२२औं पटकमा अधिकृत बनेका गिरीको ४ महिनामै राजीनामा, बनेपा बदल्न मेयरको भोट माग्दै



काठमाडौं । आइतबार विहान चुनावी प्रचारमा जान अलि हतारमा थिए कञ्चनराज गिरी । आइतबारको कार्यक्रम बनेपा नगरपालिका नाला, वडा नम्बर ३ र ४ मा घरदैलो गर्ने छ ।

‘बिहानको कार्यक्रम भएकाले अहिल हतारमा छु,’ उनले भने ।

स्थानीय चुनाव आउन २५ दिनमात्र बाँकी छ । चुनावी माहोलले गाउँ-शहर छपक्क छोपिसकेको छ । यही माहोलका बीच बनेपा नगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार उठेका छन् कन्चनराज गिरी ।

स्थानीय चुनावमा मुलुकभर धेरै स्वतन्त्र उमेदवार चुनावी मैदान भए पनि गिरीको चर्चा अलि बढी नै छ । यसको कारण हो, सरकारी जागिर खाएको ४ महिनामै राजीनामा दिए चुनावी मैदानमा आउनु ।

सरकारी जागिर पनि सजिलै आएको थिएन् । साढे ८ वर्षको अनवरत मेहनतमा २२औं पटकको प्रयासपछि नेपाल विद्युत् प्राधिकरणको अधिकृत तहमा नाम निकाले र २०७८ कात्तिक ३० मा नियुक्त भए ।

त्यसपछि उनी मुलुककै सबैभन्दा ठूलो १४४ मेगावाटको कालिगण्डकी जलविद्युत् आयोजनामा प्रशासन प्रमुख भएर खटिए । मासिक तलब, कठिनाइ भत्ता, प्रोत्साहन भत्त, ओभर दाइम संचय कोष, अवकास कोष, आवास सुविधा, विद्युत सुविधासहित झन्डै एक लाख रुपैयाँको आम्दानी थियो ।

राम्रो सुविधा भए पनि ४ महिना २४ दिनमै जागिर छोडे । यसरी जागिर छोड्नुको मुख्य उदेश्य थियो, बनेपा नगरपालिकाको मेयर पदमा चुनाव लड्नु ।

ठूलो मेहनत, लामो समय र राम्रो सुविधा भएको सरकारी जागिर छोडेर मेयर पदमा लड्ने निर्णय गर्न के कुराले प्रेरित गर्यो त ?

आफूले चाहेको लक्ष्य पूरा गर्न कर्मचारी एउटा साँघुरो क्षेत्र भएको र प्राधिकरणमा रहेको ‘अनियमिता’ देखेर बनेपा बदल्ने सोचसाथ यता आएको बताउँछन् उनी ।

‘लाकसेवा पास हुनु एउटा हिमाल चढ्नु जस्तै हो,’ उनले भने, ‘एउटा हिमाल चढेपछि अर्को चुचुरो टेक्ने चाहना हुन्छ । म अब अर्को चुचुरोमा पुग्न चाहन्छु ।’

कर्मचारीतन्त्रमा धेरै काम गर्न नसकिँदो रहेछ भन्ने अनुभव उनको छ । उनले खोजेको फराकिलो दायरा थियो ।

‘धेरै जिम्मेवारी चाहिने मान्छे, सानो जिम्मेवारीमा खुसी भएर बस्न सकिदो रहेनछ,’ उनी सुनाउँछन्, ‘त्यही कारणले पहिलो लक्ष्यको चुचुरोमा पुगेर अर्को लक्ष्य भेट्टाउन ओर्लिएको हुँ । मेयर मेरो अर्को लक्ष्य हो ।’

जसरी पनि जनताकै सेवा गर्न चाहन्छन् उनी । अर्को लक्ष्य भेट्टाएर बनेपालाई बदल्ने उत्कट चाहनाले चुनावी मैदानमा उत्रिएका छन् ।

नगर प्रमुख भएर बनेपा बदल्ने सोच आउनुको अर्को कारण थियो, विद्युत् प्राधिकरणभित्र देखेको बेथिति ।

कुलमान घिसिङ नेतृत्वमा आएपछि प्राधिकरणमा चुवाहट रोक्ने र लोडसेडिङ अन्त्य त भयो । तर, अन्य सरकारी निकायमा जस्तै धेरै अनियमिता यथावत रहे ।

‘प्राधिकरणभित्र संस्थागत कमिसनखोरी छ,’ उनी भन्छन्, ‘संस्थागत भएपछि धेरै जनाको इन्ट्रेष्ट हुने । मैले रोक्ने सक्दिनथें ।’

संस्थागतरुपमा भइरहेका ती अनियमिताका विरुद्धमा थिए उनी । प्राधिकरणभित्र चलेको ‘अनियमिता’ अस्विकार गरे । तर, अनियमिता विरुद्धमा जाँदा अफिसभित्रै ‘कन्फ्लिट’ भयो ।

उनले केही उदाहरण दिए । गाडी सञ्चालन, मर्मतजस्ता कामको जिम्मेवारी प्रशासन प्रमुखको थियो तर गाडी सञ्चालन यतिधेरै वेथिति थिए, उनले कन्ट्रोल गर्न सक्दैनथे ।

‘मभन्दा माथिका हाकिमले कुनै गाडी लिएर हप्तादिन हराउँथे,’ उनी भन्छन्, ‘त्यो मैले एक्लै रोक्न सक्दिनथें । यो एक सानो उदाहरण हो ।’

प्रशासन प्रमुख भएर ती वेथिति बदल्न सक्ने अवस्था थिएन । ‘ती वेथिति बदल्न नसक्ने भएपछि मुकदर्शक भएर किन बस्ने भन्ने लाग्यो,’ उनी भन्छन्, ‘म प्रशासन प्रमुख भएर सार्थकता भएन ।’

उनलाई लाग्यो, ‘म बरु यस्तो ठाउँमा जान्छु, जहाँ जिम्मेवारीका साथ त्यो ठाउँलाई बदल्न सक्छु ।’

नगरपालिकालाई बदल्नु पर्छ भन्ने उनको पहिलेदेखिको सपना हो । २३ वर्षअघि स्कुल पढ्दा बनेपा शहर धेरै दुर्गन्धित थियो र अहिले पनि त्यस्तै छ । सफा गर्ने जस्तो सामान्य काम पनि भएको छैन भने ठूला विकासका काम कसरी हुन्छन् ।

बनेपालाई सुन्दर र व्यवस्थित बनाउने आफ्नो पहिलो प्राथमिकता भएको उनी बताउँछन् । शिक्षाको गुणस्तर सुधार गर्ने, खानेपानीको समस्या हल गर्ने, सामाजिक सुरक्षामा सुधार गर्ने उनको लक्ष्य छ ।

कृषिमा पनि व्यापक सुधार ल्याउन सकिन्छ भन्नेको योजना छ । बनेपा दुई भेग छ । एक ग्रामीण क्षेत्र र अर्को बजार । ग्रामीण भेगमा कृषिलाई व्यवसायीकरण गर्न सकिने योजना छ उनको । व्यवसायीकरण गर्ने, मल विऊको उपलब्धता प्रशस्त गर्नुपर्ने छ । बजारलाई व्यवस्थित गर्नु पर्ने काम देखेका छन् उनले ।

बनेपा प्राचिन शहर पनि हो । नाला, बनेपा, साँगा, किसन्दपुर शहरको प्राचिन मौलिकता, सभ्यताको संरक्षण गर्ने, नेवारी संस्कृतिको संरक्षण गर्ने योजना रहेको सुनाए ।

बनेपा व्यापारको शहर पनि हो । व्यापार प्रवद्र्धन कसरी गर्न सकिन्छ भनेर उनले योजना बनाएका छन् ।

‘सबैभन्दा ठूलो कुरा उद्यमशीलता विकास गर्ने हो,’ उनी भन्छन्, ‘युवालाई देशमै गरिखाने वातावरणको सृजना गर्ने मेरो एजेन्डा हुन् ।’

सुशासन कायम गर्ने आफ्नो अर्को दायित्व भएको उनी बताउँछन् ।

‘बनेपा नगरपालिका कुनै पार्टीको कार्यालयजस्तै छ,’ उनी भन्छन्, ‘जुन पार्टीले जित्यो त्यसैको कार्यलय भएको छ । अरु सबै पेलानमा ।’

खानेपानी समिति जस्तो सानो क्षेत्रमा चुनाव लड्न त राजनीतिक दलको सहारा खोज्ने हाम्रो समाजमा स्वतन्त्र उमेदवार भएर ‘साझा सरकार’ बनाउने उनको उदेश्य कति पूरा होला त ?

उनी भने यस पटक बनेपा वासिन्दाले परिवर्तन रोज्ने विश्वासमा छन् ।

‘मेरो अठोट छ चुनाव जित्ने र बनेपा बदल्ने हो,’ उनी भन्छन्, ‘जनतामा परिवर्तन आइरहेको छ, त्यही पुरोना पार्टी र पुरानो नेतृत्व भनेर कहिलेसम्म भोट खेर फाल्ने ?’

जनतामा सोचमा परिवर्तन आइरहेको उनले देखेका छन् । राजनीतिक पार्टीका नेताहरु उनका कार्यकर्ताको सहयोगले नेता बनेका हुन् । तर, तिनै कार्यकर्तालाई आफ्नो नेताले काम गर्छ भन्ने विश्वास छैन् ।

‘क्षणिक सुविधा र क्षणिक स्वार्थमा उहाँहरु लागिरहनु भएको छ,’ उनी भन्छन्, ‘यो कुरा बुझेर उहाँहरुले मलाई सहयोग अवस्य गर्नुहुन्छ ।’

समाजको लागि आफूले केही त्याग गरेकाले जनताले यो कुरा बुझ्ने उनको विश्वास छ ।

नेपालको मुख्य समस्या भनेकै व्यवस्थापन कमजोरी हो जस्तो लाग्छ उनलाई । लिडरसिप गतिलो हुने हो भने सबै कुरा सुधार हुँदै जानेछ ।

उनी आफू प्राविधिक मान्छे हुन । बनेपा नगरपाकिाल वडानम्बर २, नालामा जन्मेका गिरीले सिद्धार्थ स्कुल बनेपा पढे । एसएलसीपछि अमृत साइन्स कलेजमा आइएस्सी पढे । त्रिचन्द्र कलेजमा माइक्रो बायोलोजीमा बिएससी गरेपछि ओस्मानिय युनिभर्सिटी, हैदरावादमा बायोटेक्नोलोजी पढे ।

त्यसपछि उनको चाहना पिएचड गर्न विदेश जाने थियो । त्यो चाहना पूरा भएन । त्यसपछि भने उनी सरकारी जागिरको तयारीमा लागे ।

निजामति कर्मचारी अस्पतालमा सुब्बा सरहको प्रशासन सहायक परीक्षा दिए । त्यसमा पहिलो पटकमै नाम निस्कियो ।

निजामति कर्मचारी अस्पतालमा साढे ८ वर्ष काम गरे । प्रशासनका धेरै अनुभव गर्न पाएको उनी बताउँछ्न । त्यो अुनभवको बलमा यो निर्णय गर्न सकेको उनी बताउँछन् ।

अर्को लक्ष्य अधिकृत थियो । ८ वर्षमा सरकारका निजामति, विभिन्न संस्थानको जागिरमा भिडरहे । त्यसरी भिड्दा २२औं पटकमा अधिकृत तहमा नेपाल विद्युत् प्राधिकरण्मा नाम निकाल्न सफल भएका थिए ।

झन्डै ९ वर्षको सरकारी जागिर र लोकसेवाको तयारीले धेरै कुरा सिकाएको उनी बताउँछन् ।

‘पढेको र सिकेको कुराहरु बेकार भयो भन्ने हुँदैन,’ उनी भन्छन्, ‘मुलुकको शासन प्रशासन बुझेपछि नयाँ लक्ष्यलाई तयार भएको हुँ ।’

सरकारी जागिर छोडेर चुनाव लड्ने ‘बोल्ड’ निर्णयमा उनकी श्रीमतिको पूर्णसमर्थन छ । श्रीमति पनि निजामति कर्मचारी अस्पतालमा कार्यरत छिन् ।

बुबाआमालाई भने अझै सम्झाइरहेका छन् । ‘विस्तारै उहाँहरुले पनि कुरा बुझ्नु हुन्छ,’ उनी भन्छन् । बाबुआमाले गाउँमा व्यवसायीक कृषि पेशा गर्छन् । घरबाट पनि केही भाडा आउँछ ।

‘गरिखानलाई गाह्रो हुँदैन,’ उनी भन्छन्, ‘सबैको माया पाएको छु । पढेलेखेको छु । गरेर खानालाई केही समस्या हुँदैन ।’

जागिर र गरिखानेभन्दा ठूलो जिम्मेवारीमा काम गर्न चाहेको उनी बताउँछन् । नगर प्रमुखजस्तो अधिकार सम्पन्न पदमा बसेपछि आफ्नै निर्णयले बनेपा बदल्न सकिन्छ भन्ने उनको विश्वास छ ।


सन्तोष न्यौपाने