११ उपमहानगरमा एमाले र गठबन्धनका यस्ता छन् उम्मेदवार, के थियो अघिल्लो चुनावको गणित ?



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दर्ताको समय सकिएको छ । वैशाख ११ र १२ गते तोकिएको उम्मेदवारी दर्ताको समय आज साँझ ५ बजेदेखि सकियो ।

राजनीतिक दलहरुबीच अन्तिम समयसम्म पनि उम्मेदवार चयनमा अन्यौलता कायमै भयो । गठबन्धनभित्र मात्रै नभइ एमालेभित्र पनि उम्मेदवार चयन सहज भएन ।

मुलुकका ११ उपमहानगरमा २०७४ सालको निर्वाचनबाट एमालेले सबैभन्दा धेरै ७ वटा उपमहानगरको प्रमुखमा जित हासिल गरेको थियो ।

तर २०७६ सालमा धरानमा भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएपछि ११ मध्ये ६ उपमहानगरको प्रमुखमा एमाले, ३ वटामा नेपाली कांग्रेस र एक/एक वटा उपमहानगरमा राजपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी हासिल गरेको थियो ।

त्यसैगरी उपमहानगरको उपप्रमुखमा एमालेले ७ स्थानमा विजयी हुँदा कांग्रेसले ३ र राजपाले एक स्थानमा विजयी भएका थिए ।

आसन्न निर्वाचनमा ११ वटा उपमहानगरमध्ये गठबन्धनका तर्फबाट कांग्रेसले ७ वटा उपमहानगरपालिका प्रमुखमा उम्मेदवारीदिनेछ भने माओवादी केन्द्रले २ वटा र जनतासमाजवादी र नेकपा एकीकृत समाजवादीले एक/एक वटामा उम्मेदवारी दिनेछन् ।

त्यसैगरी उपमहानगरको उपप्रमुखमा नेपाली कांग्रेसले जितपुर सिमरा, हेटौंडा, घोराही र जनकपुरमा उम्मेदवारी दिनेछ भने माओवादी केन्द्रले धरान, धनगढी उपमहानगरमा उम्मेदवारी दिनेछ । साथै नेकपा एकीकृत समावादीले इटहरी, बुटवल र तुलसीपुरमा, जनता समावादीले कलैया र नेपालगञ्जको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

एमालेले भने ११ वटै उपमहानगरका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ ।

कुन उपमहानगरमा को उम्मेदवार, पछिल्लो अंकगणित कस्तो थियो ?

१) धरान

उपमहानगर प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राई र एमालेबाट मञ्जु भण्डारीबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । एमाले उम्मेदवार भण्डारी हाल उपप्रमुख समेत हुन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अइन्द्र बिक्रमा बेघा उम्मेदवार छन् भने एमालेले पदम लिम्बुलाई उम्मेदवार बनाएको छ ।

धरान उपमहानगरपालिकाको प्रमुखमा शुरुमा एमाले र उपनिर्वाचनमा कांग्रेस विजयी भएको थियो ।

२०७४ असार १४ गते भएको निर्वाचनमा एमाले उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार तिलक राईलाई ४ हजार ८७३ मतान्तरले पराजित गरेका थिए । साथै, ९ दलको गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार अइन्द्रबिक्रम राईले ११ हजार १८० मत प्राप्त गरेका थिए ।

तर मेयर सुब्बाको निधन भएपछि २०७६ मंसिर १४ गते मेयर पदका लागि उपनिर्वाचन भयो । जसमा नेपाली कांग्रेसका पुरानै उम्मेदवार तिलक राईले २६ हजार ७९५ मत ल्याएर विजयी भए । जबकी नेकपा (एमाले–माओवादी)का उम्मेदवार प्रकाश राईले २३ हजार ९१४ मत ल्याएका थिए ।

धरानमा उपनिर्वाचन हुने समयमा एमाले र माओवादी मिलेर नेकपा बनिसकेको थियो । एमाले एक्लै हुँदासमेत निर्वाचन जितिरहेको धरानमा नेकपा भएपछि भने जित्न सकेन ।

धरानमा २०७४ सालमा निर्वाचनमा उपप्रमुखमा एमालेकी नेतृ मञ्जु भण्डारी विजयी भएकी थिइन् । भण्डारीले २१ हजार २४६ मत प्राप्त गर्दा कांग्रेसकी उम्मेदवार श्यामा रेग्मीले १४ हजार ९१६ मत प्राप्त गरेकी थिइन् । साथै माओवादीसहित ९ दलको गठबन्धनको तर्फबाट उपप्रमुख उम्मेदवार काङमाङ राईले जम्मा ५ हजार १८१ मत प्राप्त गरेका थिए ।

२० वडा कार्यालय रहेको धरान उपमहानगरमा एमालेले १४, कांग्रेसले ५ र माओवादीले एउटा वडा कार्यालय जितेको थियो । २०७४ सालमा कुल ७९ हजार २९० मतदाता रहेको धरानमा अहिले १ लाख ३२४ मतदाता छन् ।

२) इटहरी

साथै, प्रमुखको हकमा एमालेका संगिता चौधरी र गठबन्धनका तर्फबाट एकीकृत समाजबादीका उम्मेदवार केशवकुमार बिष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार द्वारिकालाल चौधरी विजयी भएका थिए । चौधरीले २२ हजार ६८९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितकुमार प्रसाईले १९ हजार ९५८ मत ल्याएका थिए ।

त्यसैगरी उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम विजयी भएकी थिइन् । गौतमले २१ हजार ८४२ मत ल्याएकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन् ।

तत्कालीन समयमा २० वडा कार्यालयमध्ये कांग्रेसले ११ वटा, एमालेले ८ वटा र लोकतान्त्रिक फोरमले एउटा वडा अधयक्षमा जित हासिल गरेको थियो । २०७४ सालको निर्वाचनमा कुल मतदाता ७७ हजार ६७९ जना रहेको इटहरी उपमहानगरमा हाल १ लाख ४ हजार ६२६ जना मतदाता छन् ।

३) कलैया

कलैया उपमहानगरमा २०७४ सालको निर्वाचनको प्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । कांग्रेसका उम्मेदवार राजेश यादवले १० हजार ९०३ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवारले यादवको तुलनामा १८७ कम मत अर्थात् १० हजार ७१५ मत ल्याएका थिए ।

त्यसैगरी उपप्रमुखको हकमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । कांग्रेस उम्मेदवार रहिमा खातुनले १० हजार ५३८ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार प्रतिमा यादवले १० हजार ३७२ मत ल्याएकी थिइन ।

२०७४ निर्वाचनमा कुल ५६ हजार ४९० मतदाता रहेको कलैयामा हाल ७० हजार ३५६ मतदाता छन् । कलैयामा २७ वडा छन् ।

४) जितपुर सिमरा

यसअघि एमालेले जितेको यस उपमहानगरमा हाल गठबन्धनका तर्फबाट राजन पौडेल र एमाले उम्मेदवार सरस्वती चौधरीबीच प्रतिष्पर्धा हुनेछ । चौधरी हाल उपमहानगरकी उपप्रमुख समेत हुन् ।

उपप्रमुखका हकमा गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी मेघा शाही र एमालेबाट भोला अधिकारीबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

२०७४ सालको निर्वाचनमा जितपुर सिमरामा प्रमुखमा एमाले उम्मेदावर डा. कृष्ण पौडेलले जित हासिल गरेका थिए । उनले १४ हजार ८६८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कृष्णव्रत सिंहले १२ हजार ४३ मत प्राप्त गरेका थिए ।

उपप्रमुख पदमा पनि एमालेले नै जित हासिल गरेको थियो । एमाले उम्मेदवार सरस्वती चचौधरीले १४ हजार ४५९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार नारायणी रायमाझीले १२ हजार ४६५ मत प्राप्त गरेकी थिइन् ।

२०७४ सालमा कुल ५६ हजार ६६० मतदाता रहेकोमा हाल ७० हजार ६४ मतदाता छन् । जितपुर सिमरामा २४ वडा छन् ।

५) जनकपुर

साथै उपप्रमुखको हकमा एमालेकी रुना झा र गठबन्धनबाट कांग्रेसकी उम्मेदवार किशोरी साह उम्मेदवार छन् ।

जनकपुर उपमहानगरमा २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रमुख र उपप्रमुख दुबै पदमा जित हासिल गरेको थियो ।

जसमा उपमहानगर प्रमुखमा राजपाका उम्मेदवार लालकिशोर साहले २१ हजार २७७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी मनोजकुमार साहले १० हजार ६३९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा राजपाकी रिता झाले १६ हजार ६१७ मत ल्याएर विजयी भएकी थिइन् भन उनकी निकटतम प्रतिद्वन्द्वी निलम कर्णले १० हजार १०९ मत प्राप्त गरेकी थिइन् ।

तत्कालीन समयमा कुल ७५ हजार ५८४ मतदाता रहेकोमा हाल ८६ हजार ७६९ जना मतदाता छन् । उपमहानगरमा कुल २५ वडा छन् ।

६) हेटौंडा

उपप्रमुखको हकमा गठबन्धनबाट कांग्रेसका राजेश बानियाँ र एमालेबाट सुमित्रा काफ्लेबीच प्रतिष्र्धा हुने देखिएको छ ।

हेटौंडा उपमहानगरमा २०७४ सालको निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख दुबैमा जित हासिल गरेको थियो । उपमहानगर प्रमुखमा एमाले उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा एमालेकी मिना लामाले २३ हजार ४३७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बलराम बलले जम्मा १७ हजार ११ मत प्राप्त गरेका थिए ।

तत्कालीन समयमा कुल मतदाता ८३ हजार ५९७ रहेकोमा हाल १ लाख ४ हजार ४७३ मतदाता छन् । उपमहानगरमा १९ वटा वडा कार्यालय छन् ।

७) बुटवल

साथै, राप्रपाका मृगेन्द्र शेरचन र जनता समाजवादीबाट सुरज हितान मगरले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

उपप्रमुखको हकमा गठबन्धनबाट एकीकृत समाजवादीबाट तर्फबाट चीनबहादुर गुरुङ, एमालेबाट सावित्रा अर्याल र जनता समाजवादीकी सम्झौता पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

बुटवल उपमहानगरमा २०७४ सालको निर्वाचनमा प्रमुखमा उपप्रमुख दुबैमा एमाले विजयी भएको थियो ।

प्रमुखमा एमाले उम्मेदवार शिवप्रसाद सुवेदीले २३ हजार २४९ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए ।

त्यसैगरी उपप्रमुखमा एमाले उम्मेदवार गोमा आचार्यले २५ हजार ३०१ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका
जगतबहादुर पोखरेलले १४ हजार ८९२ मत ल्याएका थिए ।

तत्कालीन समयमा उपमहानगरका १९ वडामा ६६ हजार ९० जना मतदाता रहेकोमा हाल ९० हजार ६५ मतदाता छन् ।

८) घोराही

साथै, उपप्रमुख पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भूपबहादुर डाँगी र एमालेबाट हुमा डिसीबीच मुख्यउ प्रतिष्पर्धा हुने देखिएको छ ।

घोराही उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख दुबै पदमा एमाले विजयी भएको थियो । प्रमुखमा एमाले उम्मेदवार नरुलाल चौधरीले २२ हजार ३० मत ल्याएर विजयी भएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ मत ल्याएका थिए ।

त्यसैगरी उपप्रमुखमा एमाले उम्मेदवार सिता न्यौपानले २० हार ७९२ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत ल्याएकी थिइन् ।

१९ वटा वडा कार्यालय रहेको घोराही उपमहानगरमा तत्कालीन समयमा ७८ हजार ४१९ मतदाता थिए भने हाल १ लाख १२ हजार ९२७ मतदाता छन् ।

९) तुलसीपुर

यस उपमहानगरमा गठबन्धनका तर्फबाट गेहेन्द्र गिरी र एमालेका टीकाराम खड्काबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

साथै, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका तर्फबाट जोगबहादुर राना मगर र एमालेबाट स्यानी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको निर्वाचनमा यस उपमहानगरका प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी भएको थियो । प्रमुखमा एमाले उम्मेदवार घनश्याम पाण्डेले २२ हजार ८५७ मत ल्याएर विजयी भएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०३ मत ल्याएका थिए ।

साथै, उपप्रमुखमा एमाले उम्मेदवार माया आचार्यले २१ हजार ३७ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देवीका नेपालीले २० हजार १८५ मत प्राप्त गरेकी थिइन् ।

कूल १९ वटा वडा कार्यालय रहेकोमा तत्कालीन समयमा ७६ हजार ८८१ मतदाता रहेकोमा हाल १ लाख ७ हजार ६७७ मतदाता छन् ।

१०) नेपालगञ्ज उपमहानगर

त्यसैगरी उपप्रमुख पदमा गठबन्धनको तर्फबाट जनता समाजवादीका कमरुद्दिन राई र एमालेबाट शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको निर्वाचनमा नेपालगञ्ज उपमहानगरको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो ।

प्रमुखमा राप्रपाका धवलशमशेर राणाले १२ हजार ५१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी डा. सुरेशकुमार कनौडियाले ८ हजार ७२० मत ल्याएका थिए ।

उपप्रमुखमा भने नेपाली कांग्रेसकी उमा थापा मगर १० हजार ७३० मतसहित विजयी हुँदा राप्रपाकी रमारानी गुप्ताले ८ हजार ९२४ मतसहित पराजित भइकी थिइन् ।

कूल २३ वटा वडा कार्यालय रहेको उपमहानगरमा तत्कालीन समयमा ६२ हजार ३९६ मतदाता थिए भने हाल कुल मतदाताको संख्या ८१ हजार ७९४ छ ।

११) धनगढी

धनगढीमा प्रमुख पदमा गठबन्धनका तर्फबाट नृपबहादुर वड, एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवारमा गोपाल हमालबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

धनगढी उपमहानगरको प्रमुखमा जनता समाजवादीका वसन्त विश्वकर्मा र स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टले पनि उम्मेदारी दर्ता गराएका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी शान्ति अधिकारी, एमालेबाट कन्दकला राना थारु र राप्रपाबाट विन्दु घर्ती मगरले उम्मेदवारी दिएका छन् ।

धनगढी उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा प्रमुख र उपप्रमुख दुबैमा नेपाली कांग्रेस विजयी भएको थियो । जसमा प्रमुखमा नेपाली कांग्रेसका नृप वडले १४ हजार ३२४ मत प्राप्त गरी विजयी हुँदा निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला मिश्र भट्टले १७ हजार ४०८ मत प्राप्त गरी विजयी हुँदा उनकी निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रुक्मणी देवकोटाले १२ हजार ७७३ मत ल्याएकी थिइन् ।

कुल १९ वडा कार्यालय रहेको धनगढी उपमहानगरमा तत्कालीन समयमा ७६ हजार ४३० मतदाता रहेकोमा हाल ९३ हजार १५१ मतदाता छन् ।


क्लिकमान्डु