नेताहरूको सोच १८० डिग्रीमा परिवर्तन नभएसम्म विकास र लगानी बढ्दैन



डा समिर खतिवडा एशियाली विकास बैंक मनिलामा अर्थशास्त्रीको रुपमा काम गर्छन् । नेपालको अर्थनीतिको बारेमा जानकार खतिवडा अहिले नेपालमा छन् । पछिल्लो समय देशको अर्थतन्त्र समस्यामा परेको छ । बढ्दो आयातको दबाब विदेशी मुद्रा सञ्चितिमा परेको छ । तत्कालै आन्तरिक उत्पादन बढाएर निर्यात बढाउने संभावना पनि कम छ । सरकारले सर्वसाधारणलाई चाहेका कुरा किन्न रोक लगाइसकेको छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र कसरी अघि बढ्ला ? हामी के कुरामा चुक्यौं ? र, अब के गर्नुपर्ला ? यस्तै विषयमा केन्द्रित भएर खतिवडासँग क्लिकमाण्डूका लागि आशीष ज्ञवाली र शरद ओझाले गरेको कुराकानीः

पछिल्लो समय अर्थतन्त्रको बारेमा सर्वसाधारणलाई निकै चासो बढेको छ । नेपाल पनि श्रीलंका हुन्छ कि भन्नेमा चिन्ता बढ्दो छ । नेपालको अर्थतन्त्र अहिले कुन स्थितिमा देख्नुहुन्छ ?

अहिले महंगी बढेको छ । नेपालमा मात्र नभएर विश्वमै महंगी बढेको छ । मूल्यवृद्धि हुनुको पछाडि विभिन्न कारण छन् । कोभिडले गर्दा आपूर्ति नभएकोदेखि रुसले युक्रेनमा गरेको हमलाले उपभोग्य वस्तुको मूल्य बढेको छ । अहिले धेरैले नेपाल श्रीलंका बन्छ कि भन्ने कुरा गर्छन् । नेपाल श्रीलंकाजस्तो हुन्छ भन्न मिल्दैन । तर, अर्थतन्त्रमा भएको ‘मिस म्यानेजमेन्ट’ हाम्रो श्रीलंका बन्ने खालको छ । पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच देखिएको विवाद र गभर्नर निलम्बनले आत्मविश्वास गुमाउने खालको संकेत देखिन्छ ।

श्रीलंका ग्लोबल फाइनान्सियल नेटवर्कमा गएको देश हो । श्रीलंका आफ्नो क्रेडिट रेटिङ गराएर अन्तर्राष्ट्रिय बजारबाट ऋण लिएको छ । नेपालले महंगो ब्याजदरमा अहिलेसम्म ऋण लिएको छैन । इमर्जिङ मार्केटहरुलाई विगतमा समेत धक्का परेको त्यही अवस्था अहिले श्रीलंकामा देखिएको हो । श्रीलंकाको अर्थतन्त्र हाम्रोभन्दा ठूलो छ । श्रीलंकाको अर्थतन्त्र अन्तर्राष्ट्रिय बजारसँग जोडिएको छ । हामीले त्यो छौं भनेर भन्दा अर्थतन्त्र नबुझेको भनेर बुझ्नुपर्ने हुन्छ ।

अर्थतन्त्रको फण्डामेन्टल धेरै नै फरक छ । श्रीलंकाको अर्थतन्त्रलाई कोभिडले धेरै नै धक्का हानेको छ । श्रीलंका बढी खर्च गर्ने पर्यटक धेरै आउँछन् । नेपालको भन्दा तीनगुणा बढी पैसा एउटा पर्यटकले श्रीलंकामा गर्छ । नेपाली मिडियाले भारतका मिडियाको प्रभावबाट समाचार लेख्दा चीनको कारण खराब भयो भन्ने समाचार आएको हो । श्रीलंकाले लिएको ऋणमा चीनको हिस्सा १० प्रतिशतसमेत छैन । हाम्रो ऋण बढे पनि कुल ऋण जीडीपीको ४० प्रतिशत हो । यी कुराहरु हामी श्रीलंकाको जस्तो होइन भनेर देखिन्छ । तर, अर्थतन्त्रमा संकट आउनका लागि हाम्रो ‘मिस म्यानेजमेन्ट’ छ ।

कस्तो खाले ‘मिस म्यानेजमेन्ट’ भन्न खोज्नु भएको हो ?

अहिले ९ अर्ब ५८ करोड अमेरिकी डलर विदेशी सञ्चिति छ । त्यो सकिन्छ भन्ने त्रास बढी फैलिएको छ । एक किसिमले त्यो ठिकै पनि हो । यसलाई सबैभन्दा पहिला राष्ट्र बैंकको गभर्नर निलम्बन प्रकरणलाई लिन सकिन्छ । विश्वमा सरकार र गभर्नरबीच विवाद नहुने भन्ने होइन । मध्यम र दीर्घकालिन प्रभाव नहेरेर एकैपटक रोक्नेतर्फ हामी लागेका छौं । अर्थतन्त्र संकटमा पर्न लागेको बेला सरकारले विश्वास बढाउने काम गर्नुपर्छ । जुन हाम्रोमा अहिले भएको छैन । भारतमा सन् १९९० पछि भएको विदेशी मुद्राको संकटपछि मनमोहन सिंहलाई अर्थमन्त्री बनाएपछि विश्वास बढेको थियो । अहिले अर्थमन्त्री गभर्नरसँग भएको विवाद र आएका कुराहरु अरु देशमा भएको भए सरकार नै ढल्ने स्थितिमा पुग्ने थियो ।

गभर्नर निलम्बन र विवादको विषयले खास गरेर दातृ निकायमा कस्तो सन्देश पुग्न सक्छ ?

हामी श्रीलंका जस्तो भएको भए यो निकै ठूलो काण्ड हो । दक्षिण अफ्रिकामा यस्तै काण्ड हुँदा रेटिङ घटेको थियो । यसले मौद्रिक नीतिमा स्थिरता नभएको सन्देश जान्छ । अर्थतन्त्र व्यवस्थापन गर्न नसक्ने स्थिति छ । अर्थतन्त्रको जिम्मेवारी लिएका मान्छेले व्यवस्थापन नगरेको सन्देश जान्छ । सहायतामा यसले ठूलो परिवर्तन हुँदैन । नेपाल गरिब देश भएको हुँदा सहुलियतपूर्ण कर्जा नपाउने भन्ने हुँदैन । तर, निजी क्षेत्रले ल्याउने कर्जामा भने समस्या पर्न सक्छ । तर, सन्देश राम्रो गएको छैन । गभर्नरले गल्ती गर्दा सरकारले हटाउन नमिल्ने भन्ने होइन । नराम्रो काम गर्दा के नराम्रा काम भएको हो त्यो विषय औपचारिकरुपमा बाहिर आएन । यसले संस्थागतरुपमा राष्ट्र बैंकको क्षयीकरण भएको देखिन्छ ।

नेपालको अहिले अर्थतन्त्रलाई केहीले निकै खत्तम भयो भन्छन् । केहीले खत्तम भन्ने पक्षमा छैनन् । अर्थशास्त्रीको हिसाबले हेर्दा नेपालको अर्थतन्त्रको अवस्था कस्तो छ ?

एशियाली विकासले बैंकले ३.९ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । अघिल्लो वर्ष २.३ प्रतिशत थियो । यसले आर्थिक बृद्धिदरमा केही सुधार भएको देखियो । दुई वर्ष अगाडि आर्थिक बृद्धिदर ऋणात्मक थियो । आगामी वर्ष आर्थिक बृद्धिदर ५ प्रतिशत हुने अनुमान छ । यसले अर्थतन्त्र खत्तम भयो भन्न मिलेन । यस्तै खाले प्रक्षेपण एडिबीको मात्र नभएर विश्व बैंक तथा आइएमएफको पनि छ । नेगेटिभ न्यारेटिभ बढी आएको छ । श्रीलंका संकटको कुरा भारतीय समाचारबाट आएकोले त्यो न्यारेटिभ आएको छ । अर्को कुरा अहिले मूल्य वृद्धि बढेको छ । विश्वभर नै खाद्यान्य तथा तेलको मूल्य बढेको छ । लाइक र रिट्वीट पाउनमात्र सोसल मिडियामा देश खत्तम भयो भन्न भएन ।

नेपालको अर्थतन्त्र खराब छैन भन्ने आधार के छ ?

एडिबीकै प्रक्षेपणलाई लिने हो भने आर्थिक बृद्धिदर हुनुको पछाडि कोभिड विरुद्धको खोपको कार्यक्रम सफल भएको छ । आर्थिक क्रियाकलापहरु नर्मल हुँदै गएका छन् । गत वर्ष पानी राम्रोसँग पर्दा धान उत्पादनले आर्थिक बृद्धिदरलाई सहयोग गरेको हो । मौसमलाई हेरेर आर्थिक बृद्धिदरको प्रक्षेपण गर्नु हात हेरेर भने जस्तै हो । मूल्य वृद्धि ६.५ प्रतिशत हुने देखिएको छ । यो निकै ठूलो कुरा हो । यसले हामीलाई समस्या पर्ने हो । हाम्रो अनौपचारिक क्षेत्रमा काम गर्ने व्यक्तिहरु प्रभावित बढी हुन्छन् । यो एउटा समस्या हुनसक्छ ।

विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको शुरुवातदेखि घट्दो क्रममा छ । आयात अत्याधिक बढेको छ । रेमिटेन्स बढेन भने विदेशी मुद्राको अर्को स्रोत छैन । ३ वर्षपछि समस्या देखिन्छ भन्नेहरु पनि छन् । यसलाई कसरी हेर्ने ?

यो हाम्रो अर्थतन्त्रको संरचनात्मक समस्या हो । यसको समाधान अल्पकालमा खोजेर हुँदैन । अब आयात र निर्यातको कुरा गरौं । हाम्रो नीतिको ध्यान औद्योगिक क्षेत्रलाई बढाउने निर्यात बढाउने, भ्यालु चेन बढाउनेमा गएको छैन । यो तत्काल गर्नु पर्ने काम हो ।

ग्लोबल भ्यालु चेनमा के बेच्ने हो भन्ने कुराको पहिला पहिचान गरौं । पहिला हामीले के बेच्ने भन्ने कुरा पत्ता लगाउनु पर्यो । अब हामीले माथिबाट कुरा नगरांै । हामी सबैलाई समस्याको बारेमा पनि जानकारी र समाधानको बारेमा पनि जानकारी छ । तर, समस्या समाधान गर्नको लागि कसले काम गर्ने ? उदाहरणका लागि प्रदेश १ र मधेश प्रदेशमा के वस्तु उत्पादन गर्यौं भने भारतसँग प्रतिस्पर्धा गर्न सक्छौं भनेर ५ वटा वस्तु पहिचान गर्नुपर्यो । अर्को कुरा पूर्वाधारको विकासको लागिकाम गर्नुपर्यो ।

अहिले कृषि उपजको बस्तु कति धेरै आयात हुन्छ । हामीले यहाँ उत्पादन गरेको वस्तुलाई भण्डारण गर्न नसक्ने भएको कारणले कृषिवस्तुको आयात गर्नु परेको छ । यो कुराको आजको भोलि गर्न सकिँदैन । हाम्रो नीतिको फोकस कार्यान्वयन गर्नुपर्ने कुरामा कम छ । फास्ट ट्रायक कहिले बनेर सकिने हो । त्यो नबन्दासम्म अर्को सोलुसन छैन । थानकोटको बाटो कस्तो खत्तम छ भन्ने कुरा कसैले हेरेको छैन । हामीले निर्यात बढाउने कुरामा ध्यान दिएका छैनौं । इन्डोनेसियाको राष्ट्रपतिले अर्थमन्त्रीलाई बैदेशिक लगानी भित्राउनको लागि धेरै कानुन परिवर्तन गराए । धनीको कुरा गरेका छौं । तर, धनी कसरी बन्ने भन्ने कुरा कार्यान्वयन गरेका छैनौं । हामीले व्यवसायीलाई गाली गर्ने मानसिकता परिवर्तन गर्नुपरर्यो । त्यसले लगानी बढ्ने हो र निर्यात बढ्ने हो ।

विदेशी विनिमय सञ्चिति घट्नु भनेको निकै संवेदनशिल कुरा हो । अल्पकालिनको लागि केही वस्तुको आयात रोक्नु ठिकै होला । तर, दीर्घकालको लागि यो समाधान होइन । उद्योगको लागि हामीले राम्रो गरेको क्षेत्र सिमेन्ट र डण्डी उद्योग हो । निर्यात बढाउने नीतिको विषयमा दलहरु राष्ट्रिय सहमति हुनुपर्छ । उद्योगको लागि कसरी सहज बनाउन नीति कसरी ल्याउने हो । बैदेशिक लगानी त हामीले ल्याउन सकेका छैनौं । ३ वर्षपछि समस्या आउने हिसाबले पनि अहिले नै काम गर्दा पनि सुधार हुनसक्छ । नियमहरु सुधार गरेमा ३ वर्षपछि नतिजा दिन नसकिने होइन । ३ वर्षमा नेपालश्रीलंका हुन्छ भनेर म भन्दिन । व्यापार घाटा बढ्ने रेमिटेन्सको ट्रायपमा पर्दा हामी संकटमा पर्ने हो । हामीले महंगा पर्यटक ल्याउन सकेका छैनौं । हाम्रोमा होटलको क्वालिटी बढेन । यो भनेको दीर्घकालिन संरचनात्मक समस्या हो ।

अर्थतन्त्रमा अहिले देखिएको समस्या समाधानको लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालको लागि गर्नुपर्ने काम के हो ?

अल्पकालको लागि हामीले संकट नै आउने स्थितिमा आइएमएफ तथा विश्व बैंकलाई गुहार्ने हो । त्यो धेरै खराब अवस्थाको कुरा हो । अहिले पनि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । हाम्रो रेमिटेन्स अनौपचारिक माध्यमबाट आएको छ । त्यसलाई हामीले औपचारिक माध्यमबाट पैसा ल्याउने माध्यम ल्याउने प्रक्रियालाई थप सहज बनाउनु पर्यो । फिलिपन्समा अनौपचारिक माध्यमबाट पैसा कम आउछ । औपचारिकरुपमा बाहिरबाट आउने पैसा कम आयो । हाम्रो विदेशी मुद्राको प्रमुख स्रोत रेमिटेन्स नै हो । त्यसलाई औपचारिक माध्यमबाट पठाउनेलाई दिने सुविधा बढाउने कुरा हो ।

मध्यकाल र दीर्घकालको लागि गर्ने भनेको निर्यात बढाउने काम नै हो । त्यसको लागि बैदेशिक लगानी भित्राउने हो । बैदेशिक लगानी भित्राउनको लागि ठूलो लगानी सम्मेलन गरेर काम छैन । लगानी सम्मेलनमा ताली बजाएर लगानी आउने होइन । अब हामीले विदेशी कम्पनीका सीइओ तथा बिजनेश हेडलाई समात्ने हो ।

चीनको कुनै प्रान्तको ‘प्रोभिन्स हेड’ले त्यो गर्न सक्छ भने हामीले किन सक्दैनौं । हाम्रो प्रदेशहरुले विदेशी लगानी भित्राउनेमा प्रतिस्पर्धा गर्नुपर्यो । व्यापारीलाई हेर्ने हो दृष्टिकोण परिवर्तन हुनुपर्यो । बिनोद चौधरीलाई मल्दोवाले हाम्रो देशमा लगानी भित्राउन भन्छ । हामीले बाहिरका लगानीकर्तालाई किन भित्राउन नसक्ने । अहिले पनि हाम्रो ज्यालाअन्य देशको भन्दा कम छ । ट्रेड युनियनले बिकृति ल्याए पनि नेपालमा अझै पनि ज्याला कम छ । हाम्रो औसत आम्दानी भारत तथा बंगलादेशको भन्दा कम छ । ज्यालाको मेजरमेन्ट गर्ने भनेको औसत आम्दानीबाट हो । नेपाल गरिब छ भनेर विदेशी लगानीकर्ता आउने होइन । पैसा कमाउन आउने हुन् । हामीले के सहुलियत दिने सोच्नु पर्छ । उदाहरणका लागि आइटीको कुनै ठूलो कम्पनीलाई ३ वर्षसम्मको विजुली निःशुल्क दिने भन्ने व्यवस्था गर्न किन नसक्ने । मधेश प्रदेशमा आउने उद्योगलाई ३ वर्षसम्म कर नलिने तथा विजुली निशुल्क दिन्छु भनेर किन भन्न नसक्ने ? यस्ता सुविधान दिने हो भने विदेशी लगानी नआउने हुँदैन । प्रदेशबीचको झगडा विदेशी लगानी ल्याउनको लागि हुनुपर्र्यो ।

विदेशी लगानी भित्राउनको लागि सरकारले जुनरुपमा सहुलियत दिनुपर्ने हो त्यो दिएको छैन ?

विदेशी लगानी भित्राउने कुरा हामीले माथिबाट गरेका छौं । सहुलियतको कुनै पनि कुरा भएन । कुरा मात्र भयो । कुरा गरेर मात्र लगानी आउने छैन । उदाहरणका लागि साइकलको पार्टस बनाउने उद्योग मधेश प्रदेशमा शुरु गरौं । कम्बोडियाले साइकलको पार्टस बनाएर भियतनामलाई बेच्छ । भियतनामले साइकल बनाएर विश्वलाई बेच्छ । सानो कुरामा शुरु गरौं । हामी रड बनाएका छौं वायरको तार बनाउन किन नसक्ने ? सानाभन्दा साना प्रोडक्टलाई हेरेर विदेशी लगानी भित्राउनेमा काम गर्नुपर्यो । यसपछि हाम्रो सबैभन्दा ठूलो समस्या म्यानपावरको दक्षतामा छ । विदेशी लगानी भित्राउन दक्ष कामदारको समेत आवश्यक्ता पर्छ । साइकलको पार्टस नै बनाउने उद्योगलाई सबै सुविधा दिए पनि काम गर्ने जनशक्ति नपाएमा आउने कुरा हुँदैन ।

हाम्रो विद्यालयको शिक्षामा निकै ठूलो लगानी गर्नुपर्छ । यसलाई दीर्घकालिन नीति बनाएर काम गर्नुपर्छ । जस्तो हामीले सामसङ कम्पनीलाई यहाँ भित्राउने क्रममा ३ महिनाको तालिम नेपाल सरकारले दिने, त्यसपछि ३ महिना कम्पनीले दिने सहमति गराउँदा र १० हजार कामदारले रोजगारी पाउने अवस्था सिर्जना हुन्छ ।

नेपालमा नै गोल्डस्टारले ३ हजार कर्मचारीलाई रोजगारी दिएको छ । गोल्डस्टारले पुरुषभन्दा महिलाले बढी काम गर्छन् । औद्योगिक नीति बनाएर विदेशी लगानी भित्राउनको लागि प्रोडक्ट हेरेर कुन प्रदेशमा के हुनसक्छ त्यसमा काम गर्नुपर्छ । लगानी भित्राउनको लागि अर्को समस्या हाम्रो प्रक्रियागत झन्झट हो । एउटा पत्र लिन विभागमा हरेक दिन जानुपर्ने अवस्था छ । एक घण्टामा कुनै व्यवसायीले विभागमा धाउनु पर्ने अवस्थालागत बढाउने कुरा हो । अहिले हरेक कागजमा सिग्नेचर गर्नुपर्ने अवस्था हटेको छ । प्रविधि सस्तो हुँदै गएको छ । यस्तै हो भन्सार नाकामा गर्ने चेकिङलाई बोरामात्र खोल्ने प्रणालीबाट माथि उठौं । प्रविधिको प्रयोग गरौं ।

हाम्रोमा पूर्वाधार खास गरेर सडकको अवस्था निकै खराब छ । दातृ निकायले पनि सडकमा टुक्रे आयोजनामा मात्र राम्रो बनाउने काम गरे । यसले लागत घटाउन मद्दत गरेन नि होइन ?

दातृ निकायले आर्थिक बेनिफिट नभएको आयोजनामा लगानी गर्दैनन् । कुनै बाटो वा पुल बनाउँदा हाम्रो आर्थिक अवस्थामा सुधार हुने र लागत घट्ने नै हो । वीरगञ्ज रक्सौलको बाटो बनेपछि समय घटेको छ । त्यो बाटो बनाएको एडीबीको सहयोगमा बनेको हो । हरेकका राम्रा र नराम्रा उदाहरण हुन्छन् ।

हामीले नराम्रा कुरा पनि उदाहरण र कथाको रुपमा सुनाउन सकिन्छ । बाटो राम्रो भएर ट्रक चलेपछि मात्र हामीले आर्थिक क्रियाकलाप बढेको भनेर बुझिन्छ । काठमाडौं उपत्यकामा बाबुराम भट्राईले बाटो बिस्तार गर्दा धेरैले आलोचना गरे । २ मिटरमात्र बाटो बिस्तार हुँदा गाडीको संख्या बढेको छ । त्यसले वातावरण प्रदुषण गराए पनि आर्थिक क्रियाकलाप बढेको हो भनेर बुझिन्छ ।

दातृ निकायका सहयोगमा बनेका सडक आयोजनाबाट आर्थिक फाइदा भएन भन्ने भन्न मिल्दैन । यसको लागि छुट्टै अध्ययन चाहिन्छ । पूर्वाधार निर्माण गर्न नेपालमा निकै कठिन छ । जग्गा प्राप्तीको कुरामा सुधार गर्न आवश्यक छ । बाटो बनाएर ट्राभल टाइम घटेन । त्यसमा अर्को बिकल्प के खोज्ने ? रेफ्रिजेनेटर ट्रकहरु तथा स्टोरेज गर्न सक्ने व्यवस्था सोच्नु पर्यो । दक्षिण अमेरिकी देशबाट अमेरिकामा केरा रेफ्रिजेटर भएका ट्रकमा आउने हो । हामीले त्यो लगानी गरेमा चितवनबाट काठमाडौंआउने केरा वा मुस्ताङबाट स्याउ ल्याउन सक्छौं ।

नेपालको विकास गर्न जुन तरिकाले राजनीतिक दलले सोचिरहेका छन् । त्यो सोचाई १८० डिग्रीले परिवर्तन नभएमा विकास हुँदैन भन्ने हो ?

अहिले राजनीतिक दलका नेताले सोचेको तरिकाले विकास पनि हुँदैन र लगानी बढ्दैन । अर्थमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेपछि राजस्वमात्र बढाएको आधारमा सफलतामापन गर्छ भने त्यसलाई सफल मान्न सकिँदैन । अर्थमन्त्रीको सफलता ५ लाख नयाँ रोजगारी सिर्जना भयो, १० हजार कम्पनी दर्ता भए भनेको भए अर्थमन्त्रीलाई सफल मान्न सकिन्छ । अर्थमन्त्रीले विदेशी लगानी आएको निर्यात बढेको कुरा गर्नुपर्ने हो । आयात बढेर राजस्व बढेको कुरा मात्र अर्थमन्त्रीलाई सफल मान्न मिल्दैन ।

वि. सं. २०२० मे अंकमा दि इकोनिमस्टले ‘गुड बाइ ग्लोबलाइजेशन’ भनेर कभर स्टोरी प्रकाशित गरेको थियो । कोभिडपछि अन्तर्राष्ट्रिय व्यापार घटेको छ । आत्मनिर्भर अर्थतन्त्रको धारणा विकसितभएको ग्लोबलाइजेशन र व्यापारलाई कस्तो प्रभाव पार्छ ?

ग्लोबलाइजेशन सकिने भन्ने कुरा बेलाबेलामा आइरहने कुरा हो । ग्लोबललाइजेशनले ल्याएका नकारात्मक प्रभावले आत्मनिर्भरको कुरा उठ्ने हो । अहिले रुस र युक्रेनको युद्दले गहुँको मूल्य बढेको छ । कोभिडले गर्दा ग्लोबल सप्लाई चेनमा असर गर्र्यो । ट्रेड भनेको कुरा पहिलेदेखि चल्दै आएको कुरा हो । कोभिड जस्ता प्रभावले हामीलाई सिक्ने एउटा अवसर हो । जसरी फोनमा अपडेट हुन्छ ग्लोबल सिस्टममा यसले सिकाउने काम गर्छ । पछिल्लो २ वर्षदेखि संसार ठप्प छ । ठूला कार्यालयहरुको काम घरबाट गर्ने कल्चर आयो । प्रविधिको विकास बढ्दै गएको हुँदा उद्योगहरुलाई गाह्रो हुँदै जान्छ ।

एउटा उद्योग लगाउने लागत बढ्दै गएको छ । अब उद्योगमा मान्छेको आवश्यक्ता घट्दै गएको छ । प्रविधिमा खर्च बढाउनुपर्ने छ । हामीले लेबल इन्सेटियभ उद्योगमा जानुपर्छ । ग्लोबलाइजेशनले सर्भिस सेक्टर महत्वपूर्ण हुँदै गएको छ । हेल्थ इन्स्योरेन्सको प्रोसेसिङ निकै ठूलो व्यवसाय हो । जुन नेपालमा ल्याउन सकिन्छ । भारतको कम्पनीको कलसेन्टर मधेश प्रदेशमा राख्न सकिन्छ । यसले अवसर सिर्जना गरेको छ । नेपालले एकान्टिङको काम युरोपको काम गर्न सक्छौं ।

शैक्षिक प्रणालीमा के के सुधार गर्नुपर्छ ?

१२ कक्षासम्म हामीले पढाइरहेको विज्ञा र गणित ठिक छ । १२ कक्षापछि ट्रेड फोकस ट्रेनिङ दिने शिक्षा लागू गर्नुपर्यो । प्रारम्भिक तहदेखि नै गुणस्तर शिक्षादिनु पर्ने हुन्छ । १२ कक्षापछि कुन क्षेत्रमा जनशक्तिको मागकता बढी छ ? त्यो अनुसारको जनशक्तिको उत्पादन भएको छैन । अहिलेको परम्परागत शैक्षिक प्रणालीले व्यवसायीक प्रतिष्ठानलाई चाहिने जनशक्ति आएको छैन । कृषिमा अहिले प्रविधिले मोबाइलबाट हेरेर कामलाई मनिटरिङ गर्ने प्रणालीको विकास भएको छ । कृषिमा प्रविधि बुझ्न सक्ने जनशक्ति उत्पादन भएको छैन । अहिले जुन विषयको पढाई हामीले पढाएका छौं यसले अहिलेको अवस्थामा चाहिने जनशक्ति उत्पादन हुने छैन । लेबर डिमाण्ड अनुसारको सप्लाइ गर्ने हो । गुणस्तरमा हाम्रो समस्या छ । अहिले ६० प्रतिशत खाडी र मलेसिया जानेहरु अदक्ष कामदार छन् । विदेशमा जान पर्ने भए दक्ष भएर जाँदा आम्दानी बढी हुने थियो ।

४ वर्षपछि नेपालको अर्थतन्त्र कस्तो अवस्थामा होला जस्तो लाग्छ ?

४ वर्षमा हाम्रो अर्थतन्त्र कस्तो हुन्छ भन्दा पनि हाम्रो निर्यात बढोस् भन्ने कामना गर्ने हो । मसँग सिल्भर बल छैन ठ्याक्कै यो हुन्छ भन्नको लागि । तर, नेपालको अर्थतन्त्रलाई यसरी बुझौं । एउटा जहाज समुन्द्रमा बगिरहेको छ । त्यो जहाजको क्याप्टेन आनन्दले बसेको छ । त्यो जहाज गन्तव्यमा आफ्नो गतिले पुग्नसक्छ । तर, हावाहुरी आयो भने जहाज डुब्छ । यस्तै अवस्था नेपालको अर्थतन्त्रको हो ।

हामी रेमिटेन्समा आधारित छौं । श्रमिकले झोला बोकेर विदेश गएको भनेको छोराछोरीको भविष्य राम्रो गराउनका लागि हो । भोलि राम्रो हुन्छ भनेर सोच्नुपर्ने हुन्छ । हामीले केही नगर्दा पनि भोलिको दिन राम्रो हुन्छ । नेपालीहरु विदेश गएका छन् । पैसा पठाएका छन् । पर्यटकको संख्या पनि बढ्छ । त्यो केही नगर्दा पनि हुने कुरा हो ।

यसबाहेक स्टार्टअपको एउटा राम्रो कल्चर विकास भएको छ । माथिका नीति निर्मातामा बस्नेहरुले केही बिगार नगरेमा तथा गार्हो नगरेमा पनि ग्रोथ हुन्छ । भविष्यको लागि राम्रो नीति बनाएमा प्रगति हुन्छ । जसरी समुन्द्रमा जहाज क्याप्टेनले केही नगरे पनि जहाज हिँडेको त्यस्तो गतिमा नेपालको अर्थतन्त्र हिँडेको छ ।


क्लिकमान्डु