इन्टरनेट सेवा प्रदायक सुबिसुको आम्दानी साढे ३ अर्ब, २१%ले बढ्यो



काठमाडौं । कोरोनाका कारण इन्टरनेटको प्रयोगकर्ता बढ्दै गएको छ । कोरोना महामारीका कारण अधिकांश मानिस घरमा बस्न बाध्य भएका थिए । जसले गर्दा घरबाटै काम, अनलाईन कक्षा लिनुपर्ने अवस्था सिर्जना भएको थियो ।

घरमै बसेर सम्पूर्ण कार्य तथा अध्ययन गर्नुपर्ने बाध्यता भएसँगै अधिकांशले इन्टरनेट प्रयोग गर्न शुरु गरेका थिए । जसले गर्दा कोरोनाले इन्टरनेटको प्रयोगकर्ता ह्वात्तै बढेको इन्टरनेट प्रदायक संस्थाहरूको भनाइ छ ।

नेपालमा ५३ भन्दा बढी इन्टरनेट प्रदायक संस्था छन् । यी अधिकांश इन्टरनेट संस्थाको आम्दानी कोरोनाले गर्दा ह्वात्तै बढेको जनाएको छ । कोरोनाले गर्दा प्रयोगकर्ता बढेकाले उक्त बढेको लाभ सुबिसु केबलनेटले पनि लिन पाएको छ ।

सुबिसु केबलनेटको कोरोनाकै समयमा आम्दानी बढेको जनाएको छ । कम्पनीका अनुसार सन् २०२१ मा २०२० को तुलनामा २१ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ९० करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

देशभर करिब २ करोड इन्टरनेट प्रयोगकर्ता छन् । बढ्दो प्रतिस्पर्धा बजारमा कम्पनीले इन्टरनेटको सुविधासँगै राम्रो आम्दानी गरेको छ । कम्पनीको आम्दानी सन् २०१८ देखि २०२१ सम्ममा १४ प्रतिशतले वृद्धि हुँदै गएको जनाएको छ ।

कम्पनीले सन् २०२१ को आम्दानी गरेकोमध्ये ५८ प्रतिशत सर्वसाधारबाट गरेको जनाएको छ । सन् २०२० मा आम्दानी गरेकोमध्ये सर्वसाधारणकोे ५३ प्रतिशत थियो । त्यस्तै, कम्पनीले कर्पोरेट क्षेत्रबाट २७ प्रतिशत र २८ प्रतिशत अन्य विभिन्न आयोजनाबाट आम्दानी गरेको छ । सन् २०२० मा कर्पोरेटबाट २७ प्रतिशत र विभिन्न आयोजनाबाट २० प्रतिशत आम्दानी गरेको थियो ।

सन् २०२१ मा सम्पूर्ण नेपालीहरू घरबाटै काम तथा अनलाइन पढाई गर्नुपर्ने बाध्यताले गर्दा इन्टरनेटको आम्दानी बढेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न देशबाट आवश्यक सामग्री आयात गरी सेवा प्रवाह गर्दै आएको छ ।

सन् १९९९ अगस्ट १६ बाट सेवा दिन शुरु गरेको सुबिसुको नेपालमा बजार हिस्सा १३ प्रतिशत रहेको जनाएको छ । कम्पनीको डिसेम्बर २०२१ सम्ममा २५ लाख प्रयोगकर्ता रहेको जनाएको छ । उक्त संख्यामा प्रयोगकर्ता भएको सुबिसु नेपालकै ठूलो इन्टरनेट प्रदायक संस्था भएको दाबी गरेको छ ।

कम्पनीको हालसम्ममा ७७ वटै जिल्लामा इन्टरनेट पुगिसकेको छ । जसमा काठमाडौंमा मात्रै १० वटा इन्टरनेट स्टेशन रहेको छ भने ३० वटा देशभर शाखा विस्तार गरेको छ । साथै, कम्पनीले अक्टोबर २०२१ सम्ममा देशभर इन्टरनेटसहित १९३ वटा सेवाको फ्रेन्चाइज पस्किसकेको छ ।

सुरेन्ट श्रेष्ठ अध्यक्ष रहेको सुबिसु कम्पनीसँग २० वर्षको इन्टरनेटसम्बन्धी अनुभव रहेको छ । ५ बोर्ड सदस्य रहेको कम्पनीको ४ जना इन्जिनियरिङ क्षेत्रको अनुभवी रहेका छन् ।

कम्पनीले दीर्घकालिन कर्जाका लागि रेटिङ नेपालले २ अर्ब १६ करोड ३४ लाख रुपैयाँ रेटिङ गराएको छ भने अल्पकालिन बैंकिङ कर्जाका लागि १ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ रेटिङ गरेको छ । जसमा कम्पनीले अल्पकालिन र दीर्घकालिन गरेर ३अर्ब ६२ करोड ८३ लाख रुपैयाँको बैंकिङ कर्जाको लागि रेटिङ गरेको केयर रेटिङ नेपालले जनाएको छ । केयर नेपालले दीर्घकालिनका लागि डबल बी प्लस र अल्पकालिनकालागि एफोर प्लस रेटिङ दिइएको छ ।


क्लिकमान्डु