपैयाँ ऋण लिइन् ।
अदुवा खेती राम्रो भएन । रोगका कारण अदुवा कुहिएर खेर जान थाल्यो । अदुवा खेती नफस्टाएपछि उनीहरूलाई ऋणको भार झन् थपिँदै जान थाल्यो । तर, पनि उनीहरूले दुई चार वर्ष खेतीपातिबाटै आर्थिक अवस्था सुधार गर्न लागि परे ।
अदुवा खेतीबाट पनि आर्थिक अवस्था माथि जान उस्किन सकेन । समूहमा बसेपछि दमान्तालाई पनि थाहा भयोे सफल नभएपछि एउटै व्यवसायमा अल्झेर आर्थिक अवस्था उक्सँदैन ।
‘समूहमा बसेपछि बुद्धि आयो । बाख्रा पालन गर्ने योजना बनायौँ,’ दमान्ता भन्छिन् ।
तरकारी खेतीबाट सिजनअनुसारमात्रै आम्दानी हुने, बर्खामा मात्रै हुने र हिउँदमा व्यवसाय नहुने समस्या थियो । आफूले उत्पादन गरेको र गाउँघरमा उत्पादन भएको तरकारी किनेर तरकारी व्यापार गर्दै आएका भटट्राई दम्पत्तिले बाख्रा पालन गर्ने निधो गरे ।
निर्धनबाट लिएको २० हजार रूपैयाँले अदुवा खेती चलाउँदै थिए । खेतीपाती नफस्टाए पछि बाख्रा पालनमा लागे ।
‘१० हजार रूपैयाँ दुई माउ किनेर बाख्रा पालन शुरु गर्यौं,’ दमान्ताले आफ्नो विगत सम्झिन् ।
२०७२ सालभन्दा अघि निर्धन उत्थान लघुवित्तले समूहलाई ऋण दिन्थ्यो । सो समूहले सदस्यहरूलाई ऋण दिन्थे । समूहमार्फत नै लघुवित्त कम्पनीहरूलाई कर्जा भुक्तानी हुन्थ्यो । त्योबेला एउटामात्रै बैंक खाता हुने र समूहलाई नै कर्जा लगानी गर्न दिइने व्यवस्था भएको शाखा कार्यालय फिक्कल, इलामका शाखा प्रमुख एक नारायण शर्माले बताए ।
२० हजार रूपैयाँ ऋण लिँदा कसरी तिर्ने भन्ने डर थियो दमान्ताको मनमा । २०७२ सालपछि मात्रै उनले १२ लाख रुपैयाँ ऋण लिएको निर्धनको तथ्यांक छ । दमान्ताले तीन लाख ४० हजारमा ऋण सीमित बनाएकी छिन् ।
वर्षमा तीन लाखको खसी बेच्छन्
२ माउबाट बाख्रा पालन शुरु गरेका भट्टराई दम्पत्तिका खोरमा साना ठूला गरेर अहिले ६१ वटा संख्याको हाराहारीमा बाख्रा छन् ।
वर्षमा १५ वटा खसी १५ हजार रुपैयाँका दरले बेच्दा पनि उनीहरूले तीन लाख आम्दानी गर्छन् । यस्तै, माउ बाख्रा तथा पाठापाठी पनि बेच्छन् । सबै गरेर वार्षिक ५ लाख रूपैयाँ आम्दानी हुने दमान्ताको भनाइ छ ।
उनी निर्धन बाहेक साहारा शहकारीमा पनि आवद्ध छिन् । तर, कर्जा भने निर्धनबाट मात्रै लिन्छिन् । उनलाई अन्य बैंक तथा वित्तीय संस्थाले पनि लघुवित्तले भन्दा ठूलो रकम ऋण दिन्छन् भन्ने थाहा छ ।
तर, उनको आवश्यकता निर्धनले नै पूरा गरिदिएको छ ।
‘हाम्रो आवश्यकता निर्धनले नै पूरा गरिदिएको छ’ दमान्ताले भनिन्, ‘पाइन्छ भन्दैमा जति पनि ऋण लिने कुरा पनि भएन । पछि तिर्न नसकिएला ।’
कर्जा लिनुभन्दा अघि लघुवित्तका कर्मचारीले सबै कुरा बुझाएर दिन्छन् । उनकै समूहमा पनि समयमा नै ऋणको किस्ता नतिर्नेलाई लघुवित्तले कारबाही पनि गर्ने उनी बताउँछन् ।
कर्जा लिनुभन्दा अघि कर्मचारीले कर्जा चुक्ता गर्ने अवधि, कर्जाको किस्ता भुक्तानी गर्ने अवधिका बारेमा सबै जानकारी दिएका कारणले गर्दा नै १२ वर्षे अवधिमा आफूले कर्जाको किस्ता समयमा तिर्न सकेको दामन्ता बताउँछिन् ।
हाल दमान्ताले मासिक १ सय रूपैयाँ बचत गर्छिन् । शर्माका अनुसार समृद्धि बचत अन्र्तगत समूहमा आवद्ध भएका प्रत्येक सदस्यले १५ सय रूपैयाँ बुुझाउँछन् । १४ वर्षसम्म ती सदस्यले १५ सय रूपैयाँका दरले मासिक बचत गर्छन् । र, १४ वर्षको अवधिमा प्रत्येक सदस्यहरूले दोब्बर रकम पाउने शर्माको भनाइ छ ।
शर्माका अनुसार नियमित किस्ता बुझाउने ऋणीहरूमा दमान्ता पनि पर्छिन् । कहिले काँही किस्ता बुझाउन गाह्रो पर्ने दमान्ता बताउँछिन् । तर, जसोतासो गरेर भए पनि भाखा नाघ्न भने नदिएको उनको भनाइ छ ।
गुमेको सम्पत्ति फर्काउँदै
दमान्ताको जीवनमा परिवर्तन आउँदै छ । १२ वर्षअघि निर्धन उत्थानमा जोडिएपछि जीवनमा परिवर्तन आउन थालेको उनी बताउँछिन् ।
दमान्ताले २ छोरीमध्ये एउटी छोरीको विवाह गरिसकेकी छिन् । एउटी छोरीलाई व्यवस्थापन संकायमा स्नातक अध्ययन गराउँदै छिन् ।
छोरा रोजगारीका लागि दुवई पुगेका छन् । छोरीको विवाह गर्न, अर्की छोरीलाई स्नातक पढाउन र छोरालाई विदेशसम्म पुग्न खसी बाख्राले सघाएको दमान्ता बताउँछिन् ।
छोरालाई स्वदेश फर्काउने उनको सोच छ । छोराले पनि बा-आमाले सम्हाल्दै आएको बाख्रापालन व्यवसायलाई अझै व्यवसायीक रूपमा अघि बढाउने मन छ ।
‘आफ्नै देशमा बाख्रा नै पालेर पनि गुजाँरा गर्न सकिन्छ । खाडी मुलुकमा किन जानु । छोराले पनि सम्हाल्छु भनेको छ,’ उनले भनिन् ।
आर्थिक अवस्था सुधार गर्दै गएका भट्टराई दम्पत्तिको त्यत्ति ठूलो सपना केही छैन । व्यवस्थित खोर बनाउने उनीरूको योजना छ । यहि वर्षभित्र फर्म दर्ता गर्ने सोच छ ।
निर्धन उत्थानबाट लिएको कर्जाले खान, लाउन पुगेको छ । कुनै समय खानका लागि जग्गा जमिन नै बेच्न पुगेका उनीहरूलाई बाख्रपालनबाट पनि सोचे अनुसारका केही सपना पूरा गर्न सकेका छैनन् ।
बाख्रालाई राम्रो दाना पानी खुवाउन नसक्नु र खोरलाई व्यवस्थापन गर्न नसकिएको दामन्ता बताउँछिन् ।
भट्टराई दम्पत्तिले मिहेनत गर्न छोडेनन् । भाग्यले साथ दियो । बाख्रा पालनबाट डेढ रोपनी जग्गा किन्न सफल भएका छन् ।
कुनै बेला ३ वटा माउ बाख्रा लिएर चराउनका लागि जङ्गल जाँदा छिमेकीहरूले बाख्रा पालेर पनि उभो लागिन्छ पनि भन्थे । तीनै बाख्राबाट उनीहरूको जीवनस्तर उक्सिँदै छ ।
गुमेको सम्पत्ति फर्काउन सफल भए पनि घर बनाउन नसकिएको दामान्ता बताउँछिन् । ५ रोपनी जग्गा बेचेका दामान्ताका श्रीमान बाख्रा पालनबाट कमाएको आम्दानीले डेढ रोपनी जग्गा देखाउँदै भन्छन्, ‘खोरलाई व्यवस्थापन गर्नु छ । यहि वर्ष फर्म दर्ता गर्ने योजना छ ।’