राष्ट्र बैंकको कडाइपछि चैतमा ५% ले घट्यो आयात, ९ महिनामै व्यापार घाटा १३ खर्ब नाघ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ११ खर्ब ११ अर्ब रुपैयाँको आयात भएको थियो ।

चालु आर्थिक वर्षको चैतसम्ममा गत वर्षभन्दा ३२ प्रतिशतले आयात बढेको छ । फागुनसम्ममा भने आयात ३८ प्रतिशतले बढेको थियो ।

भन्सार विभाग स्रोतले उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि उच्चदरमा बढीरहेको आयात रोक्न नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि चैतमा गत वर्षभन्दा ५.५७ प्रतिशतले आयात घटेको हो ।

गत वर्ष चैत महिनामा १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा यो वर्ष भने १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

उच्च दरमा आयात बढ्दा विदेशी मुद्राको सञ्चितिमा गिरावट आएपछि राष्ट्र बैंकले पुष ५ गते २० वस्तु आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो ।

पुष ५ गते लिएको नीतिले अपेक्षा अनुसार आयात नरोकिएपछि माघ २४ गते राष्ट्र बैंकले थप २७ बस्तु आयात गर्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो ।

दुई पटक नगद मार्जिन राख्ने नीतिले समेत अपेक्षाअनुसार आयात नघटेपछि राष्ट्र बैंकले चैत २१ गते बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई निर्देशन दिँदै विलाशी बस्तुको आयातका लागि एलसी नै नखोल्न निर्देशन दिएको थियो ।

एलसी रोक्ने निर्णयको प्रभाव भने आगामी जेठसम्ममा देखिने छ । चैतमा भने पुष र माघमा लिएको नीतिले आयात घटाएको भन्सार विभागका अधिकारी बताउँछन् ।

चैतमा ५.५७ प्रतिशतले आयात घटेको असर राजस्व संकलनमा समेत देखिएको छ । भन्सार विभागले चैतमा ४६ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब ९ करोड रुपैयाँमात्रै राजस्व संकलन भएको थियो ।

चैतमा निर्यात पनि घट्यो ८.२ प्रतिशतले

चालु आर्थिक वर्षको चैतमा गत वर्ष भन्दा ५.५७ प्रतिशतले आयात घटेकोमा निर्यातसमेत ८.२९ प्रतिशतले घटेको छ ।

गत वर्ष चैतमा १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा यो वर्ष निर्यात १२ अर्ब ८२ करोड रुपैयाँमा सिमित भयो ।

यो वर्ष साउनदेखि निर्यात उच्चदरमा बढेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म गत वर्ष भन्दा ७० प्रतिशतले निर्यात बढेको छ ।

भारत सरकारले नेपालबाट निर्यात हुने पाम तेलमा २०७६ पुषदेखि लगाएको प्रतिबन्ध २०७८ साउनदेखि हटाएपछि चालु आर्थिक वर्षमा निर्यात बढेको हो ।

गत वर्ष चैत मसान्तसम्म ९४ अर्ब ७६ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा यो वर्ष चैत सम्ममा १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको निर्यात भएको हो ।

निर्यात १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको हुँदासमेत आयत १४ खर्ब ६६ अर्ब रुपैयाँ पुगेकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षृमा व्यापार घाटा बढ्दै जाँदा विदेशी मुद्राको सञ्चितिमा गिरावटसमेत आएको छ ।


क्लिकमान्डु