कोइला आपूर्तिमा समस्या भएपछि भारतमा पुनः ऊर्जा संकट, नेपालमा कस्तो असर पर्ला ?



एजेन्सी । श्रीलंका, पाकिस्तानपछि पुनः भारतमा ऊर्जाको चरम अभाव देखिएको छ । कोइलाको भण्डारणमा कमी आएपछि बिजुली उत्पादन कम भएको छ । जसका कारण भारतका विभिन्न राज्यहरुमा ८ घण्टाभन्दाबढी बिजुली काटिएको छ ।

बढ्दो गर्मीमा लगातार बिजुली काटिदा जनजीवन प्रभावित भएको छ । समाचार विवरणहरुमा जनाइए अनुसार रुस युक्रेन संकटको असर भारतको कोइला बजारमा देखिएको हो ।

कोइला आयात कम भएको तथा मौज्दात कोइला समेत क्रमशः सकिदै गएकाले ऊर्जा उत्पादन गर्ने प्लान्टहरुले बिजुली उत्पादन कटौती गर्न शुरु गरिसकेका छन् ।

गत चैतको दोस्रो साता त्यस्तै समस्या देखिएपछि त्यसको प्रभाव नेपालमा समेत परेको थियो । नेपाल विद्युत् प्राधिकरणले सस्तो दरमा आयात गरिरहेको बिजुली उपलब्ध गराउन नसक्ने भन्दै भारतीय ऊर्जा दलाल कम्पनीले सम्झौता रद्द गरेको थियो ।

सम्झौता रद्द भएपछि प्राधिकरणले डे अहेड मार्केटबाट बिजुली खरिद गर्नुपरेको थियो । भरतीय बजारमा नै प्रतियुनिट २० भारु पर्न थालेपछि नेपाल आइपुग्दा एक युनिट बिजुलीको मूल्य नै ३८ रुपैयाँसम्म पुगेको थियो ।

सेयर बजारमा जस्तै प्रत्येक १५ मिनेटमा बदलिने बिजुलीको मूल्यका कारण नेपालमा समेत औद्योगिक क्षेत्रमा केही दिन बिजुली काटिएको थियो ।

गत चैतको दोस्रो र तेस्रो साता चरमरुपमा बिजुली संकट देखिएपनि देशभित्रै ऊर्जा उत्पादन केन्द्रमा थप बिजुली उत्पादन हुने वातावरण बनेपछि केही सहज भएको थियो ।

भारतका पञ्जाब, उत्तर प्रदेश र आन्ध्र प्रदेश लगायत धेरै राज्यले बिजुलीको माग बढेको कारण विद्युत् कटौतीको सामना गरिरहेका छन् । यस्तो अवस्थामा जनताले चर्को गर्मी सहनुपर्ने बाध्यता छ वा अन्य महँगो विकल्प रोज्न बाध्य हुनुपर्ने अअवस्था सिर्जना भएको छ ।

भारतमा विद्युत् उत्पादनको ७० प्रतिशत हिस्स कोइलाले ओगटेको छ, तर कोइला ढुवानी गर्न रेलवे रेकको कम उपलब्धताका कारण पनि समस्या खडा भएको छ ।

यस्तै कम कोइला आयातका कारण आपूर्ति अवरुद्ध भएको छ । यस्तो अवस्थामा मुलुकमा बढेको बिजुलीको माग पूरा हुन सकेको छैन । देशमा कोरोना महामारी कम भएपछि र गर्मीको चरम चरम अवस्थामा आएपछि आर्थिक गतिविधि सूचारु भएकाले माग बढेको जनाइएको छ ।

भारतभर कोइला उपलब्ध गराउने कोल इण्डियाले माग अनुसारको आपूर्ति गर्न सकेको छैन । रुस र युक्रेनबीचको युद्धका कारण समुन्द्री मार्ग भएर आयात हुने कोइलामा समस्या देखिएको बहुर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इण्डोनेसिया, अष्ट्रेलियालगायतका देशबाट आयात हुने कोइला समेत सिपमेन्टमा देखिएको केही समस्याका कारण प्रभावित भएको छ । यस्तै, पूर्व सोभियत संघमा आवद्ध रहेका देशबाट आयात हुने कोइलामा समेत जटिलता पैदा भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै कोइलाको माग र मूल्य दुबै बढेको छ । चीनका प्रमुख आर्थिक केन्द्रहरु सांघाई, गोन्जाओ जस्ता क्षेत्रमा कोरोनाका कारण पुनः लकडाउनको अवस्था देखिएपछि त्यसले पनि विश्व आपूर्ति श्रृंखलामा प्रभाव पारेको छ ।

भारतको राष्ट्रिय औसत रेकर्ड सन् १९०१ देखि नै ९२ डिग्रीको हाराहारीमा रहेको छ । देशका अधिकांश स्थानमा लगातार तापक्रम बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभागले गर्मीको चेतावनी जारी गरेको छ ।

भारतको मौसम विभागका अनुसार देशको राजधानी नयाँ दिल्लीमा अप्रिल २० मा १०८.७ डिग्री फरेनहाइट (४२.६ डिग्री सेल्सियस) तापक्रम रेकर्ड गरिएको थियो, जुन पाँच वर्षको सबैभन्दा तातो दिन हो ।

राष्ट्रिय औसत रेकर्ड मार्चमा ९२ डिग्री पुग्यो । सन् १९०१ पछि यो सबैभन्दा उच्च बिन्दुमा पुगेको भारतीय सञ्चारमाध्यमहरुको दावी छ ।

जम्मा ८ दिनको कोइला स्टक
भारतको विद्युत् मन्त्रालयले उपलब्ध गराएको विवरण एव्म दैनिक तथ्यांकले वैशाख १९ गते विद्युत उत्पादकसँगको मौज्दात औसत आठ दिन बराबर रहेको छ । ती दिनका लागि मात्रै पुग्ने कोइलाका कारण थप दिनहरु कसरी टिक्ने भन्ने बारेमा केही बताइएको छैन ।

अप्रिल महिनाको पहिलो १५ दिनको उत्पादनमा २७ प्रतिशतले थप माग वृद्धि भए पछि सरकारी स्वामित्वको कोल इन्डिया लिमिटेडले माग पूरा गर्न सकेको छैन ।

कोल इन्डियाले एसियाका केही ठूला कोइला खानीहरू सञ्चालन गर्दछ । तर, अनेकन प्राविधिक तथा आयातजन्य समस्याका कारण सिपमेन्टहरुमा नै समस्या खडा भएको छ ।

अखिल भारतीय पावर इन्जिनियर्स फेडरेशनका शैलेन्द्र दुबेका अनुसार भारतमा बिजुलीको माग बढेकाले देशभरका थर्मल प्लान्टहरूले कोइला अभावको सामना गरिरहेका छन् ।

तर गर्मीमा कोइलाको अभाव कुनै नौलो कुरा होइन । यो लामो समयदेखि चलिरहेको छ । यसको मुख्य कारण कोल इन्डियाको उत्पादन बढाउन नसक्नु र कमजोर पूर्वाधार भएको बताइएको छ । गत वर्ष पनि कोरोनाका कारण अर्थतन्त्र खुलेसँगै देशमा यस्तै संकट देखिएको थियो ।

डिलोइट टाउच थोमास्टु मुम्बईका साझेदार देवाशिष मिश्रका अनुसार अब यो समस्या झन् झन् विकराल भएर जान्छ । आगामी दिनमा मनसुन र वर्षा शुरु भएसँगै खानीमा बाढी आउन सक्ने र यातायातमा समस्या हुनसक्छ । यसले कोइलाको उत्पादन र आपूर्तिलाई थप घटाउन सक्छ । कोइलाको स्टक मनसुनअघि नै जम्मा हुन्छ तर माग बढी भएकाले त्यो हुन सकेको छैन ।

केही कपडा मिलमा विद्युत् अभावले सञ्चालनमा रोक लगाएको छ । भारतको कपास संघका अध्यक्ष अतुल गणत्राका अनुसार देशका पश्चिमी र दक्षिणी भेगका केही कपडा मिलमा विद्युत् अभावका कारण काम ठप्प भएको छ ।

कपासको महँगो भएको छ । त्यस्तै, महँगो डिजेलबाट चल्ने जेनेरेटर र अन्य विकल्पमा खर्च गर्न उद्योगहरुले सकिरहेका छैनन् । यसबाट कपासको उपभोगमा निकै कमी आउने उनको भनाइ छ ।

डिजेलको प्रयोगले मार्जिन घटेको छ । भारतको पूर्वी राज्य बिहारमा कार डिलरशिप र मर्मत पसल चलाउने अतुल सिंहले बारम्बार बिजुली कटौती र डिजेलको प्रयोगका कारण आफ्नो मार्जिन कम भइरहेको बताएका छन् ।

विद्युत् कटौतीका कारण किसान पनि मारमा परेका छन् । उत्तर प्रदेशका मोहित शर्मा नामका किसानले मकै खेतमा सिँचाइ गर्न नसकेको बताएका छन् ।

‘हामीले न दिउँसो न रातमा बिजुली पाइरहेका छौँ, साँझमा बालबालिकाले पढ्न पाउँदैनन्,’ शर्माले भने । यसबाट संकट असाध्यै चुलिएको स्पष्ट देखिएको छ ।


क्लिकमान्डु