बीमा पोलिसी त्याग्ने बढे, ३ महिनामा २ अर्बबढीका पोलिसी सरेण्डर



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गर्यो ।

बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै समितिले पोलिसी सरेण्डरमा नयाँ नियम लागू गर्यो ।

समितिले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेतिथी रोक्नका लागि भन्दै यस्तो व्यवस्था कायम गरेको थियो । समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो ।

समितिले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था छ ।

जीवन बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर रोक्ने समितिको प्रयास गर्दै आएको छ । जीवन तर, बीमा कम्पनीहरूमा बीमितले बीमालेख सरेण्डर गर्ने दर भने बढ्दै गएको तथ्यांकले देखाएको छ ।

बीमा समितिको पछिल्लो तथ्यांकअनुसार बीमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा पुगेको छ । देशभरमा सक्रिय जीवन बीमालेखको संख्या एक करोड नाघेको बीमा समितिको तथ्यांक छ ।

तर, जीवन बीमाको दायरामा आएको जनसंख्या बढी रहँदा बीमालेख सरेण्डर गर्ने बीमितको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।

आज पनि नेपालमा बीमा कसैले भनेको भरमा अथवा करकापमै गर्ने परिपाटी छ । नेपाली बीमा बजारमा बीमा योजनाका बारेमा बुझेर आफ्नो आवश्यकताअनुसार बीमालेख खरिद गर्ने अभ्यासको विकास हुन सकेको छैन ।

जसले गर्दा कतिपय बीमितले आफ्नो बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । र बीचमै सरेण्डरको बाटो रोज्ने गर्छन् ।

बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवश्था सृजना हुने विज्ञहरूको भनाइ छ ।

उनीहरूका अनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणहरूमा बीमितलाई आर्थिक संकट पर्नु, अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्नु पनि हो ।

अभिकर्ताले विभिन्न खाले प्रलोभन देखाएर बीमालेख बिक्रि गर्ने प्रवृत्तिले गर्दा पनि बीमितले आफ्नो बीमालाई नवीरकण गर्न नसक्ने उनीहरूको तर्क छ । आफ्नो बीमालाई नविकरण गर्न नसकेपछि बीमितले पोलिसी सरेण्डरको बाटो रोज्ने विज्ञहरूको भनाइ छ ।

तर, कानून अनुसार भने बीमितलाई आफ्नो बीमालेख समर्पण गर्न पाउने व्यवस्था छ । कानून अनुसार जीवन बीमालेख खरिद गरेका बीमितले बीमालेख प्रारम्भ भएको मितिले तीन वर्षसम्मको किस्ता तिरेपछि आफ्नो बीमालेख समर्पण गर्न सक्छन् ।

जसले गर्दा पनि पोलिसी सरेण्डरको दर बढी देखिने सरोकारवालाहरूको भनाइ छ । जानकारहरूका अनुसार पोलिसी सरेण्डर गर्ने व्यवस्था नेपालमा मात्र नभई विश्वका सबैजसो देशमा छ ।

बीमा समितिले उपलब्ध गराएको चालु आर्थिक वर्षको पुस, माघ र फागुनको तथ्यांकलाई हेर्दा जीवन बीमा कम्पनीहरूमा पोलिसी सरेण्डरको ग्राफ बढ्दै गएको देखिन्छ ।

तीन महिनाको अवधिमा १९ जीवन बीमा कम्पनीमा २ अर्ब १४ लाख २७ लाख ५० हजार रुपैयाँका पोलिसी सरेण्डर भएको बीमा समितिको तथ्यांक छ । सो अवधिमा १७ हजार ६४० वटा बीमालेख सरेण्डर भएका हुन् ।

पुस महिनामा १९ जीवन बीमा कम्पनीहरूमा ६६ करोड २५ लाख ३९ हजार रुपैयाँका ६ हजार ७५८ वटा बीमालेख सरेण्डर भएका थिए । माघ महिनामा ६१ करोड १७ लाख ५० हजार रुपैयाँका ४ हजार ९२५ वटा बीमालेख त्याग भएका थिए । भने फागुन महिनामा जीवन बीमा कम्पनीहरूमा ८६ करोड ८४ लाख ६१ हजार रुपैयाँका ५ हजार ९५७ वटा बीमालेख सरेण्डर भएको समितिको तथ्यांक छ ।

कुन महिनामा कति बीमालेख त्याग भए ?
चालु आवको पुस महिनामा जीवन बीमा कम्पनीहरूमा ६ हजार ७५८ वटा बीमालेख त्याग भएको समितिको तथ्यांक छ । सो अवधिमा ६६ करोड २५ लाख ३९ हजार रुपैयाँका पोलिसी त्याग भएका थिए ।

माघ महिनामा ६१ करोड १७ लाख ५० हजार रुपैयाँका ४ हजार ९२५ वटा बीमालेख त्याग भएका थिए । भने फागुन महिनामा जीवन बीमा कम्पनीहरूमा ८६ करोड ८४ लाख ६१ हजार रुपैयाँका ५ हजार ९५७ वटा बीमालेख सरेण्डर भएको समितिको तथ्यांक छ ।

नेपाल लाइफको मात्रै ३३.४२ प्रतिशत पोलिसी सरेण्डर
सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान रहेका छन् । कुल सरेण्डर पोलिसीको ३३.४२ प्रतिशत बीमालेख नेपाल लाइफको मात्रै सरेण्डर भएको बीमा समितिको तथ्यांक छ । माघसम्ममा कम्पनीको ९९ करोड १४ लाख ८० हजार रुपैयाँका ५ हजार ८९५ वटा बीमालेख सरेण्डर भएका हुन् । जुन कुल समर्पण मूल्यको ४६.२७ प्रतिशत हुन आउँछ ।

राष्ट्रिय बीमा संस्थानमा २५ करोड ४३ लाख २८ हजार रुपैयाँ बराबरका ४ हजार ८९१ वटा बीमालेख सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको २७.७३ प्रतिशत हो ।

यस्तै, बीमितहरुले एशियन लाइफबाट १ हजार ३७१ वटा, नेशनल लाइफबाट १ हजार ५८८ वटा, मेट लाइफको ८९१ वटा, एलआइसी नेपालबाट ८९४ वटा, प्राइम लाइफबाट ५४५ वटा, सूर्या लाइफबाट ३३६ वटा बीमालेख त्याग गरेका छन् ।

यस्तै, नयाँ जीवन बीमा कम्पनीमा रिलायबल लाइफका सबैभन्दा धेरै पोलिसी त्याग भएका छन् । तीन महिनामा रिलायबल लाइफबाट बीमितले १९० वटा बीमालेख त्याग गरेका छन् । यस अवधिमा कम्पनीमा ६२ लाख ८३ हजार रुपैयाँका पोलिसी सरेण्डर भएका हुन् ।

यस्तै, ज्योति लाइफ इन्स्योरेन्समा १ करोड ३४ लाख ८९ हजार रुपैयाँका ११० वटा, आईएमई लाइफका ४६ लाख ६९ हजार रुपैयाँका ६४ वटा, यूनियन लाइफमा ४ करोड ७० लाख रुपैयाँ बराबरका १५२ वटा, सन नेपाल लाइफमा ३६ लाख ९१ हजार रुपैयाँका ३७ वटा, रिलायन्स लाइफका ११ करोड ३७ लाख रुपैयाँ बराबरका ९२ वटा बीमालेख सरेण्डर भएको समितिको तथ्यांक छ ।

यस्तै, बीमा समितिको तथ्यांकअनुसार सिटिजन लाइफमा १ करोड ५ लाख रुपैयाँ बराबरका ८७ वटा, सानिमा लाइफका २ करोड ७८९ लाख रुपैयाँ बराबरका ६८ वटा र प्रभु लाइफका ४ करोड ४ लाख रुपैयाँ बराबरका ४८ वटा बीमालेख त्याग भएका छन् ।

सबैभन्दा कम पोलिसी सरेण्डर हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा महालक्ष्मी लाइफको ३७ लाख २२ हजार रुपैयाँका पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.०४ प्रतिशत मात्रै हो भने कुल सरेण्डर रकमको ०.१७ प्रतिशत मात्रै हो ।


क्लिकमान्डु