क्याप्टेनको हातबाट गुम्यो पाकिस्तानको सत्ता, राजनीतिक बदलावले अर्थतन्त्रमा कस्तो पार्ला प्रभाव ?



एजेन्सी । पाकिस्तानमा रातारात राजनीतिमा नयाँनयाँ परिवर्तन देखा परेको छ । प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । अब नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि बढेको छ ।

पाकिस्तानको राष्ट्रियसभामा अविश्वासको प्रस्ताव सफल भएपछि प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिरिएका छन् ।

शनिबार राति राष्ट्रियसभामा उनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको हो । जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

इमरान खानले आफूलाई सत्ताबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका छन् । उनले नयाँ सरकारलाई अस्वीकार गर्न आग्रह गरेका छन् ।

पाकिस्तानको इतिहासमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो पटक हो ।

यसपछि सोमबार पाकिस्तान एसेम्बलीको महत्वपूर्ण बैठक बस्दैछ जसमा नयाँ प्रधानमन्त्रीको चयन हुनेछ । नयाँ प्रधानमन्त्रीले आगामी निर्वाचनसम्म अर्थात् अक्टोबर २०२३ सम्म पदभार ग्रहण गर्नेछ ।

अविश्वास प्रस्तावपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तान संविधान र कानूनको पुनःस्थापना गर्न सफल भएको भएको बताए ।

पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले हामी कसैसँग बदला नलिने तर कानूनले आफ्नो बाटो लिने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले अप्रिल १० को ऐतिहासिक महत्व रहेको बताएका छन् ।

उनले सदनलाई १९७३ को संविधान पारित भएको दिनमा स्मरण समेत गराएका थिए उनले भने, ‘कानूनीरुपमा पाकिस्तान अगाडी बढेको छ । यो आफैमा स्वागतयोग्य छ ।’

अर्कोतर्फ पाकिस्तानका महान्यायाधिवक्ता खालिद जावेद खानले राजीनामा दिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष असद कैसरले मतदानअघि नै आफ्नो पदबाट राजीनामा दिएका थिए । असद कैसरपछि अब पीएमएल–एनका नेता अयाज सादिकले राष्ट्रियसभाको अधिवेशनको अध्यक्षता गरेका थिए ।

असद कैसरले वास्तविक धरातलीय यथार्थ र घटनाक्रमलाई हेरेर आफूले निर्णय गरेको बताए । उनले जुन कागजात आफूसँग रहेको तथा प्रतिपक्षी दलको नेतालाई आफ्नो कार्यालयमा राख्नसमेत अनुरोध गरेका थिए । उनले सो कागजात सर्वोच्चमा समेत पठाउने बताए ।

देशको सार्वभौमसत्ताको लागि उभिनु आवश्यक रहेको उल्लेख गरे। योसँगै पीएमएल-एनका नेता शाहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री हुने विश्वास गरिएको छ । शाहबाज सरिफ हाल पाकिस्तानको राष्ट्रियसभामा विपक्षी दलका नेता छन् ।

यस सम्बन्धमा सोमबार संसदको बैठक बोलाइएको छ । यही बैठकमा नयाँ प्रधानमन्त्रीको नाम अगाडि आउनेछ ।

राष्ट्रिय सभाका कार्यवाहक अध्यक्ष अयाज सादिकले भनेका छन् कि उम्मेदवारहरूले स्थानीय समयअनुसार आइतबार ११ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्छ ।

पाकिस्तान क्रिकेट टोलीका कप्तान रहेका इमरान खान सन् २०१८ मा देशको प्रधानमन्त्री बने र भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्र सुधार गर्ने वाचा गरेका थिए ।

तर, आर्थिक संकटले घेरिएको पाकिस्तानका लागि कठिनाइ बढेको छ । गत मार्चमा उनको पार्टीका धेरै नेताहरुले पार्टी छाडेका थिए, त्यसपछि उनको लागि नयाँ राजनीतिक संघर्ष सुरु भएको थियो ।

स्थानीय पत्रकार सिकन्दर किरमानी भन्छन् कि इमरान खानलाई पाकिस्तानी सेनाको समर्थन रहेको विश्वास गरिन्छ तर अब पर्यवेक्षकहरूले सेनासँग उनको दूरी बढेको बताएका छन् ।

इमरान खानले बारम्बार देशको विपक्षीले विदेशी शक्तिसँग मिलेर काम गरिरहेको आरोप लगाउँदै आएका छन् । रुस र चीनको मामिलामा आफूले अमेरिकासँग उभिन इन्कार गरेको उनको भनाइ छ, त्यसपछि अमेरिकाको नेतृत्वमा सत्ताबाट हटाउने षडयन्त्र रचिएको बताएका छन् ।

अमेरिकाले इमरान खानको आरोपमा कुनै सत्यता नभएको र उनले आफ्नो पक्षमा कुनै प्रमाण नदिएको बताएको छ । युक्रेन विरुद्धको युद्धपछि इमरान खान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका थिए ।
यस विषयमा मरियम नवाजले ट्वीट गरेकी छिन् । उनले लेखेका छन्, ‘नवाज शरीफ साहब, हरेक दबाबमा तपाईको धैर्यको जित भयो ।’

नयाँ सरकारका लागि तेलको मूल्य सबैभन्दा ठूलो चुनौती हुने फैसल सब्जवारी बताउँछन् ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य मोहसिन डावरले सन् २०१८ मा हामीमाथि थोपरेको यो हाइब्रिड सरकारले आजबाट मुक्ति पाएको बताएका थिए ।

बैसाखीको सहारा लिएर सत्तामा आउन खोज्ने सरकारको नियति यही भएको उनको भनाइ छ । उनले पछिल्लो तीन वर्ष मिडिया र राजनीतिक कार्यकर्ताका लागि सबैभन्दा खराब रहेको समेत बताए ।

उही समयमा पीटीआईका अली मोहम्मद खानले भने, “म खुसी छु कि म जसको साथमा उभिएको छु उसले सरकारको बलिदान दिएको छ, तर दासत्व स्वीकार गरेको छैन ।

आर्थिक संकटको डिलमा पुगेको पाकिस्तानलाई अबको राजनीतिक परिदृश्यले कहाँ पुर्याउँछ भन्ने कुराको विश्लेषण गरिहाल्नु भने हतार नै हुनेछ ।


क्लिकमान्डु