घरजग्गामा देखिएन तरलता अभाव, ८ महिनामा ६८ अर्ब बढी कर्जा प्रवाह



काठमाडौं । कोरोना महामारीकै समयमा उच्च रुपमा कारोबार भएको घरजग्गाका कारण घरजग्गाको मूल्य छोइनसक्नु अवस्थामा पुगेको छ । तर, पनि घरजग्गा कारोबारमा भने कुनै असर देखिएको छैन ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकपश्चात तरलता अभाव देखिन थालेको थियो ।

गत कात्तिकबाट देखिन थालेको तरलता अभाव अहिलेसम्म सहज हुन सकेको छैन । वैशाखसम्ममा आइपुग्दा तरलता अभावको समस्या झनै चर्किएको अवस्था छ ।

तरलता अभाव हुँदासमेत घरजग्गा कारोबारमा कुनै असर नदेखिएकाले सरोकारवालाहरूले घरजग्गा कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरूले उच्चरुपमा घरजग्गा कारोबारमा लगानी गरेकाले सरोकारवालाहरूले उक्त क्षेत्रमा जाने कर्जामा कडाइ गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, कडाइ गर्नुपर्ने बताइएपनि लागू भने हुन सकेको छैन ।

तर, राष्ट्र बैंकले आगामी १ साउनदेखि भने व्यवसायिक रुपमा जग्गा खरिद तथा प्लटिङ गर्न लिइने ऋणमा कडाइ गर्ने नीति लिइसकेको छ । उक्त नीतिले आगामी दिनमा घरजग्गामा जाने कर्जामा कमी आउने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा नेपालभर ६ लाखभन्दा बढी घरजग्गा किनबेच भइसकेको छ । शुरुवाती चरणबाटै उच्च रुपमा कारोबार भएको घरजग्गामा तरलता अभावकै सयममा कर्जा प्रवाह बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँदछ ।

राष्ट्र बैंकले जारी गरेको ८ महिनाको आर्थिक तथा वित्तिय स्थितिमा तरलता अभावकै समयमा प्रवाह कर्जामध्ये ६७ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह भएको उल्लेख गरेको छ ।

अन्य क्षेत्रमा तरलता अभावका कारण कर्जामा संकुचन आएपनि घरजग्गा कारोबार र कर्जा प्रवाहमा भने असर देखिँदैन ।

८ महिनामा ६८ अर्ब घर कर्जा प्रवाह
बजारमा तरलता अभावकै समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट साउनदेखि फागुनसम्म ६८ अर्ब १० करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । उक्त कर्जा प्रवाह भएकोमध्ये डेढ करोडसम्म व्यक्तिगत आवासीय कर्जामा ३९ अर्ब ४ करोड ५१ लाख र रियलस्टेट कर्जा २९ अर्ब ६ करोड १६ लाख रुपैयाँ रहेको छ ।

गत वर्ष सोही अवधिमा डेढ करोड व्यक्तिगत आवासीय कर्जामा २१ अर्ब ३३ करोड २१ लाख रुपैयाँ प्रवाह भएको थियो । गत वर्षको तुलनामा यो वर्ष १३.१ प्रतिशतले कर्जा प्रवाह बढेको जनाएको छ ।साथै, गत वर्ष रियल स्टेट क्षेत्रमा ८ अर्ब ८६ करोड ५१

लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । जसमा यो वर्ष १५.८ प्रतिशतले बढी कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट डेढ करोडसम्मको व्यक्तिगत आवासीयतर्फ ३ खर्ब ३७ अर्ब ३० करोड ५७ लाख रुपैयाँ र रियल स्टेटतर्फ २ खर्ब १२ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह भएको जनाएको छ ।

व्यक्तिगत आवासीय र रियलस्टेट गरेर बैंक तथा वित्तिय संस्थाहरूले कुल ५ खर्ब ४९ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको तथ्याङ्कले उल्लेख गरेको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार रियलस्टेट कर्जा अन्तर्गतको २९ अर्बमध्ये ४ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ आवासीय रियल स्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासीयबाहेक) प्रवाह भएको छ ।

त्यसैगरी, व्यवसायिक कम्पलेक्स तथा आवासीय निर्माणमा ५ अर्ब ७० करोड ९५ लाख रुपैयाँ, व्यवसायिक कम्पलेक्समा १४ करोड ८५ लाख, अन्य रियलस्टेट (ल्यान्ड पर्चेज एन्ड प्लटिङसहित) मा १८ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु